|

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा मगर समुदायको नेतृत्वमा निर्माण गर्ने भनिएको सङ्ग्रहालयको निर्माण शुरु भएको छ। जमिन सम्याउने काम पूरा भएपछि बुधवार कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले भवनको शिलान्यास गरेका हुन्।

२०७४ सालदेखि मगर जातिका र उपलब्ध भएसम्म सबै जातजातिका विशेषता बोकेका सामग्री राखी सङ्ग्रहालय निर्माण गर्ने भनिए पनि बजेट अभावमा रोकिएको थियो।

सङ्ग्रहालय बनाउन पुन क्लबले दुई पटकसम्म मगर महोत्सव आयोजना गर्‍यो भने योपटकको तिहारमा देउसीभैलो खेलेर बचेको रकमबाट भवन निर्माण शुरु गरिएको हो। मगर जातिको कला,  कौशल,  प्रवर्द्धन लगायत कुरामा नेतृत्वदायी भूमिका खेल्दै आएको पुन क्लबले आफूसँग भएको बजेटबाट भवन निर्माण शुरु गरेको क्लबका अध्यक्ष कृष्ण पुनले बताए।

‘शुरुमा सुन्दा मगरहरूको सङ्ग्रहालय होला। मगर जातिका कुरा मात्रै त्यहाँ रहन्छन् भन्ने लाग्न सक्छ तर त्यो होइन। हामीले नेतृत्व गरेका हौँ। पर्वतमा रहेका सबै जातजातिका भाषा, वेषभूषा,  उनीहरूले प्रयोग गर्ने सामग्री, दैनिकी झल्किने चित्र लगायतका वस्तु हुनेछन्,’ उनले भने, ‘हामीसँग अहिले महोत्सवबाट बचत भएको र गत तिहारमा देउसीभैलो खेलेको गरी २५ लाख रुपैयाँ छ। काम शुरु गरेपछि सहयोग बिस्तारै आउँदै जाला भन्ने आशामा सुरु गरेका हौँ।’

दुईतले भवन निर्माणका लागि करिब डेढ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको र अहिलेसम्म कुनै पनि सरकारी निकायबाट रकम नलिएको पुनको भनाइ छ। भवन निर्माणका लागि क्लबले सङ्कलन गरेको रकमबाट २०७२ सालमा २९ लाखमा भूमि खरिद गरिएको थियो।

कुश्मा नगरपालिकाका प्रमुख जोशीले मगर समुदायको नेतृत्वमा सङ्ग्रहालय बन्ने भए पनि सबै जातजातिका पुरातात्त्विक महत्त्व बोकेका तथा विशेष सामग्री रहने भएकाले जिल्लामा बन्न लागेको पहिलो सङ्ग्रहालय सबैको साझा हुने बताए। त्यसको निर्माणका लागि नगरपालिकाबाट कुनै आर्थिक सहयोग कबोल नगरिए पनि नगरपालिकाको तर्फबाट गर्न मिल्ने सहयोग गरिने पनि उनले आश्वासन दिए।

‘पुरानो र अहिलेको पुस्ताले प्रयोग गरेका चिज भोलिका लागि गहना हुन्छन्। जिल्लामा बन्ने यो सङ्ग्रहालय सबै जातजातिका लागि महत्त्वपूर्ण हुनेछ,’ उनले भने, ‘त्यसमा पनि देउसीभैलो खेलेर पवित्र मन राखेर निर्माण गर्न लागेको सङ्ग्रहालयका लागि कहाँबाट कसले के सहयोग गर्न सकिन्छ‚ त्यो सबैले गर्नुपर्छ।’

क्लबसँग भएको रकमबाट मात्रै निर्माण प्रारम्भ गरिएकाले बजेट अभाव हुन सक्ने र त्यसले यही मितिमा निर्माणको काम पूरा हुन्छ भन्ने यकिन नभएको भवन निर्माण समितिका संयोजक गुमबहादुर पुनले बताए। रकम अभाव हुन नदिन सरकारी निकायमा पहल गर्नेदेखि आफूहरूले फेरि पनि देउसी भैलो तथा मगर महोत्सवलाई निरन्तरता दिने उनको कथन छ।

पुन क्लबले आफ्नो लगानीमा २०७० सालमा १२ लाख रुपैयाँमा एम्बुलेन्स पनि किनेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.