कलेज बन्द गर्न माग

|

काठमाडौं : भक्तपुरको सूर्यविनायक–१ घतालेस्थित सुवाल इन्टरनेशनल कलेजले सम्बन्धन नलिई चलाएको शैक्षिक कार्यक्रम बन्द गरिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृतिबिना अध्ययनसम्बन्धी कुनै कार्यक्रम चलाउन नदिने जनाएको हो।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘सुवाल कलेजले अनुमति लिएको कार्यक्रम चल्छ। नलिएको चलाउन पाउँदैन, बन्द हुन्छ। स्थानीय प्रशासनले गर्ने कारबाही हो, बन्द गर्न आदेश दिन्छ।’ 

उक्त कलेजको वेबसाइटमा एनइबी,डिप्लोमा तहमा इन्जिनियरिङ, स्वास्थ्य, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, स्नातक तहमा बीबीएस, कानुन, माष्टर्स कार्यक्रममा बिजिनेस, एमसिए, टुरिजम लगायत विषय छन्। इन्जिनियरिङ प्रोग्राम छ। मेडिकलतर्फ बीडीएस, एमबीबीएस, नर्सिङ साइन्स, फार्मेसी, पब्लिक हेल्थ लगायत विषय पढाइ हुने कलेजको दाबी छ।

शिक्षा मन्त्रालयका प्रवक्ता शर्माका अनुसार चिकित्सा विषयका लागि चिकित्सा शिक्षा आयोगले अनुमति दिन्छ। ‘स्वीकृति लिँदा आफ्नै प्रक्रिया हुन्छ, चिकित्सा विषयको नर्सिङ चलाउने भए आयोगले सिट तोकेर अनुमति लिएर चलाउने हो। अहिलेसम्म बी एन्ड सी कलेजले अहिलेसम्म चलाउन पाएको छैन’‚ उनले भने।

चिकित्सा शिक्षा आयोगका सूचना अधिकारी अनुपमचन्द्र श्रेष्ठले सुवास कलेजले कुनै कार्यक्रमको स्वीकृति नलिएको र लिन पनि नपाइने बताए। ‘मैले केही समयअघि त्यहाँको विज्ञापन पढ्दा मेडिकल लाइन र ननमेडिकल पढाइ हुने रहेछ’‚ उनले भने।

उनका अनुसार नेपालमा ननमेडिकल लाइनको हकमा शिक्षा मन्त्रालयको अनुमति लिएर विदेशी युनिभर्सिटीको सम्बन्धनमा यहाँ पढाएका छन् तर सुवाल कलेजले ठगी गर्ने मनसायले विद्यार्थी भर्ना गरेको उनले बताए।

‘मेडिकल विषयको हकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ आयो, यो ऐन जारी भइसकेपछि स्नातकभन्दा माथिका पढाइ आयोगले लिएको कमन इन्ट्रान्स पास गरेको व्यक्ति मात्रै पढ्न पाउँछन्, यो ऐन जारी भएको मितिले १० वर्षसम्म उपत्यकाभित्र कुनै पनि मेडिकल कलेज सम्बन्धन दिने, स्थापना गर्ने काम हुँदैन। त्यसैले सुवाल कलेजमा मेडिकल कलेज भन्नु सपनाकाे कुरा मात्र हो’‚ उनले भने।

उनले अहिले विश्वविद्यालय र आयोगले सम्बन्धन दिन नपाइने बताए। उनले भने, ‘चिकित्सा शिक्षा ऐन आइसकेपछि अहिलेको काठमाडौं युनिभर्सिटी र त्रिभुवन युनिभर्सिटीले अब थप मेडिकल कलेजलाई सम्बन्धन दिन सक्दैन, कोटा पुग्यो। नयाँ आउने युनिभर्सिटीले मात्रै केही गर्न सक्छ।’

त्यहाँ अध्ययनरत विद्यार्थीका अभिभावकहरूका अनुसार मेडिकल विषयका पढाइ गत कात्तिक महिनाबाट कक्षा सञ्चालन भएको हो। कलेजले नर्सिङ, फार्मेसी र एचएमा २ सयभन्दा बढी विद्यार्थी भर्ना गरेर प्रतिविद्यार्थी ७५ हजारका दरले शुल्क उठाएको छ। इन्जिनियरिङलगायत अरू विषयमा पनि विद्यार्थी भर्नाका लागि कलेजले यसअघि सार्वजनिक सूचना निकालेको छ।

कलेजमा ताला, कलेज बन्द गर्न माग

उक्त कलेजमा यतिखेर ताला लागेको छ। मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सम्बन्धनबिनै कलेज सञ्चालन गरेर विद्यार्थीलाई ठगी गरेको भन्दै कलेजमा ताला लगाएको छ। 

‘सुवाल कलेज नामको नक्कली संस्था खडा गरी शिक्षा मन्त्रालय, विश्वविद्यालय, सिटीईभीटी लगायत स्वदेशी र विदेशी कुनै पनि निकायबाट सम्बन्धन नलिई नर्सिङ, सामान्य चिकित्सा,फार्मेसी, इन्जिनियरिङ लगायत विभिन्न प्राविधिक र गैरप्राविधिक शैक्षिक कार्यक्रममा भर्ना गरी अध्यापन गराइरहेको पाइको छ’‚ युनियन क्रान्तिकारीको विज्ञप्तिमा भनिएको छ।

‘यो प्रकारको हदैसम्मको शैक्षिक अपराधको छानबिन गरी पीडित विद्यार्थीबाट असुलिएको शुल्क फिर्ता र ठगी गर्ने सुवाल कलेज बन्द गरी सञ्चालकलाई कारबाही गर्न जोडदार माग गर्दछौँ’‚ विज्ञप्तिमा उल्लेख छ।

सञ्चालकलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान हुँदै

विद्यार्थीहरूले उक्त कलेजका सञ्चालकविरुद्ध प्रहरीवृत्त जगातीमा उजुरी दिएपछि प्रहरीले मंगलबार नै कलेज सञ्चालक प्रकास सुवाललाई पक्राउ गरिसकेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले अहिले भक्तपुरको प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए।

पक्राउ परेका कलेज सञ्चालक सुवाल

‘ठगी अन्तर्गत मुद्दामा अनुसन्धान हुँदै छ, ठगी भएको देखियो भने ठगी ऐन अनुसार कारबाही हुन्छ’‚ उनले भने। मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२१ को दफा २४९ को (१) मा कसैले ठगी गर्न वा गराउन नहुने व्यवस्था छ। ठगी गर्ने व्यक्तिलाई  सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ।

के हुन्छ शुल्क ?

कलेजले विद्यार्थीहरूबाट भर्ना गरेर शुल्क लिइसकेको छ। शिक्षा मन्त्रालयका प्रवक्ता शर्माले ठगी गरेको भए स्थानीय प्रशासनले कारबाही गर्ने र विद्यार्थीहरूको शुल्क कलेजले स्वतः फिर्ता गर्नुपर्ने बताउँछन्।

मन्त्रालयका सहप्रवक्ता धनबहादुर श्रेष्ठ पनि गैरकानुनी रूपमा शिक्षण संस्था खोलेर सञ्चालन गर्न नपाइने बताउँदै त्यस्ता गर्नेलाई कारबाही हुने बताए। उनले भने, ‘त्यसरी कलेज खोलेर सञ्चालन गर्न  पाइँदैन। यस्तो पाए कडा कारबाही हुन्छ। कारबाहीको भागीदार बन्नुपर्छ।’ उक्त कलेजबारे मन्त्रालयबाट पनि थप अनुसन्धान हुने उनकाे भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.