काठमाडौं : गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। १६५ वटै क्षेत्रको अन्तिम मत परिणाम सोमबार सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगको तथ्यांकअनुसार प्रतिनिधिसभा निर्वाचनमा अधिकांश क्षेत्रमा चुनाव जित्नेमध्ये पुरुष उम्मेदवारको बाहुल्यता देखिएको छ।
आम निर्वाचन २०७९ मा १२ वटा राजनीतिक दल र स्वतन्त्र गरी १६५ जना विजयी भएका छन्। महिलाकाे उम्मेदवारी दिने क्रममै कमजोर स्थिति रहेकोमा निर्वाचित संख्या अझै न्यून भएको हो।
सबै राजनीतिक दलबाट झण्डै ५ प्रतिशत अर्थात् ९ जना मात्र महिला उम्मेदवार निर्वाचित भएका छन्।
झण्डै ९५ अर्थात् प्रतिशत १५६ जना पुरुष उम्मेदवारले चुनाव जितेका छन्।
नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ५७ सिट जित्दा प्रत्यक्षमा १ जनामात्र महिला निर्वाचित भएकी छन्। युवा नेतृ सीता गुरुङले तेह्रथुमबाट जित हासिल गरेकी हुन्।
यस्तै ४४ सिटसहित दोस्रो दल बनेको नेकपा एमालेबाट ४ जनामात्र महिला उम्मेदवार विजयी भएका छन्। एमालेबाट चुनाव जित्नेमा विद्या भट्टराई, ज्वालाकुमारी साह, जुलीकुमारी महतो, भगवती चौधरी छन्।
१८ सिट जितेको नेकपा माओवादी केन्द्रबाट १ जनामात्र महिला उम्मेदवार विजयी भएकी छन्। माओवादीबाट रेखा शर्मा निर्वाचित भएकी छन्।
सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना महिला उम्मेदवार निर्वाचित भएका छन्।
कूल ७ सिट जितेको रास्वपाबाट सोविता गौतम र डा तोसिमा कार्कीले प्रत्यक्षमा चुनाव जितेका हुन्।
३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरीले चुनाव जितेकी छन्।
प्रत्यक्षमा थोरै महिला उम्मेदवार विजयी भए पनि संविधानतः हरेक दलबाट संसदमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य छ। त्यसकारण समानुपातिकमा दलहरूले महिलाको प्रतिशत पुर्याउन सिफारिश गर्ने अनुमान छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।