|

बारा : हत्या आरोपमा बारामा नाबालक पक्राउ परेका छन्। बाराको कोल्हवी नपा–११ को रामपुर्वा टोलका ४३ वर्षीय परीक्षण चौधरीको हत्या गरेको आरोपमा नाबालक पक्राउ परेका हुन्। हत्यापछि चौधरीको शव गाडिएको अवस्थामा भेटिएको थियो।

हात खुट्टाका औंला जमिन माथि निस्किएको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इनार बनाउनका लागि खनिएको खाडलमा गाडिएको चौधरीको शव बुधवार बिहान ९ बजे प्रहरीले निकालेका थिए। शव पोष्ट मार्टम गरेर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

घटनास्थल नजिक भेटिएको चप्पललाई आधार मानेर अनुसन्धान गर्दा हत्यामा नाबालकको संलग्नता पाइएको बाराका प्रहरी उपरीक्षक होवेन्द्र बोगटी जानकारी दिए। 
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका बालक र मृतक परीक्षण चौधरी घटनाको अघिल्लो दिन मंगलबार राति गाउँमा मेला हेर्न गएका थिए।

मेलामा सँगै मदिरा सेवन गरेर घर फर्कने क्रममा चौधरीले आफूमाथि अप्राकृतिक मैथुन गर्न खोजेको बालकले प्रहरीलाई बताएका छन्। बालकले आफुमाथि भएको गलत क्रियाकलापको प्रतिकारमा दाउराले हान्दा चौधरीको मृत्यु भएको स्विकारेको प्रहरीले जनाएको छ।

पक्राउ परेका बालकलाई ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.