|

नेपाली राजनीति एकातिर गतिशील देखिन्छ भने अर्कोतिर रहस्यमय रूपमा विकास हुँदै गएको देखिन्छ। राज्य सञ्चालनको आधार स्तम्भको रुपमा अर्थात् समाज विकासको प्रमुख भूमिकामा राजनीतिक सैद्धान्तिक आधारलाई मान्न सकिन्छ।

त्यस्तै, अर्को महत्वपूर्ण पक्ष भनेको नेतृत्वको व्यवहार इमान्दारी हो। यसर्थ देशको समृद्धि, सुशासन र समग्र पक्षको विकास कसरी गर्ने भन्ने मुख्य दायित्व सत्ता सञ्चालन गर्ने राजनीतिक दलमा नै निर्भर रहने गर्दछ।

नेपाली इतिहासमा राजनीतिक कालखण्डहरूको राम्रोसँग अध्ययन मात्रै गर्ने हो भने पनि राजनीतिको बारेमा सहजै बुझ्‍न सकिन्छ।

राजपरिवारको आन्तरिक कलहको उपयोग गर्दै सत्ता हत्याउने जंगबहार राणाको काम पनि एउटा राजनीतिक कदम थियो। अनि त्यो बर्बर र तानाशाही बन्दै अघि बढेको राणा शासनविरुद्ध गरिएको आन्दोलन र बलिदानीहरू पनि राजनीतिको अर्को रूप नै थियो।

हिजो तानाशाहबाट फुत्किन गरिएका सबै आन्दोलन तथा संघर्षहरू सबैको एउटै लक्ष्य मुक्ति पाउनु थियो। राणा शासनको उत्तरार्धमा आइपुग्दासम्म नेपाली समाजमा राजनीतिक सैद्धान्तिक विषयहरूको उठान हुन सुरु भएको पाइन्छ।

यसलाई नेपालको राजनीतिक सैद्धान्तिक आधारको युगको रूपमा लिन पनि सकिन्छ।

नेपाली राजनीतिका हस्ति स्व. विश्वेश्वरप्रसाद कोइरालाले मार्क्सवाद अध्ययन गरेर आफ्नो धारणासँग समायोजन गर्दै प्रजातान्त्रिक समाजवादको अवधारणा अघि सारेका थिए। यससँगै कांग्रेसले राजतन्त्रात्मक शासन स्वीकार गर्दै अघि बढ्यो।

अर्कोतर्फ आफ्ना दाजु गंगालाल श्रेष्ठ लगायतका चार जनाको हत्याबाट आक्रोशित पुष्पलालले जहानियाँ र उत्तराधिकारवाला शासन सधैँका लागि रोक्न अघि सारेको गणतन्त्र र कम्युनिज्मको सैद्धान्तिक आधारका साथ कम्युनिष्ट आन्दोलन अघि बढ्यो।

योसँगै राजनीतिक विचार र सिद्धान्तको हिसाबमा नेपाल दुई फरक धारमा विभाजन भयो।

जहानियाँ र उत्तराधिकारवाला सरकार र पुस्तान्तरणमा गलत मान्छेको हातमा शासन पर्‍यो भने मुक्ति पाउने काम फलामको च्युरासरह हुने व्याख्याका साथ वि.सं २००६ सालमा स्थापना भएर अघि बढेको कम्युनिष्ट आन्दोलनलाई आन्दोलित पार्दै गणतन्त्र स्थापनाका लागि राजतन्त्रलाई चुनौती दिने काम स्व.मदन भण्डारीले गरे।

अनपेक्षित रुपमा उनको रहस्यमय मृत्युपश्चात् नेपाली कम्युनिष्ट आन्दोलनमा सन्नाटा छायो।

शान्तिपूर्ण तवरले राजतन्त्र हटाउन नसकिने निष्कर्षका साथ २०५२ साल फाल्गुन १ गते नेकपा माओवादी पार्टी नामको फरक दलको स्थापना भयो। यसले राजतन्त्रलाई चुनौती दिँदै हिंसात्मक राजनीतिक यात्रा सुरु गर्‍यो।

