|

बागलुङ : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तीबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयले हाइड्रोपावर बनाइरहेका छन्।

लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रा.लि.ले सडक अतिक्रमण गरी पाइप बिछ्याएको छ। 

सडकको कुना पट्टी पाइप बिछ्याउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको हो। हाइड्रोपावर निर्माण कम्पनीले सवारी आवतजावत ठप्प बनाएर सडकमा पाइप बिछ्याउने गरेको गाडीचालकहरूको भनाइ छ। लोकमार्ग कार्यालयसँग मापदण्ड बनाएर हाइड्रोपावर निर्माण गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले मापदण्ड विपरीत काम गरेको पाइएको छ।

मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारी भन्छन्, ‘सम्झौताअनुसार काम गर्न चारपटकसम्म पत्राचार गरेका गर्‍यौँ तर उहाँहरूले हाम्रो पत्रको कुनै जवाफ दिनु भएको छैन। हामीले सम्झौताविपरीतको काम रोकेर र मापदण्डअनुसार काम गर्न पटक–पटक भन्यौँ। यो रोक्न जिल्ला प्रशासनलाई पनि पत्र पठाएका छौँ। कतिपय ठाउँमा मापदण्ड अनुसार भएको छ भने भेरै ठाउँमा विपरीत भएको छ।’

हाइड्रोपावर प्रा.लि.ले लोकमार्गको पत्राचारलाई बेवास्ता गरी मापदण्ड विपरीत काम धमाधम गरिरहेको छ। भण्डारीले हाइड्रोपावरको काम गर्नका लागि एउटा नक्सासमेत तयार पारेको भन्दै त्यो अनुसार नभए निर्माण भएका संरचना भत्काउन आफूहरू बाध्य हुने बताउँछन्।

उनी भन्छन्‚ ‘म फिल्डमै गएर किन यस्तो भयो भनेर बुझ्न खोजेँ, बुझ्न बोलाएँ तर उहाँहरू आउनु भएन। यदि निर्माण कम्पनीले सम्झौताविपरीत काम गरिरह्यो भने त्यो भत्काउनेसम्म हाम्रो अधिकार रहन्छ। उहाँहरूलाई सम्झौताअनुसार गर्ने स्थितिमै ल्याउँछौँ। एउटा नक्सासमेत तयार भएको छ। त्यो नक्साअनुसार पनि भएन भने हामी भत्काउँछौँ।’

सात मिटर चौडाइ रहेको दुई लेनको सडकमा कुना भागबाट पाइप बिछ्याउँदा पाँच मिटर पनि पुग्दैन। हाइड्रोपावरको पाइपले कुना पट्टीको नालीसमेत पुरेको छ। हाइड्रोपावर प्रा.लि.ले पाइप बिछ्याएपछि सडक निकै साँघुरो भएको भण्डारी बताउँछन्। मध्यपहाडी लोकमार्ग मिचेर हाइड्रोपावर बनाउँदा सडक दुर्घटनाको जोखिमसमेत बढेको उनको भनाइ छ।

दरमखोला हाइड्रोपावर प्रा.लि.का प्रमुख निरज पुनले सडक विभागको अनुमति लिएर काम अगाडि बढाएको बताए। उनले आफूहरूले सम्झौता विपरीत काम नगरेको दाबी गरे। पुनले लोकमार्गको हाकिम नयाँ आएकाले धेरै कुरा नबुझेको हुन सक्ने बताए।

पुन भन्नुहुन्छ, ‘शुरुमा भएको सम्झौताअनुसार काम गरेका छौँ, सम्झौताविपरीत भएजस्तो लाग्दैन। पहिलेका हाकिमसँग छलफल गरी एउटा सम्झौता गरेका थियौँ। सोही अनुसारका काम गरेका हौँ, अहिले नयाँ हाकिम आउनु भएको होला, उहाँलाई सबै थाहा नभएको हुन सक्छ।’

जिल्ला समन्वय समिति बागलुुङका प्रमुख अमर थापाले लोकमार्गका छेउछाउमा हाइड्रोपावरका संरचना बनाउँदा सडक जोखिममा पर्ने बताए। उनले भने, ‘लोकमार्ग छेउमा बिछ्याइएको हाइड्रोपावरको पाइप जतिवेला पनि यो पाइप फुट्न सक्छ, त्यो अवस्थामा सडकको हालत के हुन्छ ? त्यसले गर्दा यस्ता संरचना बनाउँदा सबै पक्षले ध्यान पुर्‍याउनुपर्छ।’

थापा राज्यको सम्पत्ति जोखिममा पारेर संरचना बनाइन नहुने बताउँछन्। राष्ट्रिय गौरवको आयोजना अतिक्रमण गरी हाइड्रोपावरका लागि पाइप बिछ्याउनु दुर्भाग्यपूर्ण भएको भन्दै संयमता अपनाउनुपर्ने बताए। पछि गएर ठूलो दुर्घटना हुनुभन्दा अहिले नै ठोस निर्णय गर्नुपर्ने प्रमुख थापा बताउँछन्।


दरमखोला हाइड्रो इनर्जीले आगामी असार मसान्तभित्र सक्ने गरी हाइड्रोपावरको कामलाई तीव्रता दिएको छ। यहाँबाट ९.६ मेगावाट विद्युत् निकालिने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.