|

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलमा एसियाली टोली दक्षिण कोरियाले अन्तिम १६ मा आफ्नो स्थान बनाएको छ।

शुक्रबार भएको निर्णायक खेलमा कोरियाले पोर्चुगललाई २-१ को गोल अन्तरले हराउँदै तेस्रो पटक विश्वकपको नकआउट चरण प्रवेश गरेको हो।

फिफा वरियतामा २८ औँ स्थानमा रहेको कोरियाले विश्वकपमा आफूभन्दा बलिया टोलीलाई पराजित गरेको यो पहिलो पटक भने होइन।

१९५४ मा पहिलोपटक विश्वकप खेलेको दक्षिण कोरियाले यसअघि १० वटा विश्वकपमा सहभागिता जनाइसकेको छ।

जम्मा ११ पटक विश्वकपमा सहभागी भएको दक्षिण कोरियाले समूह चरण पार गरेको यो तस्रो पटक हो। यसअघि सन् २०१० र २००२ मा समूह चरण पार गरेको दक्षिण कोरियाले विश्वकप २००२ मा सबैभन्दा राम्राे प्रदर्शन गरेकाे थियाे।

विश्वकप २००२ को आयोजक राष्ट्रसमेत रहेको दक्षिण कोरिया समूह डिको विजेता बन्दै राउण्ड अफ १६ मा प्रवेश गरेको थियो। समूह चरणको पहिलो खेलमा पोल्याण्डलाई २-० ले पराजित गरेको दक्षिण कोरिया अमेरिकासँग गोलरहित बराबरी खेल्दै पोर्चुगललाई १-० ले हराएर राउन्ड अफ १६ मा प्रवेश गरेको थियो। 

त्यसपछि तीन पटकको विश्व विजेता इटालीलाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको द. कोरियाले क्वाटर फाइनलमा स्पेनलाई ५-३ गोल अन्तर(टाइब्रेकर)ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो। सेमिफाइनलमा जर्मनीसँग १-० ले पराजित भएको टोली तेस्रो स्थानका लागि टर्कीसँग भएको खेलमा ३-२ गोल अन्तरले पराजित भएको थियो। 

विश्वकप २००६ मा समूह चरणबाटै बाहिरिएको दक्षिण कोरिया सन् २०१० मा अर्जेन्टिनासँग ४-१ गोल अन्तरले पराजित भए पनि ग्रिसलाई २-० ले हराउँदै र नाइजेरियासँग २-२ को बराबरी खेल्दै ४ अंक सहित समूह बि को उपविजेताको रुपमा राउण्ड अफ १६ प्रवेश गरेको थियो।

त्यसपछिको विश्वकप २०१४ मा जितविहीन रहँदै समूह चरणबाट बाहिरिएको टोली २०१८ मा जर्मनीलाई २-० ले पराजित गरे पनि समूह चरणमै सिमित भएको थियो। 

१२ वर्षपछि यो पटक दक्षिण कोरिया फेरि समूह चरण पार गर्दै राउण्ड अफ १६ मा प्रवेश गरेको छ। जहाँ क्वाटर फाइनल प्रवेशका लागि पाँच पटकको विश्व विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।

ब्राजिलसँग अहिलेसम्म ७ पटक आमुन्ने सामुन्ने भएको कोरियाले ६ खेलमा पराजय व्यहोरेको छ भने १ पटक जित निकालेको छ। यो पटक मैदानमा उत्रिँदा ब्राजिलविरुद्ध दोस्रो जित निकाल्दै क्वाटर फाइनल प्रवेश गर्ने दाउमा दक्षिण कोरिया रहनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.