|

काठमाडौं : घुस तथा रिसवत लिई भ्रष्टाचार गरेका ४ वटा मुद्दामा विशेष अदालतले आरोपीहरूलाई सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

विशेष अदालतको फैसला चित्त नबुझेकाले आज सर्वोच्चमा पुनरावेदन दिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

विशेष अदालतले ९६ हजार ३ सय रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएका आरोपी हुकुमबहादुर ओलीलाई सफाई दिएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको हो।

अख्तियारले आरोपित र उजुरीकर्ताबीच भएको अडियो कुराकानीमा बार्गेनिङ र रकम मागेको देखिएको तथा घुस रकम रंगेहात पक्राउ परेकाले सफाइ दिन नहुने तर्क गरेको छ।

अदालतबाट सफाई पाएका भ्रष्टाचारका आरोपी शिवशंकर महतोको मुद्दामा पनि आयोगले पुनरावेदन गरेको छ। अदालतले सफाई दिएका भ्रष्टाचारका आरोपी हरिचन्दर ठाकुर र अरुणकुमार यादवविरुद्धको मुद्दामा पनि पुनरावेदन गरेको आयोगले जानकारी दिएको छ। 

यसअघि मंसिर ८ गते पनि घुस/रिसवत मुद्दाकै फैसलामा अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको बताएको छ। १० हजार रूपैयाँ बिगो कायम गरी प्रतिवादी बनाएको खेमराज चौधरीलाई अदालतले सफाई दिएपछि अख्तियार सर्वोच्चमा पुगेको हो।

४ वटै मुद्दाका आरोपीहरूविरुद्ध पर्याप्त प्रमाण हुँदाहुँदै पनि विशेष अदालतले सफाई दिएको दाबी आयोगले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.