|

काठमाडौं : प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका नेता शेरधन राईले पहिलो र दोस्रो शक्ति अर्थात् कांग्रेस-एमाले मिलेर सरकार गठन गर्नुपर्ने बताएका छन्। 

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि  नेता राईले पहिलो र दोस्रो शक्तिका रूपमा उदाएका कांग्रेस–एमाले मिलेर सरकार निर्माण गर्नुपर्ने बताएका हुन्। 

ओलीको भेटपछि उनले आफ्नो सामाजिक संजालमा लेखेका छन्, ‘सँगसँगै जनादेशले स्पष्ट संकेत गर्दै भनेको छ कि- निर्वाचन परिणामबाट पाठ सिक, स्थायी राजनीतिक शक्तिहरु मिलेर अगाडि बढ। देशलाई राजनीतिक स्थायित्व देऊ, सुशासन कायम गर, विकास र समृद्विको अभियानलाई तिव्रता दिन बलियो र स्थिर सरकार बनाऊ। सरकार बनाउने र भत्काउने फोहोरी खेल बन्द गर,’ उनले भनेका छन्, ‘यो जनादेशलाई आत्मसात गर्दै पहिलो र दोस्रो शक्ति र हैसियतमा जनअनुमोदित नेकपा (एमाले) र नेपाली कांग्रेसले तत्काल संवाद किन नथाल्ने? देश र जनताको हित र स्वार्थलाई केन्द्र भागमा राखेर सहकार्य र प्रतिस्पर्धी किन नगर्ने? कि नेपाली कांग्रेस अस्थिर शक्ति र समूहहरुकै  वैशाखी टेकेर देश भाँडमै जावस भन्ने चाहन्छ? देश र जनताको हितार्थ बहस, छलफल र संवाद थाल्न बिलम्ब नगरौँ।’

राईले जतिसुकै महागठबन्धन बनाएर नेकपा (एमाले) लाई सिध्याउन खोजिएको भए तापनि त्यो अब असम्भव रहेको तथ्य स्थापित भएको उल्लेख गर्दै अब गठबन्धनको औचित्यसमेत समाप्त भएको दाबी गरेका छन्। 

‘निर्वाचन परिणामले फेरि पनि देशको लोकप्रिय एवं बलियो र सग्लो एक मात्र पार्टीको रूपमा नेकपा (एमाले) जनअनुमोदित भएको छ। जतिसुकै महागठबन्धन बनाएर नेकपा (एमाले) लाई सिध्याउन खोजिएको भए तापनि त्यो अब असम्भव रहेको तथ्य स्थापित भएको छ र अब गठबन्धनको औचित्य समेत समाप्त भएको छ,’ उनले लेखेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.