|

सन् १९९८ मा क्रोएसियन फुटबल टिम पहिलो पटक विश्वकपमा सहभागी भयो। क्रोएसियाले छोटो समयमै फुटबलमा गरेको प्रगति देखेर संसार छक्क थियो। त्यो वर्ष क्रोएसिया विश्वकपमा सहभागी मात्र भएन समूह चरणमा तीनमध्ये दुई खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनायो।

रोमानियालाई १-० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्‍यो। क्वाटर फाइनलमा तीनपटकको विश्वविजेता जर्मनीलाई ३-० ले हराउँदै सेमिफाइनल प्रवेश गर्‍यो। सेमिफाइनलमा फ्रान्ससँग २-१ ले पराजित भएको क्रोएसियाले उपाधिको दावेदार मानिएको नेदरल्याण्ड्सलाई २-१ ले नै पराजित गर्दै प्रतियोगितामा तेस्रो हुन सफल भयो। 

१९९१ देखि ९५ सम्म भएको घरेलु युद्धको घाउ आलै रहेको क्रोएसियाका लागि त्यो विश्वकपले मलमको काम गर्‍यो। फुटबलकै कारण क्रोएसियाका जनताले वर्षौँपछि खुसीको सास फेरे। त्यही भीडमा थिए १३ वर्षीय बालक लुका मोड्रिच।

सन १९८५ सेप्टेम्बर ९ मा मोड्रिचको जन्म हुँदा अहिलेको क्रोएसिया विश्व नक्सामा आइसकेको थिएन। स्टिप मोड्रिच र राडोज्का डोपुडका पहिलो सन्तानका रूपमा जन्मेका मोड्रिचको शुरुवाती बाल्यकाल तत्कालीन युगोस्लाभियाको जाडार शहरको उत्तरी भेगमा रहेको एउटा गाउँमा बित्यो। त्यहाँ उनी आफ्ना हजुरबुवासँग बस्थे।

बाबुआमा दुवैले काम गर्ने भएकाले मोड्रिचको अधिकांश समय आफ्ना हजुरबुवासँगै बित्यो। जसकारण उनी हजुरबुवाकै हात समातेर हिँड्न सिके, हजुरबुवाकै बोली नक्कल गर्दै बोल्न सिके, उनलाई पहिलो कथा हजुरबुवाले नै सुनाए र पहिलो साथी पनि हजुरबुवा नै बने।

त्यतिवेलासम्म क्रोएसियामा युद्धको आगो बल्न शुरु भइसकेको थियो। आफ्ना हजुबुवासँग सामान्य गाउँले जीवन बिताइरहेका बालक मोड्रिच स्वतन्त्रता र त्यसकै लागि भइरहेको युद्धका बारेमा बेखबर थिए। बिस्तारै युद्ध उत्कर्षमा पुग्दै थियो उनको कलिलो कानले बम पड्केको आवाज सुन्न थाल्यो। परपरका घर जलेको धुवाँ आकाशमा देखिन थाल्यो। त्यसपछि आगोले उनकै घर समात्यो, हजुरबुवा मारिए। आफ्नो घर किन जलाइयो? हजुरबुवालाई किन मारियो? भन्ने प्रश्न बालक मोड्रिचले कसैलाई सोध्न सकेनन्। प्रश्नहरू थप्दै आफै उत्तर खोज्दै वर्षौँसम्म आमा बुवासँगै शरणार्थी क्याम्पमा बसे। 

युद्धको प्रभाव नपरोस् भनेर शरणार्थी क्याम्पमा रहेका बाबुआमाहरू आफ्ना छोराछोरी अरू कुरामा व्यस्त भइदिए हुन्थ्यो भन्ने चाहन्थे। मोड्रिचको फुटबलसँग पहिलो भेट पनि त्यही शरणार्थी क्याम्पमा भयो। उनी फुटबल खेल्न थालेपछि बाँकी कुरा बिर्सिन्थे। युद्धमा चल्ने गोली र बमका देखिने नदेखिने दुवै छिर्काले आफ्नो छोरालाई नभेटोस् भन्ने चाहेका उनका बाबुआमालाई पनि छोरो फुटबल खेलेको देख्दा आनन्द लाग्थ्यो। कहिलेकाहीँ निद्रामै पनि गोल भनेर कराउँदा, आसपास फुटबल नहुँदा चिडिँदा फेरि फुटबल पाएपछि सबैथोक पाए जसरी खुशी हुँदा उनीहरू आत्तिन्थे पनि। छाेराले ठूलो सपना देखोस्, त्यसलाई पछ्याओस् भन्ने त चाहन्थे फेरि देशको अवस्था सम्झिन्थे र अन्योलमा पर्थे। 

