|

विराटनगर : दुई दशकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानको क्रममा कार्यक्रम गरेको विराटनगरबाटै लोकरक ब्याण्ड नेपथ्यले ‘मानवताको लागि संगीत’ अभियानको भव्य सुरुवात गरेको छ। अभियानको पहिलो ध्वनी शुक्रबार बेलुकी यहाँ स्थित हाटखोला मैदानमा फैलिँदा हजारौं दर्शकहरूको उत्साह मिश्रित आवाजले रंगेली जोड्ने सडक वरपरका सिंगो भेग गुञ्जायमान भएको थियो।

अघिल्ला कन्सर्टहरूभन्दा बेग्लै यसपाला नेपथ्यले पहिलो गीतै ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत गर्‍याे। गाउनुअघिको धुनमा परिमार्जनसहित केही नयाँपन दिएर सुरु गरिएको उक्त गीतदेखि नै दर्शकहरूमा सञ्चारित उर्जा कन्सर्टको अन्तिमसम्मै जारी देखिन्थ्यो। त्यसपछि पनि दोश्रो गीतमा ‘छेक्यो छेक्यो’, तेश्रो ‘लामपाते सुरती’ र त्यसपछि पनि ‘चरि मर्‍यो’ र ‘जोमसोमे बजारमा’ जस्ता गीतहरूले दर्शकमा उत्साह अझ बढाएकाे थियाे।

कार्यक्रम अवधि भर गायक अमृत गुरुङले बारम्बार मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए। ब्यान्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितहरूको तस्बिर सहितका दृश्यहरूबाट प्रस्तुत गरिएको थियो। ‘अर्को जुनी छ कि छैन थाहा छैन,’ उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने यसै जुनीमा र आजैबाट दान गर्न सुरु गरौं।’ गायक गुरुङले चुनावपछि फेरि समाजमा एकताको आव्हान गर्दै त्यसले नै स्थिरता र विकास दिने तर्क पनि राखेका थिए।

विराटनगरकै सरकारी स्कुल श्री गोग्राहा उच्चमाविकी पूर्व प्रधानाध्यापिका मिना जोशी यस स्थानमा फेरि नेपथ्यलाई पाएर अन्त्यन्तै खुशी देखिन्थिन्। ‘आजभन्दा २० वर्षअघि मेरो स्कुलको अवस्था अत्यन्त जर्जर बन्न पुगेको थियो,’ जोशीले भनिन्, ‘त्यसबेला नेपथ्यले विराटनगरमा गरेको कन्सर्टकै आम्दानीबाट भरथेग पाएको त्यो स्कुल अहिले उच्च तहमा उत्कृष्ट अध्ययन अध्यापन गराउन सक्ने अवस्थामा पुगिसकेको छ।’

यतिबेला विराटनगरको विभिन्न क्षेत्रमा सेवारत उच्च ओहदाका व्यक्तित्वहरू त्यसै विद्यालयका उत्पादन भएको देख्दा आफूलाई गौरव लाग्ने गरेको जोशीले बताइन्। ‘नेपथ्यको संगीतले यसरी शिक्षा क्षेत्रलाई दिएको योगदानको यत्रो उदाहरण हामी आफैँ भएका छौँ,’ जोशीले थपिन्, ‘अब आएर यो ब्यान्डले मानवताको क्षेत्रमा पनि सहकार्य गर्न लागेको देख्दा असाध्यै खुशी भएकी छु।’

सडकमा आश्रित मानिसहरूलाई ओत र खाना दिएर पुण्य कमाइरहेको मानवसेवा आश्रम र संगीतका माध्यमबाट समाजको हितमा समर्पित नेपथ्य दुवै परोपकारी चरित्रका संस्था भएकाले यसको समिश्रणबाट सिंगो नेपाली समाज लाभान्वित हुने विश्वास पनि जोशीले व्यक्त गरिन्।

