अभियन्ता भन्छन् :खुलामञ्चमा हस्तक्षेप हुन दिँदैनौ

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको सवारी चाप व्यवस्थापन गर्न भन्दै आज भन्दा ७ वर्षअगाडि शिलान्यास गरेको काठमाडौं भ्यू टावर अलपत्र छ। ठेकेदार कम्पनी र काठमाडौं महानगरको ढिला सुस्तीका कारण निर्माण हुन नसकेको हो।  

वर्षाै‌देखि अलपत्र टावर निर्माण नसकिँदै महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अगाडि बढाएको छ। यसअघि अस्थायी बसपार्कको रूपमा प्रयोग गरिएको खुलामञ्चमा भूमिगत पार्किङ निर्माणका लागि डीपीआर तयार गर्ने लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ। 

अलपत्र रहेको टावर निर्माणलाई तीव्रता नदिई खुलाञ्चमा पार्किङ बनाउन नहुने भन्दै अभियन्ता विरोधमा उत्रिएका छन्। कात्तिक २०७२ कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले  काठमाडौं भ्यू टावरको शिलान्यास गरेका थिए। फागुन २०७५ मा निर्माण सम्पन्न गर्ने गरी सुरुवात गरिएको भ्यू टावर निर्माणको काम अझै सकिएको छैन। 

पुरानो बसपार्कको २३ रोपनी ५ आना जग्गामा महानगरपालिकाले अत्याधुनिक सुविधा सम्पन्न टावर निर्माण गर्न जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले ठेक्का लिएको थियो। ५ वर्षमा सम्म्पन्न गर्ने योजनाका साथ अघि बढाएको योजना हालसम्म पुरा हुन सकेको छैन। दुई तलाको भूमिगत पार्किङ,सपिङ सेन्टर, सिनेमा हल, डिस्को,स्विमिङ पुलदेखि सुविधा सम्पन्न होटल र रेस्टुराँ समेत निर्माण गर्ने सम्झौता भएको थियो। २९ तले भ्यू टावर निर्माण गर्ने  योजनाअनुसार काम शुरु गरिएको थियो। यतिवेला टावरको १२ तल्लाको ढलान भइरहेको महानगरपालिकाले जनाएको छ। 

२९ तलाको भ्यू टावर निर्माण गर्ने गरी काठमाडौं महानगरपालिका र स्वच्छन्द बिकोई बिल्डर्सबीच सम्झौता भएको थियो। पहिलो चरणको १२ तला निर्माण गर्ने काम अन्तिम चरणमा रहेको महानगरका मेयरको सचिवालय प्रमुख महेश काफ्लेले बताए। भवन निर्माणको मापदण्ड परिवर्तन भएकाले अब कसरी अघि बढ्ने अर्थात् २९ तला निर्माण गर्न दिने नदिने भन्ने विषय छलफल भइरहेको महानगरको भनाइ छ। 

भ्यू टावर निर्माणमा ढिलाइ भएको काठमाडौँ महानगरपालिकाले स्वीकार गरेको छ। एकातिर काम गर्न नसकेको महानगले फेरि आफैले अर्काे योजना अघि बढाउँदा कसरी सफल हुन सक्छ भन्ने प्रश्न खडा भएको छ। भ्यू टावर निर्माण गर्ने भन्दै पुरानो बसपार्कमा रहेको बसपार्कलाई खुलामञ्चमा सारिएको थियो। गत वर्ष वैशाखदेखि खुलामञ्चमा सवारी प्रवेश निषेध गरी सवारीलाई सडकमा नै घुम्ने गरी (पिक एण्ड ड्रप)को ररूपमा लागू गरिएको छ। 

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरमा रहेका सवारी समस्या समाधान गर्नका लागि भन्दै व्यापारिक कम्लेक्सका भूमिगत पार्किङ खाली गराउन अभियान चै चलाए। डोजर चलाएर बानेश्वर,दरबारमार्ग,नयाँ बानेश्वर,कोटेश्वर क्षेत्रका भूमिगत पार्किङ खाली गराएको थियो। सवारी पार्किङ समस्या समाधान गर्ने लक्ष्य लिएको थियो तर उक्त अभियानलाई निरन्तरता दिन नसक्दा सवारी समस्या उस्तै छ।    

