|

काठमाडौं : कतारमा भइरहेको विश्वकपले यति वेला विश्व नै फुटबलमय बनेको छ। सन् १९३० देखि हरेक ४ वर्षमा आयोजना हुँदै आएको विश्वकप फुटबल खेलकुद क्षेत्रको सबैभन्दा ठूलो प्रतियोगिता मानिन्छ।

यसअघिका विश्वकप विजेता र नयाँ विजेता बन्ने सम्भावना बोकेका देशको ध्यान उपाधितिरै रहन्छ भने विश्वकपमा भाग लिनु नै ठूलो कुरा मानिने भएकाले केही देश प्रतियोगितामार्फत विश्वमाझ आफ्नो छाप छोड्न चाहन्छन्। 

विश्वकपमा विश्वभरिका फुटबल क्लबहरूको नजर हुने भएकाले प्रत्येक खेलाडीका लागि यो विश्वमाझ आफ्ना खेल कौशल देखाउने गतिलो अवसर पनि हो।

यो विश्वकपमा केही खेलाडी आफ्नो छाप छोड्ने प्रयासमा आफ्नो देशका लागि पहिलो पटक विश्वकप खेलिरहेका छन् भने आफ्नो ऊर्जाशील समयको अन्त्यतिर आएका केही खेलाडी आफ्नो अन्तिम विश्वकप खेलिरहेका छन्। 

यहाँ केही यस्ता खेलाडीको बारेमा उल्लेख गरिएको छ जसका लागि संभवतः यो विश्वकप नै अन्तिम हुन सक्छ।

लियोनेल मेसी

३५ वर्षीय लियोनल मेसी सन् २००५ देखि अर्जेन्टिनाका लागि खेल्दै आएका छन्।

विश्व फुटबलको इतिहासमा सबैभन्दा बढी मन पराइएका खेलाडीमध्ये गनिने मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म खेलेका १ सय ६९ खेलमा ९४ गोल गरेका छन्।

यसमा जारी विश्वकपका ४ खेल पनि समावेश छन् र अर्जेन्टिनी फुटबलका लागि एउटा खेलाडीले खेलेको खेल र गरेको गोल यो नै सबैभन्दा बढी हो।

फरवार्डमा खेल्ने मेसीले आफू खेलेको क्लब बार्सिलोनालाई धेरै पटक धेरै वटा प्रतियोगिताको विजेता बनाए पनि देशलाई भने विश्वकप जिताउन भने सकेका छैनन्। उनकै नेतृत्वमा अर्जेन्टिना सन् २०१४ को विश्वकप फाइनलमा भने पुगेको थियो भने सन् २०२१ को कोपा अमेरिका पनि जित्न सफल भएको थियो।

मेसी सन् २०१४ को विश्वकपका गोल्डेन बल विजेता हुन्। सबैभन्दा बढी ७ पटक बालोन डिओर अवार्ड जितेका मेसी ला-लिगामा सबैभन्दा बढी ४ सय ७४ गोल गर्ने खेलाडी पनि हुन्।

उनले क्लब र देशको लागि गरेर ७ सय ८० भन्दा बढी गोल गरेका छन्। यो विश्वकपपछि आफूले अन्तरराष्ट्रिय फुटबलबाट सन्यास लिने मेसीले बताएका छन्। 

क्रिस्चियानो रोनाल्डो

सन् २००३ देखि पोर्चुगल राष्ट्रिय टोलीका लागि खेल्दै आएका क्रिस्चियानो रोनाल्डो पनि विश्व फुटबलको इतिहासमा सबैभन्दा सफल खेलाडीमध्ये गनिन्छन्।

३७ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि १ सय ९४ खेल खेल्दै १ सय १८ गोल गरेका छन्। उनी पोर्चुगलका लागि मात्र नभएर युरोपकै सबैभन्दा बढी अन्तरराष्ट्रिय खेल खेल्ने तथा गोल गर्ने खेलाडी पनि हुन्। 

हाल पोर्चुगलको कप्तानी सम्हालिरहेका रोनाल्डोले पनि यो आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्।