कन्सर्टमा पहिलो लहरमै बसेर नृत्यरत एक परिपक्व अनुहार पनि देखिन्थ्यो। उनी थिए स्थानीय समाजका अर्का परिचित व्यक्तित्व डा. हेमसागर रिमाल। रिमाल यहाँस्थित विराट मेडिकल कलेजका प्रिन्सिपल हुन्। तर, नेपथ्यसँगको उनको साइनो अलिक पुरानै रहेछ। करिब डेढ दसकअघि उनी अष्ट्रेलियाको मेलबर्नमा राम्रै अभ्यास गरिरहेका डाक्टर थिए। त्यतिबेलै एकदिन त्यहाँ नेपथ्य ब्यान्डको कन्सर्ट आयोजना भयो। कन्सर्टमा डा. रिमाल पनि पुगेका थिए।

‘त्यतिबेलै गायक अमृत गुरुङले मञ्चबाट देश बनाउनका लागि सबै नेपालीहरू स्वदेश फर्केर आउनुपर्ने आव्हान गर्नुभयो’, डा. रिमालले थपे, ‘मेरा आफ्नै केही पारिवारिक कारणले पनि नेपाल फर्कने परिस्थिति बनिरहेको बेला अमृतजीले बोलिदिएको त्यो वचनले आगोमा घिउ थपिदिए जस्तै भइदियो।’ यसरी आफूजस्ता विदेशमै व्यावसायिक जीवनमा व्यस्त मानिसलाई स्वदेश फर्काउने भावना फैलाउन सक्नु नेपथ्यको चानचुने गुण होइन भन्छन् डा. रिमाल।

‘आयोजक मानवसेवा आश्रमको टोली अस्ति कलेजमा आएर नेपथ्यको नाम लिने बित्तिकै पुराना दिनको सम्झनाले मेरो रौँ ठाडो भएजस्तो महसुस भयो’, डा. रिमालले थपे, ‘त्यसपछि आयोजकहरूलाई विद्यार्थीहरूका माझमा लगेर म आफैँले नेपथ्यको बारेमा सुनाएँ जुन प्रकारको काम मैले पहिलो पटक गरेको थिएँ।’ नेपथ्य आफूहरूको पुस्तालाई संगीतले बाँध्ने मात्र नभएर समुन्नत समाजको निम्ति पनि लागेको ब्याण्ड भएका हुनाले बेग्लै खाले सन्तुष्टि मिलिरहेको पनि डा. रिमालले प्रतिक्रिया दिए।

कन्सर्टको अन्त्यतिर ‘गाउँ गाउँबाट उठ’ गाउन सुरुगरेपछि हाटखोला मैदानका धुलोले आकाश छेक्लाजस्तै गरि जताततै मानिस नाच्न सुरु गरेका थिए। त्यसलाई ‘रेशम’ र ‘तालको पानी’बाट अघि बढाउँदै अन्त्यमा सँधै जस्तै नेपथ्यले ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरेको थियो। त्यति बेला मुलुकप्रतिको भावनाले ओतप्रोत दर्शकहरू जताततै राष्ट्रिय झण्डा बोकेर नृत्य गरिरहेको देखिन्थ्यो। मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

संगीतका साथै मानवता प्रवर्द्धनका लागि नेपथ्यको यो कन्सर्ट विराटनगरमा सफलताका साथ सम्पन्न भएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताएका छन्। यसका निम्ति उनले सबै सहयोगीलाई धन्यवाद व्यक्त गरे।

‘विराटनगरको कन्सर्टमा भव्य उपस्थितिले मनोरञ्जन र परोपकार दुवैमा सरिक हुन चाहने यस शहरका सहृदयीहरूको पहिचान पनि स्थापित गरेको छ,’ अधिकारीले थपे, ‘यसै गरी मुलुकका अन्य भागमा निरन्तर चल्ने कन्सर्टहरूलाई पनि त्यहाँका मानवताप्रेमी श्रोता दर्शकहरूले सफल बनाउने विश्वास लिएको छु।’

विराटनगरको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँच वटा ट्रक, दुइवटा बस र केही साना सवारीमार्फत वीरगन्जतर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित आदर्शनगर रंगशालामा नेपथ्य मंसिर १९ गते सोमबार प्रस्तुत हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.