प्रवक्ता खतिवडा भन्छन् : चुनावको नतिजाले जिम्मेवार नेताको बेचैनी बढेको होला

|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टी र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको विषय पेचिलो बनेको छ।

एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले शुक्रबार माओवादीसँग पार्टी एकताको विषय अगाडि नबढेको र अहिले भइरहेका चर्चा निराधार भएको भन्दै विज्ञप्ति नै जारी गरेपछि समाजवादीका अर्का नेता मुकुन्द न्यौपानले पोल खोलिदिएका छन्।

उनले माओवादीसँग पार्टी एकता गर्न लागेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएपछि यसबारे तरंग पैदा गरेको हो। 

भुसालले विज्ञप्तिमा भनेका छन्, ‘विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यममा भइरहेको नेकपा एस र माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र स्पष्ट पार्न चाहन्छौं कि यो प्रचार पूर्णतः निराधार हो। यसमा कुनै सत्यता छैन। नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौं तर, अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा संवाद केही पनि भएको छैन। हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जन गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ।’

भुसालको विज्ञप्ति आएको केहीबेरमै न्यौपानेले यस विषयमा थप प्रष्ट पारिदिए। उनले कार्यकर्ताहरूको विरोध देखेर हतार हतार विज्ञप्ति निकालिएको खुलासा गरे। ‘आज यत्रो कसरतपछि देशभरि कार्यकर्ताको बिरोध देखेर हतार हतार विज्ञप्ति जारी गरेर छोप्न खोज्नु कति सर्मको कुरो हो?,’ उनले प्रश्न गरे। 

चुनावलगत्तै एकताको चर्चा

मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि माओवादी र एकीकृत समाजवादी पार्टीबीच एकताको विषयले चर्चा पायो। प्रतिनिधिसभाको प्रत्यक्षमा १० सिट जितेको नेकपा एस राष्ट्रिय दल बन्नबाट वञ्चित हुने देखिएको छ। किनकी यो दलले समानुपातिकमा थ्रेस होल्ड कटाउन सक्ने अवस्था छैन। 

यस्तै नेकपा माओवादी केन्द्रले पनि प्रत्यक्षम सोचे जति सिट ल्याउन सकेन। संसदीय राजनीतिमा होमिएको १७ वर्षपछि १७ सिटमा झरेको माओवादी पनि वामपन्थी एकताको पक्षमा छ।

चुनावी नतिजाबाट निराश बनेका यी दलहरू वामपन्थी एकताको निष्कर्षमा पुगेको आँकलन गर्न सकिन्छ। चुनावलगत्तै किन पार्टी एकताकोे विषय बाहिर आयो त? भन्ने हाम्रो प्रश्नमा माओवादी केन्द्रका नेता दिननाथ शर्मा चुनावी नतिजाले वामपन्थी दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकताका कारण यो विषय बाहिर आएको बताउँछन्। 

‘पार्टी एकताको विषयमा अहिले कुनै पनि कोणबाट छलफल भएको छैन। वामपन्थी एकताको पक्षमा माओवादी केन्द्र सँधै रहे पनि चुनावी नतिजाले वामपन्थी दलहरू एक ठाउँमा उभिनुपर्ने सन्देशसहित यो विषय बाहिर आएको हुनसक्छ,’ उनले भने। 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीसँग पार्टी एकताको विषयमा कुनै पनि कोणबाट छलफल नभएको बताए। 

‘धेरै पहिले यस विषयमा कुराकानी भएको हो। तर, तत्कालै यस बारेमा कुनै छलफल भएको छैन। आगामी दिनमा हुनसक्ला तर, अहिले छैन,’ उनले भने। 
नेकपा एकीकृत समाजवादीका नेता एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले कुनै पार्टीसँग एकता प्रक्रिया अगाडि नबढाउने उल्लेख गर्दै एमाले बाहेकका कम्युनिस्ट पार्टीहरूसँग एकीकृत र धुब्रीकृत हुने अवस्थामा जान सकिने बताए। 

