|

बागलुङ : ‘चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्। पानी जम्न थाल्यो, अब फागुनको आधाआधीपछि मात्रै लेक उक्लिने हो। अहिले त घाँस पनि सकिन थाल्यो बेँशीमै बस्ने, धेरैजसो गोठालाहरु झर्‍यौँ, अरु पनि झर्छन् अब।’

निसीखोला–६ का वीरबल घर्ती यतिवेला बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्ने क्षेत्रतिर छन्। पातीहाल्नेभन्दा माथिल्लो क्षेत्र खालीखोला, तिलाचन लगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि घर्तीसहित सबै भेडा गोठाला तल्लो क्षेत्रमा झर्न थालेका हुन्।

केही गोठालाहरु बेँशी झरिसकेका छन् भने घर्ती पनि अब केही दिनमा बेँशीमै आउने तयारीमा छन्।

उनी भन्छन्‚ ‘पानी पर्‍यो भने अब माथि मात्रै होइन यहाँ पनि हिउँ पर्छ, माथि चिसो भएपछि यहाँ झरेका हौँ। यहाँ पनि चिसो बढ्दै छ, बेँशीमै झर्ने हो।  अब एक सातामा तलै झर्छौँ, भेडाका पाठा कठ्याङ्ग्रिन थाले, तल नझरे मर्छन् फेरि। गाउँमा गोठ बनाएर तयार बनाईसक्न लागेछन्।’

घर्तीका गोठमा अहिले ४०० भन्दा बढी भेडा र पाठापाठी छन्। उनले मंसिर पहिलो साता झण्डै २०० भेडा बेचेको बताए।

‘मंसिर महिनामा धेरैको पूजाआजा हुन्छ, यो वेलामा भेडाको खोजी निकै हुने गर्छ। यसपालि तीनजना भएर बजारतिर गएका थियौँ, तिहार सकेर गएको व्यापार राम्रो भयो। अलिकति दुःख छ, तर पैसा पनि छ यो व्यवसायमा‚’ घर्तीले भने।

बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका अधिकांश स्थानीय पशुपालनमा आबद्ध छन्। त्यसले गर्दा उनीहरु वर्षमा दुई पटक लेक बेँशी गर्ने गर्छन्। 

वर्षातको समय लेक र हिउँदको समय बेँशी गर्ने उनीहरूको परम्परा जस्तै हो। भेडा पाल्ने तमानखोलाका किसान मीनबहादुर रोका पनि यतिवेला बेँशीतिर झरेका छन्। उनले अब चैत पहिलो हप्ता मात्रै लेक चढ्ने बताए।

‘हामीहरू यहाँबाट म्याग्दी हुँदै धौलागिरी हिमालको फेदसम्म भेडा लिएर जान्छौँ। अहिले त त्यो क्षेत्रमा हिउँ परेको छ, त्यहाँ बस्न सकिन्न। भेडाबाख्रा राख्न पनि सकिन्न, दुई हप्ता जति हुन लाग्यो हामी बेँशी झरेको केही दिन सोलेडाँडामा बस्यौँ,’ रोकाले भने‚ ‘अब चैतसम्म यहीँ हुन्छौँ, डालेघाँस काटेर खुवाउनु पर्छ यो समय, चिसोमा लेकमा बस्न सकिँदैन।’

उनले पुस र माघ दुई महिना भेडीगोठ गाउँनजिकै हुने र फागुन लागेपछि गाउँभन्दा माथिका खर्कहरूमा जाने बताए। अहिलेसम्म लेकमा बस्दा घाँस पनि सकिएको र गाउँका बारीहरुमा डालेघाँसहरु हुँदा दुई महिना भेडालाई डालेघाँस खुवाएर पाल्ने रोकाको भनाई छ।

