|

पर्वत : आरम्भ गरेको ७ वर्षपछि निर्माणको काम सकिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल अब ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन पर्खिएर बसेको छ।

गत मंसिर ५ गते साँझ ४ बजेबाट शुरु भएको ‘क्यालिब्रेसन फ्लाइट’को काम मंसिर ११ गते सकिएपछि अब प्रतिवेदनको पर्खाइमा बसिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताए।

‘थाई एयर’को विमानले ‘क्यालिब्रेसन फ्लाइट’ गरेर उडानमा विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’ सम्बन्धी परीक्षण, भौगोलिक अवस्था लगायतका बारेमा जानकारी सङ्कलन गरिएको छ।

आगामी अंग्रेजी नयाँ वर्षसँगै व्यावसायिक उडान भर्ने गरी तयारी भइरहेको अवस्थामा ‘क्यालिब्रेसन’ उडान शुरु गर्न ‘एयरोनटिकल रेडियो अफ थाइल्यान्ड लिमिटेड’ को ‘एरोथाइ एचएटिएस’ ले पहिलोपटक पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेर यान्त्रिक परीक्षणको काम पूरा गरेको हो।

‘नेपालमै पहिलो पटक पोखरा अन्तरराष्ट्रिय विमानस्थल आयोलेस इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम अनुसार भएको छ।

‘आयोलेस इस्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’को परीक्षण पूरा गरेका छौँ। यो भनेको ग्राउन्ड बेस सिस्टम हो। सबै सिग्नल पाइरहेको छ कि छैन, लाइटले काम गरेको छ कि छैन र जमिन थर्किएको छ कि छैन भन्ने लगायतका प्राविधिक जाँच भएका छन्’, आयोजना प्रमुख मुनकर्मी भन्छन्, ‘क्यालिब्रेसन उडान’ सकिएपछि त्यसबारे जानकारी दिने र प्रारम्भिक प्रतिवेदन बुझाउने काम हुनेछ। प्रारम्भिक प्रतिवेदन आए पनि अन्तिम प्रतिवेदनका लागि समय लाग्नेछ। जसका लागि ‘डाटा एनलाइसिस’ गर्नुपर्ने छ।’

उनका अनुसार प्रतिवेदन आउन कम्तीमा पनि ८-१० दिन लाग्न सक्नेछ तर यो अवधिमा अन्य ससाना भौतिक तथा केही कागजी प्रक्रियाका काम लगातार हुनेछन्।

जसले प्रतिवेदन आउनासाथ अन्य कामहरू अगाडि बढाउन सजिलो हुनेछ। कोरोना महामारीका कारण एक वर्ष ढिलाइ गरी निर्माणको काम भए पनि पछि थप भएको समयमा तोकिएअनुसारकै काम भएको उनको भनाइ छ।

विमानस्थल सञ्चालनमा आएसँगै टाइप बोइङ ३७३ सिरिजको जहाज समेत पोखरामा अवतरण गर्न सक्ने मुनकर्मी बताउँछन्।

विमानस्थलको चुनौतीका रूपमा रहेका रिठ्ठेपानी डाँडा र ‘ल्याण्डफिल्ड साइट’ मध्ये रिठ्ठेपानी डाँडा कटानको काम सकेपछि परीक्षण उडान गर्न सकिएको हो। डाँडा कटानको काम सकिए पनि पोखराको ‘ल्याण्डफिल्ड साइट’ ले उडानलाई चुनौती दिएको छ।

ऐतिहासिक रूपमा पहिलोपटक जहाज अवतरण भए पनि ‘ल्यान्डफिल साइड’ समस्याको रूपमा रहेको बताएका छन्। डाँडा कटान सकेर विमानस्थललाई उडानको लागि तयारी अवस्थामा राखेको भए पनि ‘ल्याण्डफिल्ड साइट’ मा रहेको फोहोरका कारण उड्ने चराचुरुङ्गीले समस्या भइरहेको उनको भनाइ छ।

तत्कालका लागि अस्थायी रूपमा फोहोर व्यवस्थापन गरेर भए पनि विमानस्थललाई सहज बनाउने योजनामा पोखरा महानगरपालिका रहेको महानगरप्रमुख धनराज आचार्य बताउँछन्। फोहोर व्यवस्थापनका लागि केही स्थानको अध्ययन भइरहेको र ती ठाउँको बारेमा छिटै निधो हुने तथा अहिले रहेको ‘ल्याण्डफिल्ड साइट’ माटोले पुर्न थालिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.