‘सांसदको काम विधेकमा छलफल गर्ने हो, बाटो बनाउने होइन’

|

काठमाडौं :  प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। चुनाव जितेका अधिकांश विजय जुलुसमा रमाइरहेका छन्। केही नयाँ सरकारमा भाग मिलाउने दौडधुपमा लागेका छन्। यही वेला केही सांसद भने जनताका आधारभूत आवश्यकता पूर्ति गर्न लागि परेका छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नै चितवन–१ मा चुनाव जितेका हरि ढकाल, मकवानपुर–२ मा एमालेका सांसद महेश बतौला र जुम्लामा विजयी भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही लगायत सपथ पनि नलिँदै सक्रिय भएका हुन्।

कोही खानेपानी त कोही बाटो र कोही रासायनिक मलको समस्या अन्त्य गर्ने भन्दै सक्रिय देखिएका छन्। लामिछानेले चितवनवासीलाई खानेपानी खुवाँउछु भन्दै झाडी फाँड्न थालेको दृश्य सामाजिक सञ्जालमा भाइरल छ। पाइप लाइनको तस्विर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘हो, विधायकको काम नीतिनिर्माणमा नै ध्यान दिने हो तर काम गर्न/गराउन फिल्डमा खट्नु पनि पर्छ।  हामी भुइँमान्छे हौँ, भुइँ छोड्ने त कुरै आउँदैन। हामी आगो नलागोस् भन्ने कामना मात्र गर्दैनौँ। आगो लागिहाले निभाउन पनि पुग्छौँ। नीतिहरू कागजमा मृत भएर बस्नु हुन्न, नागरिकले महशुस गर्नेगरी लागू पनि हुनुपर्छ। त्यसैले हामी संसद् र सडक दुवैतिर हुन्छौँ।’

किसानले मल नपाउनुको कारण खोज्दै उनी साल्ट ट्रेडिङ कर्पाेरेसनको कार्यालय नारायणगढ शाखा पनि पुगे। के कारणले किसानले समयमा मल पाउन नसकेको भन्ने विषय खोजी गरे।  कर्मचारीले मल कम भएकाले  वितरण गर्न नसको जवाफ दिए। लामिछानेले जनताको आवश्यकता अनुसार काम गर्न नसक्ने हो भने राजीनामा दिनुपर्ने, काम गर्न नसक्नेले टुलुटुलु हेरेर बस्न नहुने तर्क गरे।

यता मकवानपुर–२ का सांसद बर्तौलाले पनि मंसिर १२ मा साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममै गएर मल निरीक्षण गरे। उनले मकवानपुर जिल्लाका दश वटा स्थानीय तहका लागि वितरणका लागि ल्याइएको मल गोदाममै थन्किएको फेला पारे। उनले तत्काल किसानलाई मल वितरण गर्न निर्देशन दिए। 

त्यसैगरी चितवन–१ का सांसद ढकालले लामो समयदेखि अलपत्र पारेर छाडेको पुल तत्काल निर्माण गर्न ठेकेदारलाई निर्देशन दिए। उनले यति मात्र गरेनन्, मतदातासामु फोनमा ठेकेदारलाई थर्काए, ‘तपाईँको कुनै कुरा सुन्नु छैन, असार मसान्तभित्र पुल निर्माण गरेर हस्तान्तरण गर्नुहुनेछ, बस म यति सुन्छु।’

जुम्लाबाट निर्वाचित राप्रपाका प्रवक्ता शाहीले जनताका समस्या बुझ्न घरदैलो गरिरहेका छन्। उनले गाउँमा रहेर स्थानीयसँग त्यहाँको समस्या बुझिरहेका छन्।स्थानीयले खानेपानी,सडक सञ्जाल, बिजुली, रासायनिक मलसँग सम्बन्धित समस्या सुनाएका छन्। स्थानीय तहमा कोल्डस्टोरको माग पनि गरेका छन्।  जनताका समस्या समाधानका लाग आफैँ श्रमदान गर्न पनि पछि नपर्ने शाही बताउँछन्। 

सांसदको काम कानुन विधेयकमा छलफल गर्ने हो,बाटो र पुल हेर्ने होइन

सपथ पनि नलिँदै केही सा‌ंसदले देखाएको सक्रियताको प्रसंशा भइरहेको छ। तर यो क्रम कतिञ्जेलसम्म चल्ला भन्नेमा पनि मतदाता चिन्तित छन्। तर विश्लेषक भने सांसदले गरेको काम सस्तो लोकप्रियता कमाउने मेलो मात्र भएको बताउँछन्। राजनीतिक विश्लेषक हरि रोका नवनिर्वाचित सांसदले आफ्नो सीमा बुझ्न नसकेको तर्क गर्छन्। ‘संघीय सांसदको काम नीति, नियम, कानुन तथा विधेयकमा छलफल गर्ने हो’, उनी भन्छन्, ‘कहाँ बाटो बिग्रियो , कहाँ पानी आएन हेर्ने होइन।’

उनका अनुसार स्थानीय स्तरका यी समस्या प्रदेश सरकारको समन्वयमा स्थानीय सरकारले समाधान गर्ने हो। संघीय सांसद यस्ता काममा अल्झिएर बस्ने होइन। ‘यसरी काम गर्दा केही समय मतदातासमक्ष लोकप्रिय बन्न त सकिएला। तर दीर्घकालमा त्यसको प्रतिफल राम्रो हुँदैन।’ यो सस्तो लोकप्रियता कमाउने मेलो मात्रै भएको उनी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.