|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यही मंसिर २३ गते शुक्रवार ४८ औँ दीक्षान्त समारोह आयोजना गर्दै छ। दीक्षान्त समारोह पुल्चोक क्याम्पस, पुल्चोकको खेलमैदानमा आयोजना हुने छ। जसका लागि अहिले त्रिविले परीक्षा नियन्त्रण कार्यालयको चौरमा समारोहमा सहभागी हुने विद्यार्थीलाई धमाधम गाउन/स्कार्फ/टोपी बाँडिरहेको छ।

मंसिर १५ गतेदेखि २२ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म वितरण गरिने त्रिविले जनाएको छ। मंगलबार गाउन/स्कार्फ लिनेको निकै भीड थियो। दीक्षित हुन पाउने भएपछि त्यहाँ भेटिएका राजीव कुँवर निकै खुसी देखिन्थे। उनी सोही विश्वविद्यालयको भौतिक शास्त्र विषयबाट माष्टर्स सकेर दीक्षित हुँदै छन्।

‘शुक्रबार दीक्षित हुँदै छु,अहिलेबाटै निकै उत्साहित छु,आज गाउन/स्कार्फ पनि लिइसकेँ‚ खुसी लागेको छ’‚ मुस्काउँदै उनले थाहाखबरसँग भने। ललितपुरका कुँवर शिक्षामा लगाव भए आफूले इच्छाएको सपना प्राप्त गर्न सकिने बताउँछन्। उनी भन्छन्, ‘उच्च शिक्षा पढेर यसरी दीक्षित हुने सानैदेखि सपना थियो। मेरो मेहनत र परिश्रमले यो अवसर पाएको छु,ब्याचलरमा पनि दीक्षित भएँ। पुनः माष्टर्स सकेर पनि दीक्षित हुन पाउने सफलता मिल्यो।’

अहिले पढिरहेका अन्य विद्यार्थीहरूलाई ध्यान दिएर पढ्न उनी सुझाउँछन्। ‘पढाइबिना जीवन अधुरो छ। त्यसैले भाइबहिनीहरूलाई राम्रोसँग पढेर सफलता प्राप्त गर्नु भन्छु’‚ उनले भने। उच्च शिक्षा हासिल गरे पनि सोचेजस्तो नेपालमा रोजगार नमिल्नु दुःखद रहेको दुखेसो पोख्छन्।

‘यो दीक्षान्तले उच्च शिक्षामा जोडिने प्रेरणा मिल्छ’

त्यही गाउन/स्कार्फ लिन आएका आशिष भण्डारी पनि दीक्षित हुन पाउँदा खुसी व्यक्त गरे। पोखराका उनी ब्याचलरमा इन्जिनियरिङ सकेपछि दीक्षित हुँदै छन्।

                                                दीक्षान्त समारोहमा सहभागी हुन गाउन/स्कार्फ र टोपी लिँदै विद्यार्थीहरू

‘सानैबाटको मेरो सपना अब पूरा हुँदै छ’‚ उनले भने। आगामी शुक्रवार दीक्षितमा सहभागी हुने शिव गौतम त्रिविको यो दीक्षान्त समारोहले उच्च शिक्षाका लागि अरू विद्यार्थीहरूलाई जोड्न प्रेरणा मिल्ने बताउँछन्।

उनी भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट मानविकी संकायबाट स्नातक हुन्। हाल उनी त्रिविको केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग​मा स्नातकोत्तर तह दोस्रो सेमेस्टरमा अध्ययनरत छन्।

दीक्षित हुन लाग्दा खुसी व्यक्त गर्दै उनले भने, ‘विश्वविद्यालयबाट दीक्षित हुनु भनेको गर्वको कुरा हो। उच्च शिक्षा हासिल गर्ने सपना साकार भएको अर्थमा पनि ’टोपी’ लगाउन विद्यार्थीहरू लालायित हुन्छन् जस्तो लाग्छ। त्रिविको ४८ औँ दीक्षान्त समारोहमा भाग लिन लागेकोमा उत्साहित छु।’
त्रिविले अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गराउने र गर्ने जनशक्ति उत्पादन गरेको उनले बताए। 

११ हजार दीक्षित हुँदै, दुर्गादत्त पाठक स्वर्ण पदक

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह नियन्त्रक महेशराज ओझाले आगामी शुक्रवार करिब ११ हजार विद्यार्थी दीक्षित हुने जानकारी दिए। उनका अनुसार पिएचडी,माष्टर्स र ब्याचलर सकेका विद्यार्थीहरू दीक्षित हुने छन्। त्रिविले १३ गते नै दीक्षान्त पदकहरूको नामावली प्रकाशन गरेको छ।

प्रकाशन भएकाे नामावलीमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उपप्रा. हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन संकायअन्तर्गत एमफिल तहमा दुर्गादत्त पाठकले सर्वोत्कृष्ट अंक प्राप्त गरेका छन्।

उनले ४ सिजीपिए अंक प्राप्त गर्न सफल भएका छन्। श्री इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत एमबीए तहमा रिस्ता श्रेष्ठले ३.९५ सिजीपिए अंक प्राप्त गरी ल्याएकी छन्।

उनीहरूजस्तै ४० जनाभन्दा बढी विद्यार्थीले यो दीक्षान्त समारोहमा विभिन्न विधामा पदक पाउनेछन्। समारोहमा सहभागी विद्यार्थीहरूले गाउन/स्कार्फ/टोपी पहिरी शुक्रबार बिहान १० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.