|

हेटौँडा : बागमती प्रदेश सरकारका मुख्यमन्त्रीसहित ७ जना मन्त्री प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। २०७४ मा भएको निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएर प्रदेश सरकारका मन्त्री बनेका उनीहरू पुनः निर्वाचित भएका हुन्।

गत मंसिर ४ गते भएको निर्वाचनमा बागमती प्रदेशका मुख्यमन्त्री, उपसभामुख तथा अन्य ६ जना मन्त्री पुनः अनुमोदित भएका छन्। १८ सदस्यीय बागमती प्रदेश सरकारका ८ मन्त्री मात्रै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए। तीमध्ये ७ जना निर्वाचित हुँदा एक मन्त्री भने पराजित हुन पुगेका छन्।

प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल पराजित भएका हुन्। प्रदेशसभा सदस्य पदका लागि चितवन क्षेत्र नम्बर २ (ख) मा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका उनी पराजित भए। उनलाई एमालेका कृष्णप्रसाद सिलवालले पराजित गरे। एमालेका सिलवालले १६,५०३ मत पाउँदा माओवादी केन्द्रका दाहालले १५,२४६ मत पाए।

प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे धादिङ क्षेत्र नम्बर–१ बाट विजयी भएका छन्। उनले त्यस क्षेत्रमा आफ्ना पुराना सहकर्मी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई हराउँदै चुनाव जितेका हुन्।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री पाण्डेले ३५,९३४ मतसहित जित हात पार्दा एमालेका त्रिपाठीले २७,९५३ मत पाएका थिए। एकीकृत समाजवादी चितवन जिल्ला इन्चार्ज समेत रहेका कृष्णप्रसाद शर्मा खनाल बागमती प्रदेश सरकारका प्रवक्ता एवम् बहालवाला आन्तरिक मामिला तथा कानुनमन्त्री हुन्।

कृष्णप्रसाद खनाल प्रदेश सांसद्का लागि चितवन क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवार रहेका थिए। उनले चुनावी प्रतिस्पर्धामा जित हात पार्दा एमालेका प्रकाश खनाल ‘शैलेश’ पराजित भए। खनालले १५,५३६ मत पाउँदा शैलेशले १४,८०२ मत पाए। काठमाडौं क्षेत्र नम्बर ७ (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार रहेका वसन्तप्रसाद मानन्धरले चुनाव जितेका छन्।

प्रदेशसभाको दोस्रो पटकका लागि चुनिएका मानन्धर प्रदेशका बहालवाला खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री हुन्। उनले एमालेका जीवन मानन्धरलाई हराएका हुन्। एकीकृत समाजवादीबाट उम्मेदवार रहेका मन्त्री वसन्तले ५,८६६ मतसहित चुनाव जित्दा एमालेका जीवनले ४,५५५ मत पाए।

संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ प्रदेशसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर–१ (क)बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। श्रेष्ठले ६,३०० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका नवीन शाहीले ३,५०४ मत पाएका थिए।

धादिङ क्षेत्र नम्बर १ (ख)बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य शालिकराम जम्मकट्टेल निर्वाचित भएका छन्। उनी प्रदेशका बहालवाला आर्थिक मामिला तथा योजनामन्त्री हुन्। १९,९०३ मतसहित उनले चुनाव जित्दा एमालेका गजेन्द्रप्रसाद थपलिया १२,४७८ मतसहित पछि परे।

प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान प्रदेशसभा सदस्य पदका लागि मकवानपुर क्षेत्र नम्बर २ (क)मा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी थिइन्। माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य मोक्तानले त्यस क्षेत्रबाट चुनाव जित्दा एमालेका विष्णुप्रसाद ढकाल पराजित भए। मोक्तानले १९,८७३ मत पाउँदा एमालेका ढकालले १९,५५१ मत पाए।

माओवादी केन्द्रका रत्न ढकालले प्रदेशसभा सदस्य पदका लागि काभ्रे क्षेत्र नम्बर १ (ख)बाट उम्मेदवारी दिएका थिए। प्रदेशका युवा तथा खेलकुदमन्त्री रहेका ढकालले चुनाव जितेका छन्। उनले २०,७२० मतसहित चुनाव जित्दा एमालेका दिलबहादुर तामाङ ११,२७८ सहित पराजित भए।

सभामुख पराजित, उपसभामुख निर्वाचित

बागमती प्रदेशसभाको पहिलो कार्यकालका सभामुख सानुकुमार श्रेष्ठ काठमाडौँ २ (क)बाट पराजित भएका छन्। उनलाई राप्रपाका सुनिल केसीले पराजित गरेका हुन्। केसीले ६,५९८ मत ल्याउँदा श्रेष्ठले ५,०७९ मत मात्रै प्राप्त गरे। उनले चुनावी अभियानमा आफू भावी मुख्यमन्त्री भएको दाबी गर्दै मत मागेका थिए।

