|

काठमाडौं : सन् १९१७ मा चीनसँग पहिलो अन्तरराष्ट्रिय खेल खेलेको जापान फुटबल टिम यतिवेला फिफा वरीयतामा २४ औँ नम्बरमा छ। सातौँपटक विश्वकपमा सहभागी भएको जापानले बिहीवार रातिको खेलमा उपाधिको दाबेदार स्पेनलाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ। समूह चरणको पहिलो खेलमा चारपटकको विश्वविजेता जर्मनीलाई हराउँदै जापानले विश्वकपको विजयी शुरुवात गरेको थियो। 

स्पेन, जर्मनी र कोस्टारिकासँगै समूह ‘ई’मा रहेको एशियाली टोली जापान विश्वकप शुरु हुनुभन्दा अगाडि अर्को चरणमा प्रवेश हुने सम्भावना निकै कम रहेको बताइएको थियो। स्पेन र जर्मनीलाई समूहका सबैभन्दा बलिया टोली मानिएकोमा जापानले विश्वकप जितिसकेका दुवै टोलीलाई पराजित गर्दै चौथोपटक विश्वकपको नकआउट चरणमा पुग्न सफल भएको हो। यसअघि २००२, २०१० र २०१८ को विश्वकपमा जापान नकआउट चरणसम्म पुग्न सफल भएको थियो। 

१९९८ मा पहिलोपटक विश्वकप खेलेको जापान समूह चरणका तीन खेलमा अर्जेन्टिनासँग १-०, क्रोएसियासँग १-० र जमैकासँग २-१ ले पराजित हुँदै प्रतियोगितामा ३१ औँ स्थानमा आएको थियो। त्यसपछि २००२ को विश्वकपमा आयोजक समेत रहेको जापानले पहिलो पटक समूह चरण पार गरेको थियो। 

पहिलो खेलमा बेल्जियमसँग २-२ को बराबरी खेलेको जापानले दोस्रो र तेस्रो खेलमा रूस र ट्युनिसियालाई क्रमशः १-० र २-० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको थियो। क्वाटर फाइनल प्रवेशका लागि टर्कीसँग खेलेको जापान १-० ले पराजित हुन पुगेको थियो। 

त्यस्तै २००६ को विश्वकपमा क्रोएसियासँग ०-० को बराबरी खेलेको जापान अष्ट्रेलियासँग ३-१ र ब्राजिलसँग ४-१ पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो। त्यसपछिको २०१० विश्वकपमा क्यामरुन र डेनमार्कसँगको खेलमा क्रमशः १-० र ३-१ गोल अन्तरको जित निकालेको जापान नेदरल्याण्ड्ससँग १-० ले पराजित भए पनि अन्तिम १६ मा पुग्न सफल भएको थियो। प्रि क्वाटर फाइनलमा पारग्वेसँग टाईब्रेकरमा ३-५ ले पराजित हुँदा उक्त वर्ष पनि जापान क्वाटर फाइनल प्रवेश गर्नबाट वञ्चित भएको थियो। 

२०१४ को विश्वकपमा आइभेरीकोस्टसँग २-१ र कोलम्बियासँग ४-१ ले पराजित जापान समूह चरणबाटै बाहिरिएको थियो। त्यसपछि २०१८ मा समूह चरणको पहिलो खेलमा कोलम्बियासँगै २-१ को जित निकाल्दै विश्वकपको सुखद शुरुवात गरेको जापान सेनेगलसँग २-२ को बराबरी र पोल्याण्डसँग १-० ले पराजित भए पनि अन्तिम १८ मा आफ्नो स्थान बनाएको थियो। तेस्रोपटक अन्तिम १६ मा प्रवेश गरेको जापानलाई ३-२ गोल अन्तरले हराउँदै बेल्जियम क्वाटर फाइनल प्रवेश गरेको थियो। 

योपटक राउण्ड अफ १६ मा जापानले क्रोएसियाको सामना गर्दै छ। समूह ‘एफ’को उपविजेता बन्दै राउण्ड अफ १६ मा प्रवेश गरेको क्रोएसिया र जापानको यसअघि तीनपटक भेट भइसकेको छ। १९९७ मा आयोजित किरिन-जापान कपमा जापानले क्रोएसियालाई ४-३ गोल अन्तरले हराएको थियो भने १९९८ को विश्वकपमा १-० ले पराजित भएको थियो। पछिल्लो पटक २००६ विश्वकपको समूह चरणमा भेटिएका जापान र क्रोएसियाले गोलरहित बराबरी खेलेका थिए।

क्रोएसिया अघिल्लो विश्वकपको उपविजेता पनि हो तर जर्मनी र स्पेन जस्ता उपाधिका दावेदार टोलीलाई हराउँदै समूह विजेताको रूपमा राउण्ड अफ १६ प्रवेश गरेको जापान पहिलाेपटक विश्वकपकाे क्वाटर फाइनल प्रवेश गर्ने लक्ष्य सहित क्रोएसियाविरुद्ध उच्च मनोबलका साथ सहित खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.