|

काठमाडौं : पछिल्लो समय अवैध रूपमा शिक्षण संस्था खोलेर खुलेआम विद्यार्थीलाई ठग्ने काम भइरहेको छ। जसले गर्दा विद्यार्थीको भविष्य डामाडोल भएको छ। उदाहरणको रूपमा अहिले भक्तपुरको सूर्यविनायक–१,घतालेस्थित सुवाल इन्टरनेसनल कलेज अवैध रूपमा सञ्चालन छ।

कलेज सञ्चालक प्रकाश सुवाल यतिखेर प्रहरी हिरासतमा छन् भने कलेजमा ताला लागेको छ। उक्त कलेजले अवैध रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई ठगेको आरोप लागेपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरेको थियो।

त्यसरी बिनास्वीकृति कलेज सञ्चालन हुँदा पनि किन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बेखबर बन्यो भन्ने प्रश्न उब्जिन थालेको छ। 

अवैध रूपमा कलेज सञ्चालनको समाचार बाहिरिएपछि मात्रै जानकारी भएको मन्त्रालयको तर्क छ। यो तर्कमा प्रहरी आश्चर्य मान्छन्। पक्राउ परेका कलेज सञ्चालक सुवालको अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्, ‘तीन चारवटा घर भाडामा लिएर कति वर्षदेखि हो कलेजले विज्ञापन गर्दै विद्यार्थी भर्ना गरेर पैसा असुलिरहेको छ,होस्टल चलाएको छ। यस्तो वेलासम्म पनि शिक्षा मन्त्रालयमा जानकारी नभएको हुनसक्छ र?’

उक्त कलेजको वेबसाइटमा सन् २०१९ बाट कलेज खुलेको उल्लेख छ। एनइबी,डिप्लोमा तहमा इन्जिनियरिङ, स्वास्थ्य, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, स्नातक तहमा बीबीएस, कानुन, माष्टर्स कार्यक्रममा बिजिनेस, एमसिए‚ टुरिजम लगायत विषय छन्। इन्जिनियरिङ प्रोग्राम छ। मेडिकलतर्फ बीडीएस, एमबीबीएस, नर्सिङ साइन्स, फार्मेसी,पब्लिक हेल्थ लगायत विषय पढाइ हुने कलेजको दाबी छ। 

प्राविधिक विषय र गैरप्राविधिक विषयका लागि शिक्षा मन्त्रालयसँग स्वीकृति लिनुपर्छ भने चिकित्सा विषयका लागि चिकित्सा शिक्षा आयोगको अनुमतिमा मात्रै चलाउन पाइन्छ। सुवाल कलेजले भने कुनै विषयको स्वीकृति नलिएको शिक्षा मन्त्रालयले प्रस्ट्याएको छ।

शिक्षा मन्त्रालयको प्राविधिक उच्च शिक्षा शाखाका एक अधिकारीले भने, ‘प्राविधिक विषयका लागि यहाँबाट स्वीकृति लिनुपर्छ तर त्यो कलेजले स्वीकृति नलिई त्यसरी कलेज सञ्चालन गरेको समाचारबाट थाहा भयो। यो सिधै ठगी हो।’

उनका अनुसार केही दिनअघि प्रहरीको सिआइबी टोली मन्त्रालयमा यसबारे बुझ्न आएको थियो। ‘हामीले स्वीकृति लिएको छैन भन्ने जानकारी गराइसकेका छौँ। कहीँबाट स्वीकृति नलिई कलेज चलाएको पाइए कानुनअनुसार सञ्चालक जेल जान्छ र स्वतः कलेज बन्द भइहाल्छ, मन्त्रालयले सञ्चालन गर्न दिँदैन’‚ ती अधिकारीले भने।

चिकित्सा शिक्षा आयोगका सूचना अधिकारी अनुपमचन्द्र श्रेष्ठ पनि सुवाल कलेजले चिकित्सा विषयको कुनै पनि कार्यक्रमको स्वीकृति नलिएको र लिन पनि नपाइने जानकारी दिन्छन्।

उनले भने, ‘मेडिकल विषयको हकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ जारी भयो। यो ऐन जारी भइसकेपछि स्नातकभन्दा माथिका पढाइ आयोगले लिएको कमन इन्ट्रान्स पास गरेको व्यक्ति मात्रै पढ्न पाउँछन्, यो ऐन जारी भएको मितिले १० वर्षसम्म उपत्यकाभित्र कुनै पनि मेडिकल कलेज सम्बन्धन दिने, स्थापना गर्ने काम हुँदैन।’ उनले अहिले विश्वविद्यालय र आयोगले सम्बन्धन दिन नपाइने बताए। 

