|

हेटौंडा : बागमती प्रदेश सभाको दोस्रो कार्यकालमा राजनीतिक दलहरुको अंकगणित फेरिएको छ। 

०७४ मा भएको निर्वाचनपछि बनेको प्रदेश सभाको पहिलो कार्यकालको अंकगणितलाई उत्लट्याउदै दोस्रो कार्यकालमा अंकगणित फेरिएको हो।  मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनबाट बागमती प्रदेश सभामा अघिल्लो कार्यकालको दुईवटा दल बाहिरिदा अर्को एउटा नयाँ दलले प्रवेश पाएको छ। पहिलो कार्यकालमा ३ सिटसहित बागमती प्रदेश सभामा रहेको विवेकशील साझा र एक सिट रहेको जनता समाजवादी पार्टी जसपा यो निर्वाचनपछि प्रदेश सभाबाट बाहिरिएको छ भने हाम्रो नेपाली पार्टीले पहिलो पटक प्रवेश पाएको छ। 

प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सभामा तेस्रो दल बनेको नेपाली कांग्रेस बागमती प्रदेशमा सबैभन्दा ठूलो दल बनेको छ। १ सय १० सदस्यीय प्रदेश सभामा कांग्रेसले ३७ स्थान प्राप्त गरेको छ। कांग्रेसले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ सिट हात पारेको छ। ०७४ को निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ७ सिटमा मात्रै जीत हासिल गरेको थियो। 

सो निर्वाचनमा कांग्रेसले काठमाडौँको ४ वटा क्षेत्र, मकवानपुर, रसुवा र सिन्धुलीको एक क्षेत्रमा मात्र जित्न सकेको थियो। समानुपातिकसहित प्रदेश सभामा २१ सिटसहित कांग्रेस तेस्रो स्थानमा थियो। तर,यो निर्वाचनबाट प्रत्यक्षतर्फ नै २५ सिट जितेको कांग्रेस ३७ सिटसहित बागमती प्रदेश सभाको ठूलो दल बनेको छ। 

प्रत्यक्षतर्फ १३ स्थानमा जितेको एमालेले समानुपातिकतर्फ १४ सिट प्राप्त गरेको छ। प्रदेश सभाको पहिलो कार्यकालमा पहिलो दल बनेको एमाले हाल २७ सिटसहित दोस्रो स्थानमा खुम्चिएको छ। गत २०७४ को निर्वाचनमा बागमती प्रदेशमा एमाले सबैभन्दा ठूलो दलको रूपमा रहेको थियो।  उक्त निर्वाचनमा प्रत्यक्ष तर्फ नै ४२ सिटमा जित हात पारेको एमाले समानुपातिक सहित ५९ सांसदसहित स्पष्ट बहुमतमा रहेको थियो। त्यतिबेला माओवादीसँग बाम एकता गरेर निर्वाचनमा होमिएको एमालेलाई यो निर्वाचनमा एमाले पार्टी फुटको समेत असर परेको छ। 

त्यसैगरी नेकपा माओवादी केन्द्र २१ सिट प्राप्त गरेको छ। प्रत्यक्षमा १४ स्थानमा जित हात पारेको माओवादीले समानुपातिकमा ७ सिट प्राप्त गरेको हो। प्रदेश सभाको पहिलो कार्यकालमा दोस्रो दल बनेको माओवादी पनि यो निर्वाचनमा एक स्थान तल झरेको छ। माओवादी प्रत्यक्षतर्फ चुनाव जित्नेको दोस्रो स्थानमा रहे पनि समानुपातिकमा एमालेले बढि मत पाउँदा तेस्रोमा झर्नुपर्यो।

तत्कालीन समयमा बाम एकता गरेर चुनाव लडेको माओवादी केन्द्रले प्रत्यक्ष तर्फ १७ सिट जितेको थियो। समानुपातिकसहित माओवादीको २२ सिट रहेको थियो। कांग्रेसभन्दा एक सिट बढि पाउँदै माओवादी दोस्रो दल बनेको थियो। 

बागमती प्रदेश सभामा चौथो स्थानमा राप्रपा रहेको छ। सो दल प्रत्यक्षमा ७ र समानुपातिकमा ६ गरी १३ स्थान जितेको छ। राप्रपाबाट पनि पहिलोपटक प्रत्यक्ष निर्वाचित सांसद प्रदेश सभा जाने भएका छन्। राप्रपाले यस पटक प्रत्यक्षमा मात्र ७ वटा सिट जितेको छ। अघिल्लो पटक बागमती प्रदेश सभामा राप्रपाबाट दुईजना समानुपातिक सांसद मात्रै थिए। तर,यो  निर्वाचनमा राप्रपाले प्रत्यक्ष रुपमा नै ७ सिटमा सानदार जीत हात पारेको छ भने समानुपातिकमा पनि ६ सिट पाँउदै प्रदेश सभामा बलियो उपस्थिति बनाएको छ। 

त्यसै प्रत्यक्षमा ५ सिट र समानुपातिकमा २ स्थान प्राप्त गरेको नेकपा एकीकृत समाजवादीले पाचौं स्थानमा प्राप्त गरेको छ। एमालेबाट विभाजित बनेको समाजवादीले अघिल्लो कार्यकालमा १३ सिटसहित प्रदेश सभामा चौथो स्थान पाएको थियो। तर,यो निर्वाचनबाट समाजवादीलाई राप्रपाले पछि पारेको छ। त्यसैगरी प्रत्यक्षमा एक स्थान जितेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले समानुपातिकतर्फ २ स्थान गरी कुल ३ सिट प्राप्त गरेको छ। 

प्रदेश सभामा अघिल्लो कार्यकालमा नेमकिपाको दुई सांसद मात्रै थिए। पहिलो पटक प्रदेश सभामा प्रवेश पाउन लागेको हाम्रो नेपाल पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा १ गरी २ स्थान जितेको छ।

१ सय १० सदस्यीय बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४ संसद निर्वाचित हुन्छन्। सत्तारुढ गठबन्धनले निरन्तरता पाए बागमतीमा सहजरुपमा बहुमत जुट्ने छ। सरकार बनाउन ५६ संसद्को समर्थन चाहिनेमा सत्तारुढ गठबन्धनमा ६५ संसद रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.