१९९२ मा मोड्रिचलाई प्राथमिक विद्यालयमा भर्ना गरियो। पैसाको अभाव भए पनि बाबुआमाले फुटबल सिकाउने निर्णय गरे र एकेडेमीमा भर्ना गरिदिए। कहिले गास काटे त कहिले सरसापट गरे। त्यसबापत मोड्रिचको अनुहारमा देखिने खुसीले उनको परिवारलाई एउटा ऊर्जा दिइराख्यो। फुटबलमा राम्रो गर्दै गएपछि उनले नियमित पैसा तिरिराख्नु त परेन तर खेलकुद सामग्री किन्नका लागि वेला वेलामा पैसा भने चाहिराख्थ्यो। खुट्टामा लगाउने सिन गार्ड किन्ने पैसा नहुँदा उनका बाबु आफैले काठको सिन गार्ड बनाइदिन्थे, एक जोर जुत्ताले वर्षौँ पुर्‍याउँथे, कहिलेकाहीँ खुट्टा ठूलो भइसक्दा पनि सानै जुत्ता लगाएर घाउ पनि हुने गर्थ्यो।

त्यसपछि उनका बाबुले क्रोएसियन आर्मीमा जागिर पाए। उनको परिवारको आर्थिक अवस्था बिस्तारै सुधारिँदै गयो। फुटबलमा राम्रो गर्दै गएका मोड्रिच एनके जाडार क्लबमा ट्रेनिङ गर्न जान थाले। त्यहाँका कोच र क्लब प्रमुख तोमिस्लभ बेसिक उनको खेल देखेर निकै आकर्षित भए। बेसिककै अभिभावकत्वमा मोड्रिच क्रोएसियाको १५ वर्षमुनिको फुटबल टिममा छनोट भए। जहाँबाट उनको फुटबल यात्राले एउटा मत्त्वपूर्ण मोड लियो। 

त्यसपछि बेसिकले मोड्रिचलाई क्रोएसियाको फर्स्ट लिग खेल्ने क्लब हजदुक स्प्लिटबाट खेलाउन पहल गरे तर उनको पातलो जीउका कारण क्लबका सदस्यले उनलाई विश्वास गरेनन्। १६ वर्षको हुँदा २००१ मा अर्को क्लब डाइनामो जाग्रिबको युवा टोलीमा उनी अनुबन्धित भए।

दुई वर्षको सम्झौता अवधि सकिएपछि २००३ मा बेसिकले नै उनलाई बोसनिया हर्ज गोभिनाको क्लब रिन्स्की मोस्तारमा जाने व्यवस्था मिलाइदिए। त्यही उनले आफ्नो शैलीलाई निखार्न पाए। पहिलोपटक विदेशी क्बलमा अनुबन्धित भएर खेलेका उनले त्यो वर्ष प्लेअर अफ द इअरको अवार्ड पनि पाए। 

त्यसपछि भने उनलाई कामको कहिल्यै कमी भएन। क्रोएसियाको फर्स्ट लिग खेल्ने इन्टर जाप्रासिकमा एक सिजनका लागि अनुबन्धित भए। उक्त सिजनमा लुकाको टिम दोस्रो स्थानमा रहँदै युएफा कपको लागि छनोट भयो। २००४ मै उनले क्रोएसियन फुटबल होप अफ दि इअरको उपाधि पाए। त्यसपछि आफ्नो पहिलो क्लब डाइनामो जाग्रिबको मुख्य टोलीमा १० वर्षको सम्झौता गरे। जहाँबाट उनले राम्रो पारिश्रमिक पनि पाए र परिवारको लागि जाडारमा एउटा फ्ल्याट किने। 

घरेलु फुटबलमा स्टार भइसकेका मोड्रिचले क्राेएसियाकाे १७ वर्ष मुनि, १८, १९, २१ वर्ष मुनिको टोलीबाट अन्तरराष्ट्रिय खेल खेलिसकेका थिए। त्यसपछि २००६ मार्च १ मा अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेलबाट क्रोएसियाको मुख्य टोलीबाट उनले डेब्यु गरे र त्यही वर्ष इटालीसँगको मैत्रीपूर्ण खेलमा आफ्नो पहिलो अन्तरराष्ट्रिय गोल गरे। २००६ मै निको कोभाकको कप्तानीमा मोड्रिचले आफ्नो पहिलो विश्वकप खेले। जहाँबाट क्रोएसिया समूह चरणबाटै बाहिरिनु परेको थियो। 

त्यसपछि मोड्रिच क्रोएसियाको राष्ट्रिय टोलीमा मिडफिल्डरको भूमिकामा नियमित स्थान पाउन थाले। उनका प्रशंसकको संख्या बढ्दै गयो। नामअनुसारको जिम्मेवारी पनि वहन गर्दै गए। त्यही कालमा क्रोएसियाले इङल्याण्डलाई आफ्नो र उसको होमग्राउण्डमा दुईपटक हराउन सफल भयो। 

२००८ को युरोकपबाट मोड्रिचले अन्तरराष्ट्रिय फुटबलमा आफ्नो पहिचान बनाए। अष्ट्रियासँगको म्याचमा निर्णायक १ गोल र त्यसपछि उपाधिको दावेदार जर्मनीलाई क्रोएसियाले हराउँदा उनी प्लेअर अफ द म्याच पनि बने। क्वाटरफाइनलमा टर्कीसँग पराजित भए पनि लुका प्रतियोगिताको उत्कृष्ट ११ खेलाडीमा पर्न सफल भए। मोड्रिच युरोकपको उत्कृष्ट ११ पर्ने क्रोएसिया फुटबलको इतिहासमा दोस्रो खेलाडी थिए।

