|

म्याग्दी : जाडो याम शुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौंरी र भेडीगोठ न्यानो ठाउँको खोजीमा बेँशी सार्न थालिएको छ। 

म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौंरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँशीमा चहलपहल बढेको छ।

मुस्ताङको थासाङ, निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मुलीखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा/खयर तथा बयली लेकका चौंरी, रघुगंगा र धवलागिरि गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा चरनका लागि लगिएका भेडालाई बस्तीनजिकका न्यानो क्षेत्रमा झारिएको हो।

मुस्ताङ र म्याग्दीको उच्च लेकाली क्षेत्रमा पालिएका चौंरी र भेडा गर्मीमा लेक र जाडोमा बेँशी झार्ने गरिन्छ।

घुम्ती गोठ बनाएर चौंरी र भेडापालन गर्दै आएका मुस्ताङको मुली, बतासे क्षेत्रका चौंरी नाउरीकोट, बोक्सीखोलाका चौंरी कृषकले चरनका लागि चौंरीलाई गर्मी महिनामा धौलागिरि, निलगिरि र टुकुचे हिमालको फेदमा रहेका खर्कहरूमा लैजाने गर्छन् भने जाडो शुरु भएपछि बेँशी झार्ने गर्छन्।

मुस्ताङका चौंरी पाल्ने किसान सहेन्द्र शेरचनले लेकाली क्षेत्रमा चिसो अत्यधिक बढ्नुका साथै हिमपात हुन थालेपछि चौंरीलाई निलगिरि फेदीका चौंरी चोखोपानी, सौरु, टिटी क्षेत्रमा सारिएको जानकारी दिए।

यता म्याग्दीको अन्नपूर्ण क्षेत्रका चौंरीहरूलाई लरेनी क्षेत्रमा ओरालिएको चौंरी पाल्ने किसान सोभित खोरजाले बताए। अहिले बेँशी झारिएका चौंरी वैशाख लागेपछि मात्रै फेरि बुकी (लेक) फर्काइने उनको भनाई छ।

चिसो छल्न बेंशी झरे पनि चौंरीलाई चरनको समस्या रहेको गुनासो किसानहरूले गरेका छन्। ‘सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा चरिचरनमा रोक लगाएपछि समस्या उत्पन्न भएको छ‚’ खोरजाले भने‚ ‘लेकाली क्षेत्रमा चरनको समस्या छैन तर बेंशीमा चरनको अभाव हुने भएकाले चौंरी पाल्ने किसानको संख्या कम हुँदै गएको छ।’

मुस्ताङको मुलीलेकका चौंरीपालक सकेन्द्र गौचनले माथि चिसो बढ्न थालेपछि न्यानो वासको खोजीमा उँधो झर्ने गरेको बताए।

उनले भने‚ ‘जाडो बढ्न थालेपछि हामी चौंरीगोठ बेँशीतिर झार्छाैं‚ गर्मी शुरु भएपछि फेरि लेकतिर ल्याउने गर्छौं। जाडोले पशुचौपाया मात्र नभई मानिसलाई समेत समस्या हुने भएकाले बेँशी झर्नु बाध्यता हो।’

गौचन जस्तै यहाँका सबै चौंरी किसान बेँशी झर्न थालेका छन्। यहाँका किसान ६ महिना लेकतिर र ६ महिना बेँशीतिरको खर्कमा चौंरी‚ भेडा र गाईभैंसी पाल्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.