प्रदेशसभाकी उपसभामुख बनेकी राधिका तामाङ भने पुनः प्रदेश सदस्यमा निर्वाचित भएकी छिन्। तामाङ नुवाकोट जिल्ला प्रतिनिधि सभा १ को (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन्। सत्ता गठबन्धनको समर्थनमा तामाङले नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) पार्टीबाट उम्मेदवारी दिएकी थिइन्। उनले १६,१६९ मत पाउँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुशीलकुमार खड्काले ११,३५० मत पाए। 

मुख्यमन्त्रीका दावेदार नै पराजित

बागमती प्रदेशका भावी मुख्यमन्त्रीको रूपमा आफ्नो दाबी गर्दै आएकाहरू प्रदेशसभा सदस्यमा पराजित भएक छन्। प्रदेश सरकारका आगामी मुख्यमन्त्रीमा दावी गरेका ६ जनामध्ये ३ जनामात्र प्रदेशसभा सदस्यमा विजयी भएका छन्। निर्वाचनअघि नै मुख्यमन्त्री पदमा आकांक्षा देखाएका नेकपा एमालेका ३, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र एक/एकजना गरी कुल ६ जनाले दाबी गरेका थिए। तीमध्ये ३ जनाले मात्र चुनाव जितेका छन्।

दाबी गरेकामध्ये एमालेका सबै आकांक्षी निर्वाचनमा पराजित भएका छन् भने कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका आकांक्षी निर्वाचित भएका छन्। मुख्यमन्त्री बन्ने योजनासहित चुनावी मैदानमा होमिएका बागमती प्रदेशका निवर्तमान सभामुख एवम् एमाले नेता सानु्कुमार श्रेष्ठसहित देवी ज्ञवाली र रामेश्वर फुयाल पराजित भएका हुन्।

एमालेबाट भावी मुख्यमन्त्रीको दावेदारका रूपमा रहेका श्रेष्ठ काठमाडौँ २ (क)बाट पराजित भए। उनलाई राप्रपाका सुनिल केसीले पराजित गरे। एमालेबाटै भावी मुख्यमन्त्रीमा दावी गर्दै आएका देवी ज्ञवाली चितवन २ (ख)बाट पराजित भएका छन्। उनलाई कांग्रेसका उम्मेदवार उत्तम जोशीले पराजित गरेका हुन्। जोशीले १३,३०६ मत पाउँदा ज्ञवालीले १२,७४४ मत पाए।

त्यस्तै एमालेबाटै प्रदेशका मुख्यमन्त्रीमा दावी गरेका प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री फुयालले काठमाडौँ ३ (ख)बाट निर्वाचन हारे। काठमाडौँ ३ (ख)मा कांग्रेसका विमल ठकुरीले चुनाव जित्दा उनी पराजित भए। ठकुरीले १०,६१७ मत ल्याउँदा फुयालले ८,२४७ मतमात्र पाए।

नेपाली कांग्रेसबाट प्रदेशका मुख्यमन्त्रीको पहिलो दाबेदार इन्द्रबहादुर बानियाँ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभा निर्वाचनमा होमिएका कांग्रेस बागमती प्रदेशका सभापति बानियाँ मकवानपुर २ (ख)बाट विजयी भएका छन्।

बानियाँले एमालेका लालबहादुर थापालाई पराजित गर्दै चुनाव जितेका हुन्। बानियाँले १,७८२ मतान्तरले चुनाव जितेका हुन्। बानियाँले १८,७१७ मत ल्याउँदा थापाले १६,९३५ मत पाए।

प्रदेशका मुख्यमन्त्रीका अर्का दाबेदारका माओवादी नेता शालिकराम जम्कट्टेल धादिङ १ (ख)बाट विजयी भएका छन्। उनले एमालेका गजेन्द्रप्रसाद थपलियालाई पराजित गर्दै चुनाव जितेका हुन्। जम्कट्टेलले ७,४२५ मतान्तरले चुनाव जितेका हुन्। जम्कट्टेलले १९,९०३ मत पाउँदा एमालेका थपलियाले १२,४७८ मत पाए।

यता एकीकृत समाजवादीबाट प्रदेशका मुख्यमन्त्रीका दावेदार कृष्णप्रसाद शर्मा खनालले चितवन १ (ख)बाट चुनाव जितेका छन्। उनी प्रदेशको बहालवाला आन्तरिक मामिलामन्त्री एवम् सरकारका प्रवक्ताको जिम्मेवारीमा समेत छन्।

एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलका उपनेताको जिम्मेवारी समेत निर्वाह गरिसकेका उनले चितवन १ (ख)मा एमालेका प्रकाश खनाल ‘शैलेश’लाई पराजित गर्दै चुनाव जितेका हुन्। कृष्ण खनालले १५,५०७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश खनाल ‘शैलेश’ले १४,७६८ मत ल्याएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.