रोकाले भने‚ ‘चिसो भनेर के गर्नु घरमा बसेर पशु अघाउँदैनन्, लेक बेँशी त गर्नै पर्योच, नत्र भेडा भोकले मर्छन्। भेडागाठालालाई दुःख छ, घामपानी, बर्खा झरी भन्न पाइँदैन। यि सम्पत्तिले खान खोज्छन्, मैले भेडासँग लेक बेँशी गर्न थालेको ४३ वर्ष भयो, अहिले म ५४ वर्ष भएँ, ११ वर्षको उमेरदेखि भेडा गोठालो गर्न थालेको हुँ।’

ढोरपाटन–९ का गंगाबहादुर पुनले ढोरपाटनको माथिल्लो क्षेत्रमा चिसो ह्वात्तै बढेको बताए। चिसो बढेपछि सबै भेडागोठालेहरू तल्लो क्षेत्रमा झरेको पुनको भनाई छ। उनले पानी नपरे पनि गोठ नै पुरिने गरि तुसारो परेपछि भेडा पालेकाहरू बेँशी झरेको बताए।

‘अहिले छिटै चिसो बढ्यो, पहिले पुस लाग्दा बल्ल गाउँ झरिन्थ्यो, अहिले पुस लाग्न १०र१२ दिन छँदै सबै गोठालाहरू बेँशी झरिसकेका छन्। चिसोले भेडाहरू बिरामी पर्न थाले, गोठालाहरु पनि बिरामी हुन लागेपछि हामीहरू सबै तल आएका छौँ’‚ पुनले भने‚ ‘अहिले ढोरपाटनमा भएकाहरू पनि एक पटक पानी पर्यो’ भने सबै बोबाङ, अधिकारीचौर निसी झर्छन्।’
  
पुनले पछिल्लो समय भेडी गोठालाको संख्या घट्दै गएको बताए। उनले पहिले एउटै गाउँका २०र२० घरमा भेडा पाल्ने गरेकोमा अहिले १० घरले मात्रै पाल्दै आएको बताउँछन्। भेडापालनका लागि पर्याप्त चरन क्षेत्र भए पनि युवापुस्ता यो व्यवसाय तिर नलाग्दा भेडा गोठाला वर्षेनी घट्दै गएको उनको भनाई छ।

‘पहिले–पहिले गाउँका धेरै मान्छेले भेडा र गाईभैँसी पाल्ने गर्थे, लेकतिर जाँदा पनि रमाइलो हुन्थ्यो, सबै एकै पटक जान्थ्यौँ, नजिक नजिक गोठहरू बनाएर बस्ने गथ्र्यौँ, अहिले हरेक वर्ष गोठाला घट्दै गएका छन्‚’ पुनले भने‚ ‘पुराना बुढापाकाहरू नसक्ने भए, युवा केटाहरू शहर बजार बस्ने‚ विदेशतिर जाने गर्न थालेपछि भेडा पाल्नेहरू कम भएका छन्।’

उनले अरु व्यवसायको तुलनामा भेडापालन निकै चुनौतीपूर्ण भएकाले अहिलेका युवाहरू गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो नदिने बताए।

भेडापालनबाट एक वर्षमा न्यूनतम ४ लाखसम्म आम्दानी हुने उनको भनाई छ। उनले भेडाको मासु मात्रै नभएर उनबाट बनेका कपडाको समेत राम्रो मूल्य पर्ने बताए।

‘भेडापालन गरे त धेरै फाइदा छ, दुःख त कुन पेशा गर्दा हुँदैन र?, सबै पेशा व्यवसायमा परिश्रम गर्नु पर्छ, कुनै पेशामा अलि बढी होला कुनैमा अलि थोरै तर दुःख त हुन्छ जहाँ पनि। भेडा पाल्ने हो भने दुईतिरबाट लाभ लिन सकिन्छ, मासु पनि राम्रो मूल्यमा बिक्छ, अझ त्यसभन्दा बढी त्यसको ऊनबाट बनेका कपडाहरूको मोल पर्छ। नेपालमा मात्रै होइन विदेशमा पनि ऊनको कपडाको मूल्य बढी पर्छ‚’ पुनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.