२०१० को विश्वकपमा क्रोएसिया छनोट हुन सकेन। २०१४ मा छनोट भए पनि समूह चरणबाट बाहिरिन पुग्यो। मार्च ३‚ २०१५ मा पहिलो पटक क्रोएसियन टोलीको कप्तानी सम्हालेका मोड्रिचले २०१८ मा डार्जियो सार्नाले अवकाश लिएपछि विश्वकपमा आफ्नो टोलीको कप्तानी सम्हाल्ने अवसर पाए।

२०१८ विश्वकपको समूह चरणका खेलमा नाइजेरियालाई २-०, अर्जेन्टिनालाई ३-० र आइसल्याण्डलाई २-१ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउँदै क्वाटर फाइनल प्रवेश गर्‍यो। रूसलाई ४-३ ले पेनाल्टी सुटआउटमा हराउँदै २० वर्षपछि सेमिफाइनल प्रवेश गर्‍यो। दोस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको क्रोएसियाले इङल्याण्डलाई २-१ ले पराजित गर्दै पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गर्‍यो।

फाइनलमा फ्रान्ससँग ४-२ ले पराजित भएर उपाधि चुम्नबाट चुके पनि क्रोएसियाका लागि त्यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता थियो। जसलाई क्रोएसियाका जनताले उत्सवको रूपमा मनाए।

विश्वकप २०१८ मा मोड्रिच तीनपटक म्यान अफ द म्याच भए। प्रतियोगितामा सबैभन्दा बढी दौडिएका खेलाडी र बढी गोल एसिस्ट गर्ने खेलाडीमा तेस्रो नम्बरमा रहेका उनले गोल्डेन बल तथा प्लेयर अफ द टुर्नामेन्ट र क्रोएसिया फुटबल टिमले टिम अफ द टुर्नामेन्टको अवार्ड पायो। 

२००८ को युरोकपमा क्रोएसियाका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका लुका, २०२१ को युरोकपमा गोल गर्दै क्रोएसियाका लागि गोल गर्ने सबैभन्दा जेठा खेलाडी (३५ वर्ष २८६ दिन) पनि बने। १५० भन्दा बढी खेल खेल्दै क्रोएसियाका लागि सबैभन्दा धेरै अन्तरराष्ट्रिय खेल खेल्ने खेलाडी बनेका मोड्रिच क्रोएसियन फुटबल टिमका सबैभन्दा सफल कप्तान पनि हुन्। 

जुन १३, २०२२ मा युएफा नेसन्स लिग ए मा फ्रान्सलाई पहिलोपटक हराउँदै क्रोएसियाले विश्वकप फाइनलको बदला पनि लियो। १-० ले जितेको उक्त खेलमा मोड्रिचले नै निर्णायक गोल गरेका थिए।  

विश्वकप शुरु हुनुभन्दा अगाडि माेड्रिचले याे विश्वकपपछि अन्तरराष्ट्रिय फुटबलबाट संन्यास लिने घाेषणा गरिसकेका छन्। चर्चित खेलाडीभन्दा पहिले आफूलाई युद्ध भाेगेर आएकाे सामान्य मानिस मान्ने माेड्रिचले आफ्नाे कमाइकाे केही अ‌ंश युद्धपीडित बालबालिकाका लागि पनि खर्च गर्दै आएका छन्। शरणार्थी भएर बस्नुपरेकाे ७ वर्ष आफू र आफ्नाे परिवारकाा लागि सबैभन्दा गाह्राे समय रहेकाे साथै आफू अहिलेकाे अवस्थामा हुनुकाे कारण पनि युद्ध नै रहेकाे उनी बताउँछन्।

फुटबलका पारखीहरू उनलाई खेलाडी मात्र नभनेर फुटबल मैदानको कलाकार भन्न रुचाउँछन्। मिडफिल्डका जादुगर भनेर पनि चिनिने मोड्रिच आफ्नो युगका सबैभन्दा उत्कृष्ट मिडफिल्डर मध्येमा गनिन्छन्। उनले अन्तरराष्ट्रिय खेलबाट संन्यास लिए पनि क्लबबाट भने अझै केही वर्ष खेल्ने संकेत दिएका छन्। उनी २०१२ देखि स्पेनिस क्लब रियल माद्रिदबाट खेलिरहेका छन्। 

बाल्यकालमा जाेमिनिर बाेबान र फ्रान्सेस्काे टाेटीबाट प्रभावित माेड्रिच अहिले विश्वका लाखाैँ नवखेलाडीका लागि प्रेरणा बनेका छन्। युद्धले घर जलाएपछि शरणार्थी क्याम्प हुँदै विश्वकपकाे फाइनलसम्म पुगेका माेड्रिच फुटबललाई आफ्नाे सबैभन्दा नजिककाे साथी मान्छन्। विश्व फुटबलले उनलाई सम्झिरहनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.