|

धनगढीः धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म ३८ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको बताए।

उनले अहिलेसम्म  ३८ सेल अश्रुग्याँस प्रहार गरेको र आन्दोलनमा संलग्न विद्यार्थी र स्थानीय महिला गरी २१ जनालाई पक्राउ गरेको बताए।

निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरवितर भएका छन्। बिहीबार ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउँदको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरेको थियो। तर,  निषेधाज्ञाकै बीच न्यायको माग गर्दै स्थानीय तथा विद्यार्थीहरु बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

उनीहरुले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। बिहीबार बिहान धनगढी उपमहानगरपालिका ५ स्थित पिपलचौतारा नजिकै कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको विरोधमा बालिका अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीले बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए भने आन्दोलनकारीले घटनास्थलबाट शव उठाउन दिएका थिएनन्।

स्थानीय प्रशासनले बिहीबार साँझ घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गर्दै शव उठाएको थियो तर स्थानीयले भने उनको शव लैजाने क्रममा समेत नाराबाजीसहित प्रदर्शन गरेका थिए। स्थिति सामान्य नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।

उनले पीडित पक्षलाई छलफलका लागि बोलाइएको र छलफल जारी रहेको पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.