काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिन आवश्यक रहेको बताएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आयोजना गरेको नेपाल संवत न्हूँद विषय विद्वत्गोष्ठीमा उनले यस्तो बताएका हुन्।
मन्त्री श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिन राष्ट्रिय स्तरमा नै काम गर्न आवश्यक रहेको पनि बताए। उनले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति समारोह गर्नका लागि मात्रै गठन भएको हो कि जस्तो भान हुने गरेको बताए।
उनले अहिले शंखधर साख्वाका नाममा काम गर्ने धेरै संस्थाहरू भए पनि राष्ट्रिय रुपमा प्रचार हुन नसकेको बताए। उनले राष्ट्रिय रुपमा प्रचारको लागि शंखधर साख्वाको नाममा राष्ट्रिय स्तरको प्रतिष्ठान बनाउन आवश्यक रहेको बताए।
मन्त्री श्रेष्ठले राष्ट्रिय स्तरको प्रतिष्ठान भएमात्र नेपाल संवत र शंखधर साख्वाको इतिहास र योगदानको प्रचार हुने बताए।
उनले भने, ‘नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति एउटा समा समारोह गर्न मात्रै गठन भएको जस्तो भएको छ। हाम्रो प्रचलन पनि त्यस्तै छन्। त्यसैले शंखधर साख्वाका नाममा काम गर्ने कतिपय संस्था पनि छन्। शंखधर साख्वाको नाममा राष्ट्रिय स्तरको प्रतिष्ठान आवश्यकता रहेको छ। त्यस्ता प्रतिष्ठानहरू छन् तर राष्ट्रिय रुपमा नै स्वीकार्य गर्ने रुपमा वा राष्ट्रिय रुपमा प्रतिनिधित्व हुने गरी प्रतिष्ठान विकास गरेर अगाडि बढाउन सक्यो भने साख्वाको जीवन, योगदान र इतिहासका विषयमा राष्ट्रिय स्तरमा जानकारी लिन सहज हुनसक्छ।’
उनले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिन पर्यटन मन्त्रालयले गर्नुपर्ने काम अगाडि बढाउन मन्त्रालय तयार रहेको पनि बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।