|

पर्वत : स्थानीय तहको ध्यान विकासे काममा मात्रै बढी गएको देखिन्छ। दीर्घकालीन नतिजाभन्दा तत्कालै देखाउन मिल्ने काममा उनीहरूको ध्यान छ। उनीहरू भौतिक पूर्वाधारमा मात्रै बढी केन्द्रित हुँदा दीर्घकालीन रूपमा समाजलाई फाइदा हुने शिक्षा र स्वास्थ्यमा त्यति धेरै ध्यान जान सकेको छैन।

पर्वतको जलजला गाउँपालिकाले भने भौतिक विकास सँगसँगै शैक्षिक विकासमा पनि चासो दिएको छ। गत वर्ष स्थानीय तहका अधिकांश विद्यालयलाई आईसिटीको विस्तारका लागि ल्यापटप, प्रिन्टर र सम्भव भएका ठाउँका विद्यालयमा इन्टरनेटको सुविधा दिएको गाउँपालिकाले अहिले भने स्थानीय तहको शैक्षिक अवस्थाका बारेमा थाहा पाउन फरक अभ्यास गरेको छ। 

गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उपलब्धि स्तर थाहा पाउन केही कक्षाका विद्यार्थीलाई विभिन्न केन्द्रमा राखेर एकै पटक परीक्षा लिइएको छ।

जिल्लाका स्थानीय तहहरूको अभ्यासलाई हेर्ने हो भने कक्षा ८ को अन्तिममा हुने वार्षिक परीक्षालाई मात्रै पालिका स्तरीय परीक्षाको रूपमा सञ्चालन गर्ने गरिएको छ। त्यसले कक्षा ८ मा अध्यापन गर्ने शिक्षकहरूलाई नतिजा प्रदर्शनका लागि प्रोत्साहन गर्ने भए पनि अन्य कक्षामा अध्ययनरत विद्यार्थीहरूको उपलब्धि स्तरको बारेमा विद्यालय बाहेक अरूलाई सायदै जानकारी हुन्छ।

नतिजा देखाउनुपर्ने भएकाले कक्षा ८ र १० मा विद्यार्थी र शिक्षक दुवैले केही बढी मिहिनेत गर्ने तर अन्य कक्षामा आफ्नो पूर्ण क्षमता प्रयोगमा नल्याउने गरेका गुनासा सुन्ने गरिएका छन्। यही अवस्थामा जलजला गापाले कक्षा ८ बाहेक अन्य कक्षाका विद्यार्थीको पनि उपलब्धि स्तर थाहा पाउनका लागि गाउँपालिका नौवटा विद्यालयलाई परीक्षा केन्द्र तोकेर एकैपटक परीक्षा लिएको हो।

गापा अध्यक्ष राजु आचार्यका अनुसार कक्षा तीन, पाँच, आठ र १० मा अध्ययनरत पालिकाभरका एक  हजार २७८ जना विद्यार्थीको परीक्षा लिइएको छ। विद्यालयहरूले लिँदै आएका त्रैमासिक तथा वार्षिक परीक्षाभन्दा यो परीक्षा फरक भएकाले विद्यार्थीहरूको वास्तविक अवस्था के छ भन्ने कुरा पत्ता लाग्ने र उनीहरूको कमजोरी हटाउन सोहीअनुसारको योजना तय गर्न बाटो खुल्ने उनको भनाइ छ।

गाउँपालिकाभन्दा बाहिरका विज्ञहरूको सहयोगमा तयार पारिएका प्रश्नावलीहरूको प्रयोग गरेर परीक्षा सञ्चालन गरिएको हो। 

‘पालिकाभन्दा बाहिरका विज्ञहरूको सहयोगमा प्रश्नपत्र तयार गरिएका छन्। ती प्रश्नहरूले विद्यार्थीमा आएका व्यवहारिक परिवर्तनको मापनमा जोड दिएका छन्। हाम्रा विद्यार्थी के कुरामा कमजोर रहेछन् भन्ने कुरा यो परीक्षाबाट देखिन्छ,’ अध्यक्ष आचार्य भन्छन्, ‘यो परीक्षा विद्यालयले लिने आन्तरिक परीक्षाभन्दा फरक छ। किताबका कुरा कण्ठस्थ गराउनु मात्रै सिकाइ होइन किताबी ज्ञानले व्यवहारिक परिवर्तनमा कति सहयोग गरेको छ भन्ने देखिन्छ।’

परीक्षा अवलोकन गर्न पुगेका शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका प्रमुख उद्धीमराज पौडेलले समग्र पालिकाभरको वास्तविक शैक्षिक अवस्थाको तथ्याङ्क थाहा पाउनका लागि जिल्लामै पहिलो पटक जलजला गापाले लिएको परीक्षाको अभ्यास सह्रानीय रहेको बताए।

यो परीक्षाले तल्लो तहका विद्यार्थीको सिकाइ उपलब्धिको पहिचान गर्ने, उनीहरूलाई अरू विद्यालयमा हुने केन्द्रमा गएर परीक्षा दिन मानसिक रूपमा तयार बनाउने तथा शिक्षकहरूलाई पृष्ठपोषण दिन पनि सहयोग पुग्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.