'नेकपाको एकता जोगाउन नसक्दा क्षति भयो'

|

काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका छन्।

सत्तारुढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिहरुलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने उनको भनाइ थियो। लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा आफूलाई बधाई दिन प्रेस चौंतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने बताए।

मुलुकमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, मुलुकको स्वाधिनतामाथि धाँवा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्ने उनको तर्क थियो। उनले संघ र सातवटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दाबीसमेत गरे। तर, त्यसका लागि पार्टीले दिनरात खटेर पहलकदमी लिनुपर्ने आवश्यक्ता उनले औंल्याए।

उपमहासचिव गुरुङले भने, ‘म फेरि पनि भन्छु–नेकपा एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नुपर्छ। अहिले जोडतोडले दुष्प्रचार भइराखेको छ, कुप्रचार भएको छ कि अब शेरबहादुर नै प्रधानमन्त्री भनिराख्या छ। प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो। तर हामीले सकारात्मक सोच भएका शक्तिहरुबीच सरकार बनाउनुपर्छ। हाम्रो सक्रियता सुरु हुनुपर्छ। हाम्रो सुझबुझ, दूरदर्शिता त्यही प्रकट हुनुपर्छ। हाम्रो योग्यता, क्षमता त्यही प्रकट हुनुपर्छ। त्यो पहलकदमी गरेर सार्थक निष्कर्षमा पुर्‍याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

उपमहासचिव गुरुङले एमाले नेतृत्वको सरकार बनाउने कामलाई सार्थक निष्कर्षमा पुर्‍याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

उनले नेकपाको एकतालाई जोगाउन नसकिएकै कारण आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको समेत दोहोर्‍याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.