५ पटक बालोन डिओर अवार्ड विजेता रोनाल्डो क्लब फुटबलमा सबैभन्दा राम्रा र महँगा खेलाडीमा पनि गनिन्छन्। आफ्नो ऊर्जाशील समय मेनचेस्टर युनाइटेड र रियाल मड्रिडमा बिताएका उनी सन् २०१८ मा युभेन्टसमा आबद्ध भएका थिए।​

रोनाल्डोले क्लब र देश गरेर ११ सयभन्दा बढी खेल खेलेका छन् भने उनको खातामा ८ सयभन्दा बढी गोल रहेको छ।

उनी ५ वटा विश्वकपमा गोल गर्ने एक मात्र खेलाडी पनि हुन्।

आफू खेलेका क्लबलाई विभिन्न प्रतियोगिता जिताएका रोनाल्डोले आफ्नो देशलाई एउटा युरोकप जिताएका छन् भने ३ पटक विश्वकपको समूह चरण पार गराएका छन्। 

नेइमार

ब्राजिलको फरवार्ड र मिडफिल्डमा खेल्ने नेइमारले पनि यो विश्वकप आफ्ना लागि अन्तिम हुने संकेत गरेका छन्।

३० वर्षीय नेइमार आफ्नो समयका सबैभन्दा चर्चित खेलाडीमध्येका एक हुन्। मेसी र रोनाल्डो पछि उनको नाम लिइन्छ। 

सन् २०१० मा १८ वर्षको उमेरमा ब्राजिलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका नेइमारले आफ्नो देशबाट १ सय २३ खेल खेलेका छन् भने जम्मा ७६ गोल गरेका छन्। दुई पटक दक्षिण अमेरिकी वर्ष खेलाडी घोषित भएका नेइमार क्लब फुटबलमा पनि सफल खेलाडीको रुपमा चिनिन्छन्। 

लुका मोड्रिच

३७ वर्षिय लुका मोड्रिच क्रोएशियाका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुनुका साथै सबैभन्दा सफल कप्तान पनि हुन्।

सन् २००६ मा क्रोएशियाको राष्ट्रिय टोलीबाट डेब्यु गरेका मोड्रिचले आफ्नो देशका लागि १ सय ५९ खेल खेलेका छन्। अहिलेको समयका सबैभन्दा उत्कृष्ट मिडफिल्डरमध्येमा गनिने उनले अन्तरराष्ट्रिय खेलमा देशका लागि २३ गोल गरेका छन्।

क्रोएशिया सन् २०१८ मा विश्वकपको उपविजेता बन्दा मोड्रिचले गोल्डेन बल पाएका थिए। उनी सन् २०१८ को  बालोन डिओर अवार्ड  विजेता पनि हुन्।

विश्वकप शुरु हुनुभन्दा एक महिनाअघि नै उनले विश्वकपपश्चात अन्तरराष्ट्रिय फुटबलबाट सन्यास लिने बताइसकेका छन्। 

थिएगो सिल्भा

विश्वकपमा ब्राजिलको कप्तानी सम्हालिरहेका ३८ वर्षीय थिएगो सिल्भाका लागि पनि यो अन्तिम विश्वकप हुनेछ।

आफ्नो समयका सबैभन्दा राम्रा र महँगा डिफेन्डरको रुपमा चिनिने सिल्भा सन् २००८ देखि ब्राजिलका लागि खेल्दै आएका छन्। उनले १ सय १२ अन्तरराष्ट्रिय खेलमा ७ गोल गरेका छन्। 

आफ्नो खेल जीवनको सबैभन्दा ऊर्जाशील समय फ्रान्सेली क्लब पिएसजीमा बिताएका सिल्भाले सन् २०१२ देखि सन् २०२० सम्म २ सय ४ खेल खेलेका थिए। सन् २०२० यता उनी इंग्लिस क्लब चेल्सीमा आबद्ध छन्। 

रोबर्ट लेवान्डस्की 

पोल्याण्डका कप्तान ३४ वर्षीय रोबर्ट लेवन्डस्कीले पनि यो आफ्नो अन्तिम विश्वकप हुने जनाएका छन्।

