|

ललितपुर : भारतमा हुने तेस्रो नेत्रहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार त्यसतर्फ जाँदैछ। १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली प्रतियोगितामा सहभागी हुन भारत जाँदैछ। 

खिमानन्द गैरेको कप्तानीमा रहेको टोलीमा सागर लामा, भरत चौलागाईं, राधेश्याम चौधरी, हेमबहादुर खत्री, टमबहादुर पाल, शान्तबहादुर पहरी रहेका छन् यसैगरी अन्य खेलाडीमा सुनिल राना, प्रेम क्षेत्री, युवराज भण्डारी, खेमराज सापकोटा, सुरेन्द्र तामाङ, नरेश चौधरी, सागर चेपाङ र शंकर रेग्मी छन्। 

टोलीको प्रशिक्षकमा नहेन्द्र निरौला रहँदा  व्यवस्थापकमा तुमरु उप्रेती छन्। यस्तै प्रतियोगितामा सहभागी हुने टोलीमा अफिसियलका रुपमा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे, महासचिव अमृत बराल र कोषाध्यक्ष उपेन्द्र श्रेष्ठ रहेका छन्।​

विश्वक क्रिकेटका लागी गत कात्तिक २ र ३ गते काठमाडौँमा सम्पन्न छनोट प्रतियोगिताबाट १५ सदस्यीय खेलाडी छनौट गरिएको थियो।  वरिष्ठ क्रिकेट प्रशिक्षक अरुण कुमार अर्याल संयोजक, तुम्बरु उप्रेती र नहेन्द्र निरौला सदस्य रहेको ३ सदस्यीय छनोट समितिले अन्तिम १५ खेलाडीहरु छनोट गरेको थियो।  तिहार र छठ पर्व लगत्तै टोलीले करिब १ महिना अभ्यास खेलेको थियो। 

७ राष्ट्र सहभागी विश्वकपको उद्घाटन खेल मंसीर १९ गते नयाँदिल्लीमा र समापन खेल पुस ३ गते बैंगलोरमा हुने संघका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए। 

७ राष्ट्र, राउन्ड रोविन लिगबाट शीर्ष ४ सेमिफाइनलमा 

विश्व नेत्रहीन क्रिकेट परिषदका नेपालसहित पूर्णकालिन १० सदस्यले  सहभागिता जनाउने अवसर पाउने प्रावधान छ। यद्यपि वेष्टईण्डिज, न्युजिल्याण्ड र इंगल्याण्डले भने यो संस्करणमा भाग लिएका छैनन्। 

प्रतियोगितामा नेपालसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया गरी ७ राष्ट्रले भाग लिएका छन्। प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ। यो लिगमा शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन्।

लिगमा नेपालले मंसीर २० गते भारतसँग प्रतिस्पर्धा गर्दा २१ गते बंगलादेशसँग भिड्नेछ। यसैगरी २३ मंसीरमा अस्ट्रेलिया, २४ मंसीरमा दक्षिण अफ्रिका तथा २७ मंसीरमा श्रीलंकासँग नेपालले खेल्नेछ। लिगको  अन्तिम खेलमा आगामी मंसीर २८ गते नेपालले पाकिस्तान विरुद्ध प्रतिस्पर्धा गर्ने छ।

नेपाली टोलीले यस संस्करणमा राम्रो खेल पस्कने संघका अध्यक्ष पवन घिमीरेले प्रतिवद्धता जनाएका छन्। विश्वकप खेल्न जानुअघि उनले यो संस्करणमा राम्रो नतिजा ल्याएर स्वदेश फर्कने बताए। 

खेल सुधार्ने ध्याउन्नमा नेपाल 

यसअघि भएका दुवै संस्करणमा नेपाल सहभागी भइसकेको छ। भारतमा सम्पन्न पहिलो संस्करणमा नेपाल सहभागीतामै समिति बनेको थियो। १० टोली सहभागी प्रतियोगितामा नेपालले कुनै जित हासिल गर्न सकेन। पाकिस्तान र दुबईमा भएको दोस्रो संस्करणमा आएर भने नेपालले आफ्नो वरियतामा सुधार गर्‍यो। १० टोली सहभागी यो संस्करणको विश्वकपमा नेपालले दुईवटा देशलाई हरायो। सातौँ वरियतामा उक्लिएको नेपालले बंगलादेश र अष्ट्रेलियालाई हराउन सफल भयो। 

हाम्रो पहिलो सहभागीता केवल सहभागितामै समिति बनेको थियो कोषाध्यक्ष श्रेष्ठले भने, ‘दोस्रो संस्करणमा हामीले बंगलादेश र अष्ट्रेलियालाई हराएर सातौँ वरियतामा आयौँ। अब यो संस्करणमा पनि अझ सुधार्दै अगाडि बढ्ने योजना छ।’

१५ सदस्यीय नेपाली टोलीमा 

बी–१ खेलाडीहरुको समूह

१ सागर लामा

२ सुनिल सुबेदी

३ हिम बहादुर खत्री

४ भरत चौलागाईं

५ राधेश्याम चौधरी

बी–२ खेलाडीहरुको समूह

१ सन्त पहरी

२ खिमानन्द गैरे

३ युवराज भण्डारी

४ सुनिल राना मगर

५ प्रेम क्षेत्री

बी–३ खेलाडीहरुको समूह

१ खेमराज सापकोटा

२ सुरेन्द्र कुमार तामाङ

३ नरेश चौधरी

४ सागर चेपाङ

५ शंकर रेग्मी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.