खुलामञ्चमा भूमिगत पार्किङ योजना 

काठमाडौं महानगरपालिकाको दशौँ कार्यपालिका बैठकले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णय गर्‍यो। खुलामञ्चमा पार्किङ बनाउन महानगरपालिकाले झाडी र फोहरले अस्तव्यस्त ठउँ सफा गरिरहेको छ। तीनतले भूमिगत निर्माण गर्नका लागि डीपीआर तयार गरी रहेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए। 

कस्तो बनाउने भन्ने विस्तृत विवरण डीपीआर तयार भए पछि जानकारी हुन्छ। उनले भने, ‘अहिले चाहिँ फोहर र झाडीका कारण अस्तव्यस्त देखिएकाले सफा गरिएको छ। हाम्रो अन्तिम तयारी भनेको भूमिगत पार्किङ नै हो।’ महानगरमा भइरहेको पार्किङ समस्या समाधान गर्न यसले अहम् भूमिका खेल्ने मानन्धरको भनाइ थियो। 

बजेटमा व्यवस्था गरी सवारी पार्किङलाई व्यवस्थित गर्न उक्त योजना अगाडि बढाएको महानगरले जनाएको छ। बजेटको बुँदा नम्बर १११ मा बढ्दो सवारी चापलाई मद्देनजर गर्दै खुलामञ्चसँगको जग्गामा ‘रिभर्स बोरिङ’ सहितको भूमिगत पार्किङ निर्माणका लागि पूर्वाधार अध्ययन गर्ने उल्लेख गरेको थियो। सोही अनुसार ५ हजारभन्दा बढी सवारी अट्ने गरी भूमिगत पार्किङ निर्माण गर्ने तयारी गरेको मानन्धरले बताए। 

खुलामञ्चमा हस्तक्षेप हुन दिँदैनौ :अभियन्ता

काठमाडौँ महानगरपालिकाले खुलामञ्च मासेर पार्किङ निर्माण गर्नु गलत भएको सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ बताउँछन्। काठमाडौंको मुटुमा रहेको खुला ठाउँ भनेको खुलामञ्च मात्र भएकाले त्यसलाई खुला नै रहन दिनुपर्ने उनको तर्क छ। खुलामञ्चलाई खुला राख्न धेरै संघर्ष गर्नुपरेको बताउँदै महानगर यो कदमबाट पछि हट्नुपर्ने उनको तर्क छ।

खुलामञ्च खुला गर्ने विषयमा आफूले नवनिर्वाचित मेयर बालेनलाई जानकारी गराएको तर बजेटमा उक्त विषय समेटिएपछि यसो गर्न नहुने भन्दै आग्रह गरेको उनले खुलासा गरे। उनले भने, ‘भेटेर छलफल गर्ने भन्नुभएको थियो। पछि चासो दिनु भएन। अहिले त कार्यपालिका बैठकबाट पास भइसकेको रहेछ।’

पहिलो चरणमा छलफल गर्ने र सम्बोधन नभए संघर्षका रूपमा उत्रने अवस्था आएको उनले बताए। पार्किङका लागि पुरानो बसपार्कमा निर्माण भइरहेको भ्यू टावर सञ्चालनमा ल्याउनुपर्ने उनीहरूको भनाइ छ। खुलामञ्चको चौर नबिग्रने गरी संरचना निर्माण गर्ने तयारी छ।

मानन्धरले भने, ‘चौरमा पानी रिचार्ज पोखरी निर्माण हुन्छ। खुलामञ्चमा आकाशबाट बगेको पानी बग्न नदिने योजनासहित हामीले काम शुरु गर्छौं।’ महानगरको मातहत पर्ने खुलामञ्चमा १५ वैशाख २०७८ देखि सवारी प्रवेशमा रोक लगाइएको थियो। त्यसयता बन्द रहेको खुलामञ्चलाई महानगरपालिकाले सरसफाइ गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.