यो अवधि नेपाली नागरिकको जीवन काहालिलाग्दो रूपमा बित्यो। यस अवधिमा नेपालमा क्रियाशील कम्युनिष्ट दलहरूबीच पनि निकै टसमस देखियो। त्यस समयमा जर्जर बन्दै गएको राजतन्त्रात्मक शासनले अन्य दलहरूलाई समेत राजनीतिमा निषेधको अवस्थामा पुर्‍याएको थियो।

त्यसकारण क्रियाशील अन्य दल र नेकपा माओवादी पार्टीको संयुक्त प्रयासको अवसर मिल्यो र राजतन्त्रमा पूर्णविराम लाग्यो।

कम्युनिष्ट पार्टी स्थापना कालदेखि आजसम्मको इतिहास हेर्ने हो भने नेपालमा कम्युनिष्ट पार्टी भन्नु नै कडा स्वभाव र प्रवृत्ति हो र यिनीहरू फुट्नु स्वाभाविक नै हो भन्ने जस्तो देखिन आएको छ। तर, प्रश्न कहाँनेर हो भने फुट्नैपर्ने चाँहि किन? विचार नमिलेर हो भने मार्क्सवाद एकभन्दा बढी छ र? मार्क्सवाद विकासको लागि हो कि कार्यान्वयनको लागि?

यसरी हेर्ने हो भने सिद्धान्त त मार्क्सवाद एउटै हो। मार्क्सवाद मान्ने कि नमान्ने भन्ने कुरा फरक पाटो हो। तर, मार्क्सवाद सैद्धान्तिक आधारमा समाजको विकास गर्ने समान विचार भए त किन टुटफुट र विवाद? भन्ने प्रश्न मुख्य हो। यसका मुख्य तीन कारणहरू गन्तव्य, दिशा र पदीय अभिलाषा हुन्। 

कम्युनिष्ट आन्दोलनको सुरुवाती चरणमा बैचारिक बहस नै मुख्य देखियो। गणतान्त्रिक समाजवादसम्म कसरी पुग्ने भन्ने पहिलो बहस थियो। र हाम्रो देशमा त्यो व्यवस्था कार्यान्वायन गर्न कतिको सहज छ भन्ने अर्को बहस थियो। 

भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनले देखाएको ताजा सन्देश बुझ्ने हो भने पुराना पार्टी र पाका नेताप्रति विकर्षण देखियो। यो दलहरूलाई चुनैतीको रुपमा अघि सरेको विषय हो। तर, यही समाजमा विशिष्ट योगदान रहेको राजनीतिक व्यक्तिहरूलाई उपेक्षा गर्दैमा राज्यले कायापलट नै गर्ने पनि होइन।

बहस गर्ने, जनतालई सचेत र सुसुचित गराउने अध्ययन गर्ने, गराउने लगायतका काममा कम्युनिष्ट समर्थकहरूको लामो समय गुज्रियो। 

अहिले कम्युनिष्ट नामका ठूला तथा साना भनिएका दलहरू अनगिन्ति छन्। सबै कम्युनिष्टहरू एकै ठाउँमा उभिने हो भने स्पष्ट बहुमतमा पुगेर सरकारको बागडोर सञ्चालन गर्ने सुनिश्चित छ। कम्युनिष्ट सिद्धान्तअनुरूप देशको शासन सञ्चालन गर्ने हो भने सबैभन्दा उपर्युक्त समय यही नै हो। तर, सबैभन्दा वर्ग शत्रु अर्को कम्युनिष्ट दललाई मानेर आरोपप्रत्यारोप र गालीगलौजमा उत्रिएको देखिन्छ। यो नै नेपाली राजनीतिको विडम्बना बनेको तीतो यथार्थ हो।

यदि ती सबै कम्युनिष्ट पार्टीहरूको सैद्धान्तिक आधार मार्क्सवाद नै हो भने सबै एकै ठाउँमा बसेर बहस गर्न ढिला भइसक्यो। अहिले वर्तमानको अवस्था भनेको पदको लागि घिनलाग्दा हर्कत गर्न पनि पछि परेका देखिँदैनन्। हिजो विचारमा कुरा नमिलेर पार्टी फुटाउने संस्कार थियो। आज पदीय भागबण्डा नमिलेर पार्टी फुटाउँदा कुनै अप्ठेरो मान्न छाडिसके।

