|

बागलुङ : पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेशा नै पशुपालन हो। पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन्। मुख्य पेशा नै पशुपालन भएको हुँदा अरूमा यहाँका अधिकांश स्थानीयले अरू पेशालाई प्राथमिकता दिँदैनन्। यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन।

एक परिवारले चार वटादेखि एक हजार पाँच सयसम्म पशु पाल्छन्। एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीय बासिन्दा हिउँद बर्खा लेकबेसी गर्ने गर्छन्। पशुपालनमा आधुनिक प्रविधि भित्रिए पनि यहाँका स्थानीयलाई भने त्यो प्रविधिले छुन सकेको छैन। उनीहरू परम्परागत शैलीमै पशुपालन गर्दै आएका छन्।

स्थानीय वेदबहादुर घर्ती मगरले बाउबाजेले गर्दै आएको पेशा आफूहरूले अँगाल्दै आएको बताउँछन्। घर्तीले भने, 'नयाँ प्रविधि आयो भन्छन्, बाख्रालाई राम्रो खोर बनाएर राख्नु पर्छ भन्छन्, सुई लगाउनु पर्छ, भेडाबाख्रा निरोगी हुन्छ भन्छन् तर हामी त त्यस्तो केही गर्दैनौँ। हामीलाई त हिउँद लागे बेसी झर्न ठिक्क हुन्छ बर्खा लागे लेक जान।'

घर्ती मगरले १८ वटा भैँसी र १५५ वटा भेडाबाख्रा पाल्दै आएका छन्। उनले यसरी पशुपालन गर्दै आएको ४२ वर्ष भयो। आफू ९ वर्षको उमेरदेखि गाईभैँसी र भेँडाबाख्रा चराउँदै थालेको बताउने घर्ती मगरले अहिलेसम्म आफ्ना पशुचौपायालाई कुनै औषधि नखुवाएको बताउँछन्। उनी अहिले ५१ वर्षका भए।

'बाउआमाले गोठमै काम सिकाए, गाईभैँसी, भेँडाबाख्राको गोठालो गर्न सिकियो, पढ्न पाइएन। त्यही भएर अहिलेसम्म यिनै पशुको हेरचार गर्नु परेको छ', उनले भने, 'मैले गाईभैँसी हेर्न थालेको ४२-४३ वर्ष भयो। अहिलेसम्म अस्पतालबाट औषधि ल्याएर खुवाएको छैन, वनमा चर्ने भएको हुँदा जडिबुटी खान्छन्, बिरामी परे पनि आफै निको हुन्छन्।'

स्थानीय ७४ वर्षीय चिरबहादुर बुढा मगरले पनि सानैदेखि भेडाबाख्रा र गाईभैँसी पालन गर्दै आएका छन्। उनले आफ्ना पुर्खाहरूले यही पेशा गर्दै आएको हुँदा आफूले पनि पशुपालनलाई अँगाल्दै आएको बताए। 

बुढा मगर भन्छन्, ‘हाम्रा बाउ बाजेहरूले पनि यही काम गर्थे, मैले पनि उहाँहरूकै सिको गरे, अरू गर्नलाई लेखपढ गरेको छैन, भेडाबाख्रा पाल्न नपढे पनि हुँदो रैछ, धेरै कमाउन नसके पनि खान लाउन पुगेको छ, दुःख पर्दा उपचार पाइएकै छ।’

उनले पशुपालन सम्बन्धी कुनै पनि तालिम परामर्श लिएका छैनन्, तैपनि यो व्यवसायले उनलाई सन्तुष्टि दिएको छ। परम्परागत प्राणालीबाट पशुपालन गर्दै आएका बुढा मगरलाई आधुनिक प्रविधिबारे केही ज्ञान छैन। गाईभैँसी तथा भेडाबाख्रा बिरामी परे उनी आफै ओखती गर्छन्। अहिले उनको गोठमा दुई सय भेडाबाख्रा र २० वटाभन्दा बढी भैँसी छन्।

'माथि–माथि लेकमा जाने वेला अलिअलि चिसोले भेट्छ भेडाबाख्राहरूलाई, सिगान छोड्ने काँस्ने गर्छन्, नत्र खासै त्यसो समस्या पर्दैन, परे पनि नुन तताएर खुवाएपछि निको हुन्छन्, कहिलेकाहीँ निकै थला परेर १-२ वटा भेडा मर्ने पनि गरेका छन्', उनले भने, 'सामान्य रोगको त उपचार म आफैँ पनि गर्छु तर त्यसरी विरामी परेका छैनन्।'

आफूहरूले उच्च पहाडी क्षेत्रहरूमा चरिचरन गर्दा पशुचौपायाले औषधियुक्त जडिबुटी खाने गर्दा धेरै बिरामी नहुने बताउँछन्। 'यहाँ तल–तल त जाडोको सिजनमा मात्रै हो, नत्र माथि नै हाम्रो वास हुन्छ, खर्चपर्च बोकेर लेकतिरै जान्छौँ, उतै पशु पाल्ने गछौँ, कहिलेकाहीँ बाघहरूको डर हुन्छ, रोग लागेर मर्लान् भन्ने डर त कमै हुन्छ', उनले भने।

स्थानीय थुमीकला सुनारले बाघले पशुचौपायाले बाख्राका पाठा पाठी मार्ने गरेको गुनासो गरिन्। सरकारले बाघ र वन्यजन्तुबाट पशुपालक कृषकहरूका लागि सहयोग गर्नु पर्ने बताउँछिन्।

सुनारले भनिन्, 'हामीलाई केही समस्या छैन, जसोतसो यो पेशाबाट परिवार पाल्न सकिएको छ, लेकमा बस्ने वेला चितुवाले बाख्रा, गाई र भैँसीको बच्चा मारिदिने गर्छ, सरकारले यस्ता वेला थोरै राहत दियो भने हामीलाई सजिलो हुन्थ्यो।'

पशुपालक कृषकहरू विशेष गरी दुई सिजनमा भेडाबाख्रा बेच्न बजारतिर झर्छन् भने अधिकांश समय गोठमै बस्ने बस्छन्। पछिल्लो समय मान्छेहरू गोठमै पनि भेडाबाख्रा खरिद गर्न जाने गरेको थुमीकला बताउँछिन्।

अर्का पशुपालक तुलबहादुर बुढा मगर अहिलेसम्म भेडाबाख्रालाई खोरमा नबाँधेको बताउँछन्। उनले धेरै भेडाबाख्रा हुँदा खुला ठाउँमै बाँध्ने गरेको बताए। उनले भने, 'थोरै भेडाबाख्रा भए पो खोरमा बाँध्नु यति धेरैलाई खोरमा बाँध्न सम्भव नै हुँदैन, त्यही भएर बाहिरै बारीमा बाध्छौँ, कहिलेकाहीँ बाघले बाख्रा खाइदिन्छ।'

उनीहरू जस्ता निसीखोलामा सयौँ पशुपालक छन्। उनीहरू अझै पनि नयाँ प्रविधि र ज्ञानबाट टाढै छन्। गाउँपालिकाले यस्ता कृषकलाई नयाँ प्रविधिसँग जोड्न सके सिंगो निसीखोलालाई मासुमा आत्मनिर्भर बनाउन सकिने स्थानीय बासिन्दाको बुझाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.