|

कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी रहेको छ। बिहीवार बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्य भएपछि धनगढी तनावग्रस्त बनेको थियो।

सोही कारण बिहीवार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। छात्राको मृत्युपछि धनगढीमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीहरूले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गरेका थिए भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

उनीहरूले सडकमा टायर जलाउँदै प्रदर्शन समेत गरेका छन्। आन्दोलनका क्रममा प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएपछि स्थिति झनै उग्र बनेको छ। उग्र बनेका आन्दोलनकारीको आक्रमणबाट २ प्रहरी घाइते भएका छन्। प्रहरीले बालिकाको शव उठाइसकेको छ भने मृतक बालिकाका आफन्त केही बेरअघि मात्रै धनगढी पुगेका छन्।

आज बिहान धनगढी उपमहानगरपालिका–५ तारानगरकी चेतना साउदको हसनपुर पीपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साउदको शव सेती प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।

निषेधाज्ञाको समयमा ५ जनाभन्दा बढी भेला हुन, आवतजावत गर्न,  भेला,  प्रदर्शन,  घुमफिर गर्न, सवारीसाधन चलाउन नपाइने भएको छ।

पूर्वमा धनगढी उपमहानगरपालिका-१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी उपमहानगर-४ रातोपुल, उत्तरमा धनगढी उपमहानगर–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन दक्षिणमा धनगढी उपमहानगर-१ र २ स्थित हुलाकी राजमार्गको चारकिल्लाभित्र निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.