|
फाइल तस्विर

काठमाडौं : सरकारले इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक पठाउन  छलफल अगाडि बढाएको छ।  कृषिमा  कामदार पठाउने विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अध्ययन समिति गठन गरी प्रक्रिया अगाडि बढाएको हो। 

इजरायल सरकारले आगामी जनवरीसम्ममा कृषि क्षेत्रमा एक हजारमध्ये ४०० जनालाई लैजाने बताएको छ। इजरायलले नेपाली श्रमिक माग गरेसँगै पहिलो चरणमा दुई देशबीच प्रारम्भिक छलफल भएको  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

गत महिना नेपाल र इजरायलबीच कृषि क्षेत्रमा श्रमिक पठाउने विषयमा छलफल भएको थियो। नेपाली श्रमिक कसरी पठाउने भन्ने विषयमा श्रम मन्त्रालयले अध्ययन समिति बनाएर काम अगाडि बढाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले जानकारी दिए।

मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा सात सदस्यीय टोली गठन गरेको थियो। सोही टोलीले अहिले छलफल गरिरहेको छ। केयर गिभरका लागि भाषा परीक्षा मार्फत कामदार लिइरहेको इजरायलले कृषि क्षेत्रकाश्रमिकलाई पनि यही प्रक्रियाबाट लैजानसक्ने वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त्त आचार्यले बताए।

कसरी पठाइन्छ कामदार ? 

इजरायल रोजगारीमा पठाइने कामदारलाई जीटुजी मार्फत नै पठाउने तयारी भएको विभागले जनाएको छ। सरकारले गठन गरेको टोलीले कृषि क्षेत्रमा जाने नेपाली श्रमिकको रोजगारी ग्यारेन्टी,सेवा सुविधा, पारिश्रमिक, रोजगार सुरक्षा र बिमाका विषयमा ‘ड्राफ्ट’ निर्माणको काम गरिरहेको छ। कृषिमा कस्ता श्रमिक आवश्यक पर्छ भनेर भर्ना प्रक्रिया र ड्राफ्टको संरचना नेपालले मागेको छ। चाँडै दुई देशका प्रतिनिधि बसेर टुंगो लगाउने मन्त्रालयले जनाएको छ।

‘इजरायलले भनेजस्तो श्रमिक तालिम गराएर पठाउने हो अथवा कृषिसँग सम्बन्धित श्रमिक पठाउने भन्ने छलफल भइरहेको छ’, आचार्यले भने। यसअघि केयर गिभरका लागि पठाउँदा जीटुजीमार्फत पठाएकाले यो पटक पनि यही प्रक्रियाबाट पठाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। 

कस्ता कामदार प्राथमिकतामा ? 

महानिर्देशक आचार्यले साधारण अंग्रेजी बोल्नसक्ने मापदण्डसहित कृषि क्षेत्रमा अनुभव भएकालाई प्राथमिकतामा राख्ने बताए। श्रमिक संख्या, न्यूनतम योग्यता, तालिम, छनोटको विधि, न्यूनतम पारिश्रमिक जस्ता विषयमा इजरायली टोलीसँग छलफल हुने छ।  

इजरायल जाने नेपालीले कति कमाउँछन्? 

इजरायल जाने नेपाली कामदारले प्रतिमहिना एक लाख ५० हजारसम्म कमाउने वैदेशिक रोजगार विभागले जनाएको छ। केयर गिभरका लागि इजरायल गएका श्रमिकको श्रम सम्झौतामा ९० हजार परिश्रमिक पाउने उल्लेख थियो। कृषि क्षेत्रमा जाने श्रमिकले मासिक एक लाख ५० हजार कमाउन सक्ने विभागले जनाएको छ।

इजरायल जाने श्रमिकका लागि स्वास्थ्य परीक्षण,बिमा र हवाइ खर्चलगायत गरी करिब ९५० डलर खर्च लाग्छ। कृषि क्षेत्रमा जाने श्रमिकको खर्च र श्रम अवधि उस्तै हुने श्रम मन्त्रालयले जनाएको छ।

किन रोकियो केयर गिभरको प्रक्रिया? 

गत वर्ष इजरायल र नेपालबीच भएको श्रम सम्झौतामा केयर गिभरका लागि एक हजार १७५ श्रमिक लैजाने सहमति भएकाे थियो। भाषा परीक्षा उत्तीर्ण गरेका एक हजार १०० श्रमिक रोजगारीका लागि इजरायल पुगिसकेका छन्। केयर गिभर भिसामा लैजान सहमति भएका एक हजार १७५ मध्ये ५६ श्रमिक इजरायल जान पाएका छैनन्। उनीहरूलाई पनि पठाउन पहल भइरहेको विभागले जनाएको छ।

इजरायल सरकारले केही महिनायता विदेशी श्रमिकका लागि नयाँ नीति ल्याएका कारण पनि ५६ जना श्रमिकको प्रक्रिया रोकिएको विभागको भनाइ छ। गत चैत महिनादेखि असारसम्म इजरायलले नेपाली श्रमिक लिने प्रक्रिया रोकेको थियो। ​इजरायलस्थित परराष्ट्र मन्त्रालयका कर्मचारीले श्रम सम्झौताको विषयलाई लिएर आन्दोलन गरेका कारण उसले नेपाली श्रमिक लग्न छाडेको बताइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.