|

पर्वत : गुरुङ चलचित्रकर्मीहरूको साझा संस्था गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) द्वारा आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गरिने भएको छ।

जिफानका अध्यक्ष गुन्ज बहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको बताए।

पोखरा सभागृहमा आयोजना गरिने कार्यक्रममा गुरुङहरूको सभ्यता र विकासक्रमसँग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्यहरू, गुरुङ चलचित्रका कलाकारहरूको आकर्षक नृत्यहरू प्रस्तुत गरिने छ।
झन्डै पाँच करोड रुपैयाँ संकलन गर्ने योजनासहित कार्यक्रम आयोजना गरिएको र यसमा गुरुङ चलचित्रलाई माया गर्ने सबैको साथ रहने गुरुङको भनाइ छ।

कार्यक्रममा २०५२ साल देखि हालसम्म निर्माण भएर जिफानमा दर्ता भई प्रदर्शन भएका चलचित्रहरूको पोस्टर प्रोजेक्टर तथा बोर्ड मार्फत प्रदर्शन गरिने तथा कलाकारहरूद्धारा साङ्गीतिक प्रस्तुतिहरू रहने छन्।
संस्थाका महासचिव लब्सन गुरुङले जिफानले विभिन्न चलचित्र तथा गीतसंगीत मार्फत गुरुङ समुदायको भाषा, कला र संस्कृतिलाई जोगाउन उल्लेखनीय भूमिका खेलेको बताए।

‘२७ वर्ष देखि हामीले यस क्षेत्रबाट आफ्नो कला र संस्कृति जोगाउन लागिपरेका छौँ। त्यस कारण हाम्रो योगदानको  मूल्यांकन तमु धिं जस्ता गुरुङको अग्रणी संस्था, तमु पें ल्हु संघ तथा विभिन्न संघ संस्थाले गर्ने विश्वास लिएको छु’, उनले भने, ‘संस्कृतिको रक्षाका लागि गरिएको प्रयासमा सबैको साथ रहने छ।’ जिफानको यस अभियानलाई सफल बनाउन देश तथा विदेशमा अरू कार्यक्रम पनि गर्ने योजना रहेको जिफानले बताएको छ।
विधिवत् रूपमा २०६५ सालमा स्थापना भएको जिफानमा हालसम्म एक सय ६० वटा चलचित्रहरू दर्ता भएका छन्।  २०५२ सालमा पाते निर्माण गरेपछि सुरु भएको गुरुङ चलचित्र देशको दोस्रो ठूलो बजारको रूपमा लिने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.