|

काठमाडौं : प्रतिनिधिसभाको प्रत्यक्षमा सबै १६५ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएसँगै सरकार निर्माणका लागि बहुमत जुटाउने खेल पनि सुरू भएको छ।

समानुपातिकको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा सत्ता गठबन्धनभित्र सरकार निर्माणका लागि बहुमत जुटाउने प्रयास सुरू भएको हो। 

सत्ता गठबन्धनबाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसको ५७ सिट, नेकपा माओवादी केन्द्रको १८, नेकपा एकीकृत समाजवादी १० र राष्ट्रिय जनमोर्चाले एक सिट ल्याएका छन्। यस्तै सत्ता गठबन्धनको सहयात्री दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रत्यक्षमा चार सिट पाएको छ। समानुपातिकको मतगणना जारी रहे पनि पछिल्लो नतिजाअनुसार कांग्रेसले ३२ र नेकपा माओवादी केन्द्रले १५ सिट पाउने सम्भावना छ। 

यसरी हेर्दा गठबन्धनसँग सरकार निर्माणका लागि आवश्यक पर्ने बहुमत १३८ सिटमध्ये १३७ सिट पुग्ने देखिएको छ।

सिके राउत नेतृत्वको जनमत पार्टी पनि सरकारमा सहभागी हुने भएको छ। सप्तरी–२ बाट प्रत्यक्ष निर्वाचन जितेका राउत केही दिनयता काठमाडौंमा राजनीतिक भेटवार्तामा व्यस्त छन्।

उनले गठबन्धनमा आबद्ध दलका नेताहरुसँग दिनहुँ भेटवार्ता गरिरहेका छन्। ती नेताहरूसँगको भेटमा उनले सरकारमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टीले समानुपातिकमा चार सिट पाउने सम्भावना छ। गठबन्धनले अन्य दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि संवाद गरिरहेको छ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा सहभागी हुने तयारीमा छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार नेकपा एमालेसँगको चुनावी एकता तोडिएको घोषणा गरे। उनले एमालेसँगको सहकार्य तोडेको घोषणा गरेसँगै सत्ता गठबन्धनमा सहभागी हुने सम्भावना बढेको छ। 

प्रचण्डको सन्देश : पहिलो कार्यकाल म चलाउँछु

सरकार गठनका लागि गठबन्धनलाई बहुमत जुटाउन सहज देखिए पनि प्रधानमन्त्री को बन्ने भन्ने विषय सजिलै टुंगिने देखिँदैन। ठूलो दलको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्रीमा दाबी गर्दैछन्। उनलाई उनकै पार्टी भित्र बाट महामन्त्री गगन थापालगायतले संसदीय दलको नेता चयनमै चुनाैती दिँदैछन्। 

उनी संसदीय दलको नेता चयन भए पनि प्रधानमन्त्री बन्न भने सहज छैन। किन भने सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन्। 

प्रचण्डले आलोपालो प्रधानमन्त्री हुनुपर्ने र पहिलो कार्यकाल सरकारको नेतृत्व आफूले गर्ने संकेत दिएका छन्। सोमबार बिहान आफूसँग भेट गर्न खुमलटार पुगेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई सरकारको पहिलो कार्यकाल आफूले सम्हाल्ने सन्देश प्रचण्डले दिएका हुन्। 

‘अध्यक्ष कमरेडले पहिलो कार्यकाल आफूले सरकारको नेतृत्व गर्ने बताउनुभएको छ। पहिलेदेखि नै गठबन्धन भएको नाताले हाम्रो दाबी स्वभाविक हो,’ प्रचण्ड निकट एक नेताले भने। 

यस्तै गत मंसिर १५ गते सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्डले भनेका थिए, ‘यही गठबन्धनलाई कायम राखेर अघि बढ्ने हो। पहिलो प्रधानमन्त्री भने मै बन्ने हो।’ 

कांग्रेस सकारात्मक

नेपाली कांग्रेसभित्र प्रचण्डलाई पहिला प्रधानमन्त्री दिनुपर्छ भन्नेमा एकमत हुने संभावना देखिँदैन। यद्यपी सभापति शेरबहादुर देउवा नै यस विषयमा लचक हुनसक्ने संकेत देखिएको छ। 

देउवा निकट नेताहरू सरकारको नेतृत्वमा माओवादी केन्द्रको दाबीलाई स्वभाविक मान्छन्। कांग्रेस सांसद राजन केसी गठबन्धन गरेर निर्वाचनमा झण्डै बहुमत आएको उल्लेख गर्दै ‘पावर सेयरिङ’ गरेर जानुपर्ने बताउँछन्।

