|

जुम्ला : नेपाल सरकारले विपन्नको उपचारमा सहज पहुँच होस् भनी स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ। ६२ हजार व्यक्तिले स्वास्थ्य बिमा गरे पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मनोमानीले बिमितले सास्ती पाएका छन्।

स्वास्थ्य बिमा बोर्ड जुम्लाका अनुसार जुम्लाका ६२ हजार व्यक्तिले स्वास्थ्य बिमा गरेका छन्। यसबाट प्रतिष्ठानको आयस्रोत बढे पनि प्रतिष्ठानले बिमितलाई सहज उपचार भने दिन सकेको उनीहरूको गुनासो छ।

चन्दननाथ नगरपालिका–५ की राइदेवी कार्की मधुमेह लगायतका समस्याकी दीर्घरोगी हुन्। उनी उपचारका लागि ४ महिनाअघि प्रतिष्ठानको नाम दर्ता गर्ने ठाउँमा पुगिन्। उनको स्वास्थ्य बिमा कार्ड थियो। नाम दर्ता गर्ने कर्मचारीले बिमा कार्ड मागेर भित्र राखेर रातो पुर्जा दिई उपचारका लागि पठाए।

उनी उपचार गरेर घर फर्किन्। उनको बिमा कार्ड प्रतिष्ठानमै रह्यो। कार्की अर्कोपटक उपचारार्थ जाँदा प्रतिष्ठानका कर्मचारीले कार्ड हराइसकेको बताए। उनलाई उल्टै स्वास्थ्य बिमा बोर्डमा जान र ५० रुपैयाँ तिरेर नयाँ कार्ड बनाएर आउन भने। कार्की प्रतिनिधि पात्र मात्रै हुन्।

११ महिनाको अवधिमा कार्की जस्तै १,२५० जना जुम्लाका बासिन्दाले नयाँ कार्ड बनाएका छन्। यो तथ्याङ्क गत पुसबाट हालसम्म गरी ११ महिनाको भएको स्वास्थ्यबिमा बोर्ड जुम्लाका संयोजक कमल रावतले बताए। उनका अनुसार उनीहरूबाट ६२ हजार रुपैयाँ जम्मा भएको छ।

बिमाको कार्ड हराएका व्यक्ति उपचारका लागि आउँदा पुनः ५० रुपैयाँ तिर्नुपर्छ। स्वास्थ्यबिमा बोर्डमा तीनजना कर्मचारी छन्। ५० रुपैयाँ दस्तुर र निवेदन लिई नयाँ कार्ड बनाउन एकजना कर्मचारी खटिने गरेका छन्।

प्रतिष्ठान किन राख्छ बिमा कार्ड ?

स्वास्थ्य बिमा गरेका नागरिक उपचारका लागि प्रतिष्ठानमा जाँदा बिमा कार्ड राखेर उपचारका लागि रातो पुर्जा दिने गरेको छ। यो नियम सरकारले बनाएको भने होइन। प्रतिष्ठानले आफ्नो सजिलोका लागि बिरामीको कार्ड राख्ने र बिरामी माग्न जाँदा ३ बजेपछि आउनु भन्ने जवाफ दिने गरेको छ।

उपचार सकिएपछि टाढाका विरामी बिमा कार्ड लिन ३ बजेसम्म कुर्नुपर्ने अवस्था छ। यसबाट विरामीलाई अनावश्यक तनाव दिने काम भएको छ। प्रतिष्ठानले बिमितप्रति गरेको गलत काम हो।

त्यतिमात्रै होइन, प्रतिष्ठानमा एउटाको बिमा कार्डले बिमा नगरेका व्यक्तिले पनि उपचार गराएको अनुगमनका क्रममा भेटिएको संयोजक रावतले बताए। उनले भने, ‘यो प्रतिष्ठानको लापर्वाही हो। प्रतिष्ठानले विरामीले ल्याएको बिमा कार्ड सही हो या होइन भनेर जाँच गर्नुपर्ने हो। त्यसो गरेको पाइँदैन।’

११ महिनाको अवधिमा १‚२५० जना बिमा कार्ड हराएको भन्दै आएका छन्। उनीहरूबाटै ६२ हजार नगद उठेको छ। रावत भन्छन्, ‘यो राम्रो होइन। बिमा गरेका व्यक्ति उपचार गर्न आउँदा कार्ड स्क्यान गरेर बिरामीलाई राख्न दिएर उपचारमा पठाउनुपर्ने हो तर प्रतिष्ठानले कार्ड राखेर रातो पुर्जा दिँदा यहाँका बासिन्दा फेरि अर्को कार्ड बनाउन बाध्य छन्।’

बिमितले सरकारले तोकेअनुसारको औषधि नपाएको पनि गुनासो गरेका छन्। सिटीस्क्यान गर्दा नागरिकले बिमाबाट उपचार पाउनुपर्ने भन्ने छ तर प्रतिष्ठानका कर्मचारीले छुट्टै पैसा लिने गरेको गुनासो छ। स्वास्थ्य बिमा बोर्डका संयोजक प्रशासन लगायतले प्रतिष्ठानमा अनुगमन गरे पनि व्यवस्थित हुन सकेको छैन।  

तातोपानी–२ की रामदेवी बुढाले पनि स्वास्थ्य बिमा बोर्डलाई हराएको कार्ड बनाइदिन भन्दै निवेदन दिएकी छन्। उनको कार्ड पनि प्रतिष्ठाननमै रहेको हो। प्रतिष्ठानका बिल काउण्टर र नाम लेख्ने ठाउँमा स्वास्थ्य बिमाका कार्ड जम्मा गरिन्छ। बिरामी जाँदा कार्ड नभेटिएपछि फेरि नयाँ कार्ड बनाउन बाध्य छन्। आफ्नो आयस्रोत बढाउन प्रतिष्ठानले बिमा कार्ड फिर्ता नदिने गरेको बिमितहरूको आरोप छ।

त्यस्तै यो विषयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराई भन्छन्, ‘अरू जिल्लामा बिमा कार्ड राखेर रातो पुर्जा दिइन्न। जुम्लामा इन्टरनेटको समस्याले बिमा कार्ड राख्ने गरिएको छ। कार्ड स्क्यान गरेर उपचारका प्रक्रियामा जाँदा ढिला हुने भएकाले कार्ड राख्ने गरिएको हो।’ बिरामीलाई पुर्जा दिएर उपचार गराउने अनि कार्ड बिस्तारै स्क्यान गर्ने गरेको उनले बताए।

स्वास्थ्य बिमाका लागि प्रतिपरिवार वार्षिक ३,५०० रुपैयाँ बुझाउनुपर्छ। बिमितका परिवारले प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको उपचार पाउने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.