कलेज बन्द गर्न विद्यार्थी संगठनको माग

सुवाल कलेजमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूका अनुसार मेडिकल विषयका पढाइ गत कात्तिक महिनाबाट कक्षा सञ्चालन भएको हो। कलेजले नर्सिङ, फार्मेसी र एचएमा २ सयभन्दा बढी विद्यार्थी भर्ना गरेर प्रतिविद्यार्थी ७५ हजारका दरले शुल्क उठाएको छ। त्यसो त गत मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सम्बन्धनबिनै कलेज सञ्चालन गरेर विद्यार्थीलाई ठगी गरेको भन्दै कलेजमा ताला लगाएको थियो। कलेज बन्द गर्नुपर्ने उनीहरूको माग छ।


विज्ञप्तिमा भनिएको छ,‘सुवाल कलेज नामको नक्कली संस्था खडा गरी शिक्षा मन्त्रालय, विश्वविद्यालय,सिटीईभीटी लगायत स्वदेशी र विदेशी कुनै पनि निकायबाट सम्बन्धन नलिई नर्सिङ, सामान्य चिकित्सा,फार्मेसी,इन्जिनियरिङ लगायत विभिन्न प्राविधिक र गैरप्राविधिक शैक्षिक कार्यक्रममा भर्ना गरी अध्यापन गराइरहेको पाइयो।’ 

क्रान्तिकारीले विभिन्न कार्यक्रमको शुल्कको नाममा विद्यार्थीबाट करोडौं ठगी गरेको बताएको छ। ‘यो प्रकारको हदैसम्मको शैक्षिक अपराधको छानबिन गरी पीडित विद्यार्थीबाट उठाइएको शुल्क फिर्ता र ठगी गर्ने सुवाल कलेज बन्द गरी सञ्चालकलाई कारबाही गर्न जोडदार माग गर्दछौँ’‚ विज्ञप्तिमा उल्लेख छ।

कहाँ पुग्यो प्रहरीको अनुसन्धान ?

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले अहिले भक्तपुरको प्रहरी हिरासतमा कलेज सञ्चालक सुवाललाई राखेर अनुसन्धान भइरहेको जानकारी दिए। उनले भने, ‘ठगी मुद्दा अन्तर्गत अहिले अनुसन्धान भइरहेको छ।’

ठगी भएको देखियो भने ठगी ऐन अनुसार कारबाही गर्ने उनले बताए। मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२१ को दफा २४९ को (१) मा कसैले ठगी गर्न वा गराउन नहुने व्यवस्था छ। ठगी गर्ने व्यक्तिलाई  सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ। 

ठगी पुष्टि भए बन्द होला कलेज ?

दोषी ठहरिए कलेज के हुन्छ भन्ने प्रश्नमा जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी पाण्डेले भने, ‘त्यो कलेजले दर्ता नभईकन पैसा हामीसँग असुल्यो भनेर विद्यार्थीले प्रहरीवृत्त जगातीमा सञ्चालकविरुद्ध उजुरी दिए। उसले सम्बन्धन कहाँबाट लिनुपर्ने?,लिएको छ छैन? भन्ने त शिक्षा मन्त्रालयबाट आउने हो। यसका लागि मन्त्रालयमा बुझ्नुस्।’ उनका अनुसार उक्त कलेजमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन्। 

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने मन्त्रालयबाट भन्दा पनि ठगी पुष्टि भए स्थानीय प्रशासनबाट कारबाही हुनुपर्ने बताउँछन्। सुवाल कलेजले कुनै पनि शैक्षिक कार्यक्रमको मन्त्रालयसँग स्वीकृति नलिएको बताउँदै उनले भने, ‘स्वीकृति लिँदा यसका धेरै कानुनी प्रक्रिया छ। त्यो पूरा गर्नुपर्छ तर सुवाल कलेजले स्वीकृति लिएकोबारे केही जानकारी हामीसँग छैन।’

विदेशी कोर्ष कलेजले पढाए पनि मन्त्रालयसँग स्वीकृति लिनुपर्ने कानुनी प्रावधान रहेकाे उनले बताए। ‘हामीले यसका लागि २०७४ सालमा सार्वजनिक सूचना जारी गरेका थियौँ तर अरू कलेजले स्वीकृति लिन आए, सुवाल कलेजले लिएन,’ उनले भने। अहिले प्रहरीले अनुसन्धान गरिरहेकाले ठगी पुष्टि भए विद्यार्थीबाट लिएको शुल्क कलेजले फिर्ता गर्नुपर्ने र कलेज बन्द हुने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.