‘गठबन्धन गरेर जाँदा हामीले झण्डै बहुमत ल्याएका छौं। गठबन्धनभित्र भएको दलको हैसियतले उहाँ (प्रचण्ड)ले दाबी गर्नु स्वभाविक हो। अहिलेको परिस्थितिमा दलहरू मिल्नुको विकल्प छैन,’ उनले भने, ‘निर्वाचनका बेला संविधानको रक्षा, स्थिर सरकार बनाउने कुरामा जोड दिएका थियौं। अहिले त्यसलाई कार्यान्वयन गर्नका लागि आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्नुपर्ने हुन्छ।’

नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले पनि माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गर्नु स्वभाविक भएको बताए। उनले भने, ‘डेढ वर्षदेखि गठबन्धन गरेर सरकारको सहयात्री रहेको दलले प्रधानमन्त्रीमा दाबी गर्नु स्वभाविक हो। गठबन्धनको दोस्रो ठूलो दलको हैसियतले यसलाई नकारात्मक रुपले हेरिनु हुन्न। पावर सेयरिङ गरेर जानुपर्छ। प्रचण्ड र देउवाजीले आलोपालो सरकार चलाउनुपर्छ।’ 

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी भने प्रधानमन्त्रीमा माओवादी केन्द्रको दाबी सौदाबाजी मात्रै भएको दाबी गर्छन्।  

‘कांग्रेस ठूलो पार्टीको नाताले र गठबन्धनमा आबद्ध सबै दलहरूलाई सन्तुलित हिसाबले लैजान सक्ने क्षमता भएकोले सरकारमा हाम्रो दाबी रहन्छ। निर्वाचन परिणामको हिसाबले तेस्रो दल भएको नाताले माओवादीलाई सरकारको नेतृत्व गर्ने हैसियत रहँदैन। माओवादीको यो सौदाबाजी मात्रै हो।’

चुनावअघि अरूलाई, चुनावपछि आफू !

प्रचण्डले चुनावी प्रचारप्रसारका क्रममा आफू मात्रै प्रधानमन्त्री बन्छु भनेनन्– अन्य नेताहरूलाई पनि प्रधानमन्त्री बनाउने आश्वासन बाँड्दै हिँडे। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला र माओवादी नेतृ ओनसरी घर्तीसम्म प्रधानमन्त्री बनाउँछु भन्न भ्याए। 

उनले डडेलधुरामा पुगेर देउवा नै फेरि प्रधानमन्त्री बन्ने बताएका थिए। त्यसपछि विराटनगरमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा कोइराला प्रधानमन्त्री हुनसक्ने बताए। त्यस्तै तनहुँमा पुगेर पौडेललाई र काठमाडौं–२ को चुनावी सभामा घर्तीलाई संभावित प्रधानमन्त्रीका रुपमा अघि सारे। 

निर्वाचन प्रचारप्रसारका क्रममा ‘उम्मेदवारहरूलाई प्रधानमन्त्री’ बनाउने आश्वासन बाँड्दै हिँडेका प्रचण्ड अहिले आफैं प्रधानमन्त्रीको दौडमा छन्। २०७८ असारमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका प्रचण्डले यसपटक कांग्रेसले आफूलाई सहयोग गर्नुपर्ने बताउने गरेका छन्।

मओवादी केन्द्रका महासचिव देव गुरूङ भने सरकारको नेतृत्वमा पार्टीको दाबी तत्कालै नरहेको बताउँछन्। सरकारको नेतृत्वमा दाबी गर्नु स्वभाविक भए पनि अहिले नै दाबी नगरिएको उनले बताए। 

‘संविधान निर्माणदेखि अहिलेसम्मको कुरा हेर्दा सरकारको नेतृत्वमा हाम्रो दाबी स्वाभाविक हुन्छ, त्यो दाबी रहन्छ नै। अहिले हामी गठबन्धनमा त्यही विषयमा छलफलमा जुट्दैछौं,’ उनले भने। 

माओवादी केन्द्रका नेता राम कार्कीले गठबन्धनका कारण शेरबहादुर देउवाले झण्डै १८ महिना सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूको दाबी स्वभाविक भएको बताए। 

‘गठबन्धनको सहयोगमा नेपाली कांग्रेसले लामो समय सरकारको नेतृत्व गरेको छ। यसपटक हामीले पाउनुपर्छ। संख्याको हिसाबले हेर्ने हो भने हिजो शेरबहादुरजी प्रधानमन्त्री हुँदा उहाँहरूको संख्या कति थियो ?,’ उनले प्रश्न गरे। 

नेता कार्कीले प्रवक्ता कृष्णबहादुर महराले भनेजस्तो अन्य दलहरूसँग विकल्प खुला राख्ने निर्णय नभएको पनि बताए। 

‘प्रवक्ताले गलत इन्फरमेसन दिनुभएको हो। यसबारेमा हिजो महासचिवले पनि भन्नुभएको छ। बैठकमा कुरै उठेको छैन। यही गठबन्धनलाई निरन्तरता दिन्छौं,’ उनले भने। 

शुक्रबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि प्रवक्ता महराले संचारकर्मीलाई सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय भएको जानकारी गराएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.