मुख्य कुरा त सुरुमा राजतन्त्र सहितको लोकतान्त्रिक समाजवादको अवधारणामा अघि बढ्ने नीति लिएको नेपाली कांग्रेस र गणतन्त्रात्मक शासन व्यवस्थामा समाजवाद भन्ने अवधारणामा अघि बढ्ने नीति लिएका कम्युनिष्टहरूबीच फरक मतमा लडाइँ देखिन्थ्यो। तर, अहिले नेपाली कांग्रेस पनि राजतन्त्रात्मक शासन त्यागेर गणतन्त्रात्मक शासन स्वीकार्दै अघि बढिसकेको छ।

यसर्थ कम्युनिष्ट मात्र नभनी कस्तो मोडेलको समाजवाद आवश्यक हो त भनेर बहस गर्न सबै जम्मा हुँदा पनि फरक पर्ने देखिँदैन।

नेपाल सम्भावना नै सम्भावना बोकेको राष्ट्र हो। यहाँ प्राकृतिक स्रोतसाधन मात्र नभएर मानव स्रोत साधनमा समेत आदर्श अवस्था छ भन्न सकिन्छ। तर, प्राकृतिक स्रोतहरू उपयोगविहीन भएका र मानव स्रोत साधन रोजगारीको नाममा विश्व बजारमा किनबेचको अवस्थामा छन्।

मानिसका जीवनसँग जोडिएका पारिवारिक तथा अन्य शारीरिक असमर्थताका कारण हुने मानवीय समस्याहरू कसरी सहजीकरण गर्ने भन्ने अर्को सवाल हो। 

भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनले देखाएको ताजा सन्देश बुझ्ने हो भने पुराना पार्टी र पाका नेताप्रति विकर्षण देखियो। यो दलहरूलाई चुनैतीको रुपमा अघि सरेको विषय हो। तर, यही समाजमा विशिष्ट योगदान रहेको राजनीतिक व्यक्तिहरूलाई उपेक्षा गर्दैमा राज्यले कायापलट नै गर्ने पनि होइन।

आजको यो मैदानमा सहजै खेल्न पाउने व्यवस्था ल्याउने पनि त तिनै पाका नेताहरू  नै त हुन् नि। तसर्थ सहजै उपेक्षा गर्न पनि मिल्दैन।

अबको मुख्य आवश्यकता ती खारिएका विचारहरूको उपयोग गर्ने र जोसिला पुस्तालाई काममा लगाउने हो। राजनीति समाजसेवा हो। तसर्थ पद र सत्तालाई पालो पुर्‍याउनेको रूपमा लिन हुँदैन। यसको लागि पुराना विचार मिल्ने अधिक दलका पुराना नेताले पदीय पालो पुगेन नभनी देशको आवश्यकताको बहस गर्न एउटा थलोमा जम्मा हुने बेला आएको छ।

त्यस्ता धेरै पार्टीका धेरै विशिष्ट नेताहरूले स्थान पाउने एउटा विचार केन्द्र निर्माण  गर्नुपर्ने आजको समयको माग देखिन्छ। यसरी बनेको बौद्धिक केन्द्रबाट मन्थन भएर निस्किएका विचार कार्यान्वयनको जिम्मा सक्रिय पुस्तालाई दिने, अनुगमन गर्ने, सहजीकरण गर्ने, संश्लेषण गर्ने र नियन्त्रणको फरक अवधारण अघि सार्नु आजको अनिवार्य आवश्यकता बनेको छ।

सारमा के भन्न सकिन्छ भने खारिएका पाका बौद्धिक नेताहरूको विचार उपयोग गर्दै जोसिला युवा पुस्तालाई समृद्ध नेपाल निर्माणमा अघि सार्नु आजको आवश्यकता हो। र, दल तथा प्रतिनिधिका सिद्धान्त आदर्श र नीतिबमोजिम अघि बढ्न र सुशासन र विकासको खबरदारी गर्न सबै नागरिकहरू सचेत रहनैपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.