सन् २००८ देखि पोल्याण्डको राष्ट्रिय टोलीबाट खेल्दै आएका उनले १ सय ३८ खेलमा ७८ गोल गरेका छन्। फुटबल इतिहासमै उत्कृष्ट स्ट्राइकरमध्येमा गनिने उनले क्लब र देशका लागि ५ सयभन्दा बढी गोल गरेका छन्। 

सन् २०१४ देखि सन् २०२२ सम्म जर्मन क्लब बायर्न म्युनिखबाट खेलेका उनले २ सय ५३ खेलमा २ सय ३८ गोल गरेका थिए। उनी हाल बार्सिलोनाबाट खेल्दै आएका छन्। 

ड्यानी आलाभेस

३९ वर्षीय ड्यानी आलाभेस सन् २००६ देखि ब्राजिलको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन्। राइट ब्याक पोजिशनमा खेल्ने उनले अहिलेसम्म १ सय २६ अन्तरराष्ट्रिय खेल खेलिसकेका छन्।

उनी ब्राजिलका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडीको सूचीमा दोस्रो नम्बरमा आउँछन्। उनले १६ वर्षे फुटबल करिअरमा ८ गोल गरेका छन्। 

थोमस मुलर

सन् २०१० देखि जर्मनीको राष्ट्रिय टोलीबाट खेल्दै आएका मुलरले पनि यो आफ्ना लागि अन्तिम विश्वकप हुने बताएका छन्।

३३ वर्षीय मुलर सन् २०१० विश्वकपका गोल्डेन बुट विजेता पनि हुन्। उनले प्रतियोगितामा सबैभन्दा धेरै ५ गोल गरेका थिए। साथै सन् २०१४ को विश्वकप विजेता टोलीमा रहेका मुलरले उक्त विश्वकपमा पनि ५ गोल गरेका थिए। 

जम्मा १ सय २१ अन्तरराष्ट्रिय खेल खेलेका मुलरको खातामा ४४ गोल रहेको छ। जुन पोजिशनमा पनि खेल्न सक्ने मुलर आफ्नो स्ट्यामिना र टिमसँग मैदानमा बनाउने बोन्डिङका कारण चिनिन्छन्। 

सन् २००८  देखि घरेलु टोली बायर्न म्युनिखबाट खेल्दै आएका उनले ४ सय २३ खेलमा १ सय ३९ गोल गरेका छन्। 

पेपे

३९ वर्षीय पेपे फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट डिफेन्डरमध्येमा गनिन्छन्।

सन् २००७ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले अहिलेसम्म १ सय ३१ अन्तरराष्ट्रिय खेल खेलिसकेका छन् भने उनको नाममा ७ गोल पनि रहेको छ। 

सन् २०१६ को युरोकप विजेता टोलीमा पनि रहेका पेपे आफ्नो अन्तिम विश्वकप खेलिरहेका छन्।

क्लब फुटबलमा पनि सफल पेपेले आफ्नो सबैभन्दा ऊर्जाशील समय सन् २००७ देखि सन् २०१७ सम्म स्पेनिस क्लब रियाल मड्रिडमा बिताए। मड्रिडका लागि उनले २ सय २९ खेलमा १३ गोल गरे। पछिल्लो ३ वर्षदेखि उनी पोर्चुगलको घरेलु टोली पोर्टोबाट खेलिरहेका छन्। 

करिम बेन्जमा

सन् २००७ देखि फ्रान्सको राष्ट्रिय टोलीबाट खेल्दै आएका ३३ वर्षीय स्ट्राइकर करिम बेन्जमाले पनि यो आफ्नो लागि अन्तिम विश्वकप हुने जनाएका छन्।

फ्रान्सका सबैभन्दा सफल खेलाडीमध्येमा गनिने बेन्जमाले जम्मा ९७ खेलमा ३७ गोल गरेका छन्। सन् २००९ देखि रियाल मड्रिडमा आबद्ध उनले ४ सय २२ खेलमा २ सय २४ गोल गोल गरेका छन्। 

यी बाहेक उरुग्वेका लुइस स्वारेज, फ्रान्सका ओलिभर जिरु, स्पेनका सर्जियो रामोस, जर्मनीका म्यानुअल नुएर लगायतका चर्चित खेलाडीले पनि यो विश्वकपपछि अन्तरराष्ट्रिय फुटबलबाट संन्यास लिने जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.