|

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले महिला हिंसा अन्त्यका लागि सरोकारवाला निकाय सबैले सहकार्य गर्नुपर्ने बताएका छन्। सीमित स्रोतसाधनका बाबजुद एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)ले ९४ अस्पतालमार्फत पीडितलाई सहायता दिँदै आएको उनले बताए। यसलाई अझ धेरै ठाउँमा विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको महिला हिंसाविरुद्धसम्बन्धी आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘चेतनास्तर शहर, गाउँ र समुदायपिच्छे फरक छ। महिला हिंसाको अन्त्यका लागि जनचेतना वृद्धि पहिलो आवश्यकता हो।’ 

लैङ्गिक हिंसाविरुद्धको अन्तरराष्ट्रिय १६ दिने अभियानका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। गत आर्थिक वर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत ओसिएमसीबाट ११ हजार ४६ जनाले उपचार सेवा लिएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयकी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यले देशभरका विभिन्न ६० अस्पतालमा रहेका ओसिएमसीबाट १०‚४९१ महिला, ५२८ पुरुष र २७ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले स्वास्थ्य उपचार सेवा लिएको जानकारी दिइन्। गत आवमा शारीरिक अशक्तताका २‚४९९ मुद्दामा ओसिएमसीले स्वास्थ्य सहायता उपलब्ध गराएको हो।

कर्माचार्यका अनुसार केन्द्रमा सेवा लिन आउनेमा घरेलु हिंसाका पीडितको सङ्ख्या बढी छ। ‘गत आर्थिक वर्षमा सेवा लिने पीडितमा घरेलु हिंसाका पीडित धेरै हुनुहुन्छ। नाताभित्रबाट हिंसा बढी भएको देखिएको छ। त्यसमा पनि शारीरिक यातनाका घटना धेरै छन्’, उनले भनिन्।

ओसिएमसीबाट सहायता लिने पीडितमा सबैभन्दा धेरै ६५१ वटा सामाजिक हिंसाका पीडित छन्। त्यसबाहेक बालविवाहसम्बन्धी ३१८, बहुविवाहसम्बन्धी १३९, बालश्रमसम्बन्धी १८१ घटना छन्। साथै दाइजोसम्बन्धी १२२, बोक्सीको आरोपसम्बन्धी ४५, छाउपडीका १६५ र मानव बेचबिखनसम्बन्धी ६१ वटा घटना छन्। यसबाहेक अन्य कारणले १‚०८० हिंसा भएको मन्त्रालयको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.