|

काठमाडौं : मंगलबार राति विश्वकप फुटबलको क्वाटर फाइनल समीकरण पूरा हुँदै छ। पहिलो खेलमा क्वाटर फाइनल प्रवेशका लागि मोरक्को र स्पेन भिड्दै छन्। 

फिफा वरीयतामा २२ औँ स्थानमा रहेको मोरक्को र ७ औँ स्थानमा रहेको स्पेन यसअघि तीनपटक आमुन्ने सामुन्ने भएका छन्। सन् १९६१ मा विश्वकप छनोट खेलअन्तर्गत भएका दुई खेलमा स्पेन १-० र ३-२ गोल अन्तरले विजयी भएको थियो। त्यसपछि २०१८ को विश्वकपमा भेट भएका दुई देशले २-२ गोलको बराबरी खेल खेलेका थिए। 

१६ पटक विश्वकप खेलिरहेको स्पेनलाई उपाधिको बलियो दाबेदार पनि मानिएको छ। २०१० को विश्वकप विजेता स्पेन २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ मा प्रि क्वाटर फाइनलबाट बाहिरिएको थियो। 

जारी विश्वकपमा स्पेनले समूह चरणका तीन खेलमध्ये एकमा जित, एकमा बराबरी र एकमा पराजित हुँदै चार अंक सहित समूह ‘ई’ को उपविजेताका रूपमा अन्तिम १६ मा स्थान बनाएको हो। समूह चरणमा कोस्टारिकासँग प्रतियोगिताकै सबैभन्दा ठूलो ७-० गोल अन्तरको जित निकाल्दा जर्मनीसँग बराबरी खेलेको स्पेन जापानसँग २-१ ले पराजित भएको थियो। 

त्यस्तै छैटौँपटक विश्वकप खेलिरहेको मोरक्कोले दोस्रोपटक समूह चरण पार गरेको हो। यसअघि १९८६ मा पहिलो पटक अन्तिम १६ मा स्थान बनाएको मोरक्को त्यसपछि सहभागी भएका १९९४, १९९८ र २०१८ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो। 

विश्वकप र दुई टोलीको खेलको इतिहास हेर्दा धेरैले खेल स्पेनको पक्षमा जाने आँकलन गरे पनि समूह ‘एफ’को विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको मोरक्कोलाई स्पेनले कम आँक्ने गल्ती गर्नेछैन। समूह चरणमा क्रोएसियासँग गाेलरहित बराबरी खेलेको मोरक्कोले बेल्जियम र क्यानडाविरुद्ध २-० को जित निकालेको थियो। यस्तोमा क्वाटर फाइनल प्रवेशका लागि हुने खेल प्रतिस्पर्धात्मक हुने देखिन्छ। 

स्पेनका अल्वारो मोराता तीन खेलमा ३ गोलसहित गोल्डेन बुट रेसमा दोस्रो नम्बरमा छन्। जो मोरक्कोका लागि खतरा साबित हुन सक्छन्। साथै तीन खेलमा दुई गोल गरेका फेरन टोरेसलाई पनि मोरक्कोले प्लेअर टु वाचको सूचीमा राख्नेछ। त्यस्तै स्पेनले मोरक्कोका रोमन सेइस र जाकारिया अवोखलाललाई ध्यान दिनुपर्ने खेलाडीको सूचमा राख्नेछ। दुवै खेलाडीले फिफा वरीयताको दोस्रो नम्बरमा रहेको बेल्जियमलाई हराउन अन्तिम समयमा निर्णायक गोल गरेका थिए। 

स्पेन र मोरक्कोमध्ये पराजित टोलीको कतार विश्वकपमा यो नै अन्तिम खेल हुनेछ भने विजयी टोलीले स्वीजरल्याण्ड र पोर्चुगलबीचको खेलको विजयी टोलीसँग क्वाटर फाइनलमा भिड्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.