|

काठमाडौं :  उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ।  शुक्रवार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण गर्दा आज परीक्षण गरेका अधिकांश सवारीसाधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको हो।

आज विभागले गरेको ५४ वटा सवारीसाधनको प्रदूषण परीक्षणमा ३८ वटा वारीसाधन फेल भएको पाइएको छ भने १६ वटा सवारीसाधन मात्रै पास भएको पाएको विभागले जनाएको छ। वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्रदूषण परीक्षणमा फेल हुनेहरूलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएको बताए।

उनले प्रदूषण फेल हुनेहरूले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनः परीक्षण गराइ पास भएपछि मात्रै कागजपत्रहरू फिर्ता लैजान पाउने बताए।

उनले परीक्षण पास गर्न पठाएका सवारीहरू अर्को पटक पनि परीक्षण गर्दा फेल भएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्मको कारबाही गर्ने चेतावनी दिए। महानिर्देशक घिमिरेले आगामी दिनमा सवारीसाधनहरू प्रदूषण फेल भएर चलाएको पाएमा विभाग कारबाही गर्नेकुरामा पछि नहट्ने बताए।

उनले विगतमा हालै मात्र प्रदूषण परीक्षण गराएको हो भनेर चालकहरू पन्छिने गरेको भन्दै यसपटक लापरबाही नगर्न आग्रह गरे।

सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि चेकजाँच गरिरहेको छ। यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारीसाधनले ६÷६ महिनामा सावारीको प्राविधिक जाँच गराउनुपर्छ।

यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य सर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ। जसको अर्थ अबदेखि प्रत्येक ठूला तथा भाडाका सवारीले ६÷६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्छ। त्यस्तै साना तथा मझौला साधनले १ वर्षमा एक पटक त्यस्तो जाँच गराउनुपर्छ। जसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ।

परीक्षण पास नहुन्जेलको लागि रुट इजाजत निलम्बन हुने, सवारीमा रहेका यात्रुहरूलाई अन्तिम बिन्दुसम्म पुर्‍याएपछि सवारी गुडाउन नपाउने, आवश्यक मर्मतसम्भार पश्चात पुनः प्रदूषण चेक जाँचको लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.