‘हाम्रो पार्टी कुनै पार्टीसँग एकता प्रक्रियामा अगाडि जाँदैन । यदि सम्भव भयो भने सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने भन्ने छ। एमाले बाहेकका कम्युनिस्ट पार्टीहरूसँग एकीकृत र ध्रूवीकृत हुने अवस्थामा जान सकिन्छ। यद्यपि एमालेभित्रका असल नेता कार्यकर्तालाई एकतामा जोड्ने हुन सक्छ। एउटा पार्टीसँग एकता गर्ने, समन्वय गर्ने सम्भावना छैन। यो अनावश्यक हल्ला मात्रै हो । तत्काल एकताको विषयमा सोचेका छैनौं। एकता हुने प्रक्रियामा छिर्ने अवस्था पनि छैन, मन्त्री चौधरीले भने। 

समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको जिम्मेवार व्यक्तिहरूबाट तल्लोस्तरका टिप्पणी हुनु लज्जाको विषय भएको बताए। 

‘पार्टीको जिम्मेवार व्यक्तिले के बोल्ने कस्तो विषयमा बोल्ने भनेर हेक्का राख्नुपर्छ। म सचिवालय सदस्य भएको हैसियतमा एकताको विषयमा जानकारी छैन,’ उनले भने, ‘निर्वाचनमा आएको मतपरिणामले उहाँ (मकुन्द न्यौपाने) मा बेचैनी बढेको होला नत्र एक्कासी एकताको कुरा कहाँबाट निस्किन्छ?’

खतिवडाले निर्वाचनपछि वामपन्थी एकताको आवश्यकता महसुस भइनसकेको बताए। उनले निर्वाचनको पूर्ण नतिजा नआइसकेको अवस्थामा एकताका विषयमा प्रवेश गर्न नमिल्ने बताए।

‘हामी निर्वाचनको नतिजा पर्खिरहेका छौं। पूर्ण नतिजा नआइसकेको अवस्थामा एकताको कुरा गर्नु मुर्खता हुनेछ। यसअघि पनि वाम एकता भएकै हो तर, सफल हुन सकेन। कम्युनिष्टहरू फुट्ने जुट्ने क्रम चलिरहेकाले तत्कालै एकता गरेर जाने सम्भावना छैन,’ प्रवक्ता खतिवडाले भने। 

साउनमा बनेको थियो ‘प्लान’

माओवादी केन्द्र र नेकपा एसबीच गत साउनमा पार्टी एकता गर्ने गरी तयारी अगाडि बढेको थियो। दुवै दलहरूले पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेका थिए।

नेकपा एसको सचिवालय बैठकले माओवादीसँग एकता गर्ने र एमाले बाहेकको समाजवादी केन्द्र बनाउने भनेर माओवादीसँग छलफल गरेपछि अध्यक्ष माधवकुमार नेपालले चार दिनसम्म तिनकुनेस्थित पार्टी कार्यालयमा सचिवालय बैठक राखे। तर, बैठक लगातार बसे पनि विषय केही थिएन। 

फेरि उक्त बैठक चार दिनपछि चम्पादेवी सारियो। चम्पादेवी सारेपछि सचिव गंगालाल तुलाधरले ‘अब माओवादीसँग एकता गरेर जानु पर्छ। एमालेसँग मिल्न सकिँदैन त्यसैले एमाले बाहेकको वामपन्थी एकता गर्ने’ भनेर प्रस्ताव राखे। त्यसपछि नेता न्यौपानेले यसको विरोध गरेर असहमति जनाए।

उनले भने, ‘एमाले बाहेकको एकता भन्नु कम्युनिष्ट आन्दोलन सिध्याउनु हो।’ न्यौपानले विरोध जनाएपछि नेता झलनाथ खनाल र विजय पौडेलले पनि असहमति जनाए।

दुवै नेताले एकै स्वरमा भने–अहिले अलिक राम्ररी छलफल नगरी त्यसो नगरौं। एकताको विषयमा फरक मत आएपछि नेताहरुबीच केहीबेर विवाद पनि भयो र बैठक बिना निष्कर्ष टुङ्गियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.