|
प्रतीकात्मक तस्विर

काठमाडौं : अब गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको जनाएको हो।

गोरखापत्र दैनिकमा समाचार छ, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारो भएको हो।

सरकारले तीन वर्षअघि नै गाउँपालिकामा उपसचिवस्तरको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने तयारी गरे पनि कर्मचारी र राजनीतिक नेतृत्वबीच सहमति हुन नसक्दा कार्यान्वयन हुन सकेको थिएन। 

राष्ट्रिय सभाले गठन गरेको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारलाई सिफारिस गरिएको प्रतिवेदनमा पनि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिवस्तरको हुनुपर्ने सुझाव दिएको थियो। 

मन्त्रालयका सहसचिव एवं प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले मन्त्रालयलाई परिपत्र गरेसँगै अब प्रतिवेदनमा उल्लेखित विषय क्रमिक रूपमा कार्यान्वयन हुँदै जाने बताए। 

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले गाउँपालिकाका नागरिकलाई गाउँपालिका पनि स्थानीय सरकार हो भन्ने अनुभूति दिलाउने गरी काम गर्न सबै गाउँपालिकामा उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृत आवश्यक भएको बताए।

अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.