अनलाइन सेवा लिन पाउँदा खुशी छन् विद्यार्थी

|

काठमाडौं : नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनलाइन माध्यमबाट सेवा दिन थालेको छ। अनलाइन सेवामा त्रिवि गएसँगै घण्टौँ लाइन बस्नुपर्ने विद्यार्थीहरूको बाध्यता विस्तारै हट्दै गएको छ।

त्रिविले पछिल्लो समयबाट परीक्षा फारम अनलाइन माध्यमबाट भर्ने व्यवस्था गर्न थालेको छ। मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागमा स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा फारम अनलाइन माध्यमबाट खुलाइको छ।

अहिले परीक्षार्थीहरू धमाधम अनलाइनबाट परीक्षा फारम भरिरहेका छन्। यसअघि सम्बन्धित क्याम्पसमै गएर फारम भर्नुपर्ने बाध्यता थियो। त्रिविले भोलि (शुक्रबार) ४८ औँ दीक्षान्त समारोह आयोजना गर्दै छ। यसका लागि पनि त्रिविले अनलाइनबाटै सम्बन्धित कागजहरू लिन सकिने व्यवस्था गर्‍याे।

त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालका अनुसार पाठ्यक्रम विकास केन्द्र समकक्षता निर्धारणलगायत धेरै सेवा अनलाइनबाट उपलब्ध गराइएको छ।

‘पछिल्लो समय विभिन्न संकायबाट अनलाइनबाट नै आवश्यक सेवा दिन थालेको छ, त्यसैले त्रिविमा पहिलाजस्तो विद्यार्थीहरूको भीड नै छैन,’ उनले दाबीका साथ भने। अनलाइन माध्यमबाट सेवा लिने व्यवस्था गरिए पनि झ्याउ मान्ने कतिपय विद्यार्थी भने त्रिविमै आउने गरेको उनको भनाइ छ। 

त्रिविको परीक्षा नियन्त्रण कार्यालयको शुल्क तिर्ने ठाउँमा भने लाइन बस्नुपर्ने समस्या छ। बैंक भौचर लिन लागि भीड हुने गरेको छ। ‘यो समस्या समाधान गर्न वैकल्पिक उपाय खोज्दै छौँ, यसको पनि समाधान हुन्छ,’ दाहालले भने।

अनलाइनबाट सेवा लिन पाउँदा खुशी छन् विद्यार्थी

त्रिवि परिसरमा भेटिएका राजीव कुँवर अनलाइन सेवा लिन पाउँदा निकै खुशी व्यक्त गर्छन्। दीक्षित हुन गाउन/स्कार्फ लिन आएका उनी भन्छन्, ‘पहिला त आवश्यक पर्दा यहाँ कागजात लिन आइन्थ्यो, दिनभरि नै लाइनमा बस्नु पर्थ्याे तर पछिल्लो समय अनलाइनबाट सेवा लिन पाइएको छ, सास्ती धेरै हटेको छ।’

त्रिवि उच्च शिक्षाका लागि देशको पहिलो राष्ट्रिय शैक्षिक संस्था हो। त्रिविका ६२ वटा आंगिक क्याम्पस छन्। यी क्याम्पसहरूबाट पनि अनलाइन माध्यमबाटै सेवा प्रदान गर्दै आएको त्रिविको दाबी छ।

‘अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउने विश्वविद्यालयकै नीति छ’

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा अन्तरराष्ट्रिय स्तरमै उच्च शिक्षालाई प्रतिस्पर्धी बनाउन नीतिगत योजना र सुधारका काम भइरहेको बताउँदै आएका छन्।

उनी भन्छन्, ‘हाम्रो उच्चशिक्षालाई अन्तरराष्ट्रियकरण गर्दै लैजानु, त्रिवि अल्मुनाइहरूलाई विश्वविद्यालयको हितमा प्रयोग गर्नु, सबै प्रकारको पारदर्शिता अवलम्बन गरी सुशासन कायम गर्नु र अनुसन्धानमुखी प्रविधिमैत्री विश्वविद्यालयको रूपमा विकास गर्नु आजको आवश्यकता हो।’

त्रिविका सूचना अधिकारी दाहाल अनलाइन माध्यमबाट सेवा प्रवाह गरी विद्यार्थीहरूलाई सहज बनाउने त्रिविकै नीति रहेको बताउँछन्। ‘त्रिविलाई प्रविधिमैत्री बनाई अनलाइन सेवा दिने त्रिविकै नीति छ, यहीअनुसार त्रिविले काम गर्दै आएको छ, यहीँ धाउनुपर्ने विद्यार्थीहरूको बाध्यता अब विस्तारै हट्नेछ,’ उनले थाहाखबरसँग भने। 

विसं २०१६ सालमा स्थापना भएको त्रिविको नेपालको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार गर्ने, मानक उच्च शिक्षा प्रदान गर्न, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र विकास गर्ने प्रमुख लक्ष्य हो।

कला, विज्ञान, प्रविधि र पेशाका क्षेत्रमा ज्ञान र अनुसन्धानको व्यापक, अनुभवजन्य र समयसापेक्ष सिर्जनामा संलग्न गराउने लक्ष्य त्रिविको छ। त्रिभुवन विश्वविद्यालयको नामकरण तत्कालीन राजा त्रिभुवनको नाममा गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.