|

धनकुटा : सूर्योदयको दृष्यावलोकनको लागि धनकुटाको डाँडाबजारस्थित ध्वजे डाँडालाई इलामको श्रीअन्तुसँग तुलना गर्ने गरिएको छ। 

मंसिर पुसको समयमा सूर्योदय हेर्न दैनिक हजारौ पर्यटक इलामको श्रीअन्तु पुग्ने गरेका छन्। अझ पर्यटकीय सिजनको बेला त श्रीअन्तुमा पाइला टेक्ने ठाउँ समेत हुँदैन। तर, श्रीअन्तुसँग तुलता गरिने गरिएका धनकुटाको डाँडाबजारमा रहेको ध्वजेडाँडामा भने पुर्वाधार अभाव र प्रचारप्रसारको कमिका कारण नगन्य मात्रामा पर्यटक पुग्ने गरेका छन्।

प्रदेश १ कै सुन्दर पर्यटकीयस्थल मध्येको एक हो धनकुटाको साँगुरीगढी गाँउपालिका वडा नं. ५ मा रहेको ध्वजे डाँडा। समुद्री सतहबाट २ हजार ४७ मिटरको उचाइमा रहेको यो डाँडा महाभारत पर्वत श्रृखला अन्तरगत पर्दछ। यो डाँडा यो क्षेत्रको दोस्रो अग्लो डाँडो पनि हो। खासगरी मंसिर देखि माघसम्मको सिजनमा सूर्योदयको मनोरम दृष्य हेर्न आसपासका पर्यटक यहाँ सम्म पुग्ने गरेको छन्।

श्रीअन्तु र ध्वजेडाँडा दुवै ठाउँ पुग्ने पर्यटक सूर्योदयको दृष्य श्रीअन्तु र ध्वजेडाँडाबाट उस्तै देखिने बताउँछन्। ध्वजेबाट सूर्योदसहित पूर्वका अधिकाशं जिल्ला, तराईको फाँट, विभिन्न पर्वत श्रृखला,  विभिन्न हिमश्रृखला देख्न सकिन्छ। यो ठाउँबाट सूर्योदय सबैभन्दा राम्रो देखिने गरेको स्थानीय सुनिता लिम्बुले जानकारी दिइन्। उनको अनुसार बाहिरबाट आएका पर्यटकले पनि धेरै राम्रो भन्ने गरेको बताइन्। यो ठाउँमा अझै केहि पूर्वाधार निर्माण भए पर्यटक झन आकर्षित हुने उनको भनाइ छ। 

प्रदेश १ कै पर्यटकीय नगरी धनकुटाको भेडेटारबाट १३ किलोमिटर पुर्व तथा धनकुटाको डाँडाबजारबाट १ किलोमिटर माथि ध्वजेडाँडा रहेको छ। तर डाँडा आसपास भ्यूटावर बाहेक सुविधा सम्पन्न होटल नहुनु, सडक लगायतका पुर्वाधारको समस्या हुनु तथा खानेपानीको अभाव हुनु मुख्य समस्या रहेको छ भने यसको प्रचारप्रसार अभावका कारण पनि प्रशस्त सम्भावना हुँदाहुदै पनि पर्यटकको नजर यहाँसम्म पुग्न नसकेको अर्का स्थानीय निलम लिम्बू बताउँछन्।

उनले कच्ची सडक पुगेको भए पनि सानो गाडि, मोटरसाइकल र स्कुटर पनि चल्न नसक्ने अवस्था रहेको गुनासो गरे। खानेपानीको समस्या हिउँदमा अत्याधिक रहेको र नेताले चुनावका बेला मात्रै आश्वासन दिने तर, काम नगरेको गुनासो उनको छ। समस्या समाधान गरिदिने राज्य, नेताबाहेक कोही नभएका कारणले आश गरेर बस्नुको विकल्प नभएको उनी बताउँछन्। ध्वजेडाँडामा होमस्टे सञ्चालन गरिरहेका निलमले यो ठाउँबाट पूर्वका १६ वटा जिल्ला देखिने बताए।

ध्व्जेडाँडा सहित डाँडाबजार स्थित लाप्चेटारमा रहेको अजगंको बरको रुख पर्यटकको लागि आकर्षणको केन्द्र हो। यो बरको रुख एसियाकै दोस्रो ठुलो रुखको रुपमा रहेको स्थानिय बताउछन्। त्यस्तै ध्वजेडाँडाको छेउमै निर्माण गरिएको जैतुन पार्कले समेत पर्यटकलाइ लोभ्याउने गरेको छ। यहाँ पर्यटक भित्राउन होमस्टे, सडक लगायतको पुर्वाधार निर्माणको काम गरिरहेको सागुरीगढी गाँउपालिका वडा न ५ का वडाध्यक्ष खड्ग लिम्बु बताउँछन्। 

नेपालको नक्सा निर्माणको क्रममा अक्षांश र देशान्तर टुङ्गो लगाउन विशेषज्ञले समेत ध्वजेडाँडालाइ प्रयोग गर्ने समेत गरेको विकीपिडियामा उल्लेख छ। ध्वजेडाँडासँगै रहेका वनमा विभिन्न लेकाली बनस्पति र जन्तु समेत पाइन्छन्। पुर्वाधार विकास गरि प्रचारप्रसार गर्न सके पर्यटन प्रबद्र्धन हुने स्थानीयको बुझाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.