‘अस्थायी रुपमा भए पनि १२ महिनै पानी वितरण गर्नेछौँ’

|

काठमाडौं : बहुचर्चित मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा झरेपछि ६ पटक उद्‍घाटन गरिएको छ। खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार चुच्चेपाटीस्थित महांकाल चौरमा पुन: पानी वितरणका लागि उद्‍घाटन गरेसँगै छैटौं पटक उद्‍घाटन गरिएको हो।

वर्षा याममा बन्द गरेको ६ महिनापछि पानी ल्याएर पुनः आजदेखि काठमाडौं उपत्यकामा वितरण गरिएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७७ फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि पानी सुन्दरीजलमा खसेको थियो।

त्यही पानी ०७७ चैत १५ गते काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का निर्देशक मिलन शाक्य, काठमाडौं खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा लगायतले एकसाथ चुच्चेपाटीको महांकाल चौरमा भण्डारण गरिएको पानीको चाबी (पानीको भल्भ) खोलेर वितरण शुभारम्भ गरे। 

फेरि सोही आयोजनाको राष्ट्रपति विद्यादेवी भण्डारीले ०७७ चैत २० गते भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर औपचारिक उद्घाटन गरिन्।

यसपछि त्यही पानी बाढीले गरेको क्षति मर्मतपछि गत वैशाख ११ गते खानेपानीमन्त्री उमाकान्त चौधरीले नै बानेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को ट्याङ्कीबाट स्टेरिङ घुमाएर मेलम्चीको पानी वितरणको पुनः उद्घाटन गरे।

सोही दिन उनै मन्त्री चौधरीले नयाँ बानेश्वरस्थित संसद भवनअगाडि बनाइएको नयाँ धाराको टुटी खोलेर वितरणको उद्‍घाटन गरे। उनी आफैँले फेरि आज पनि चुच्चेपाटीको महांकाल चौरमा भण्डारण गरिएको पानीको चाबी (पानीको भल्भ) खोलेर वितरण शुभारम्भ गरे। 

 यी काठमाडौंमा पानी झरेपछि मात्रै भएका उद्घाटन हुन्। आयोजनाकै मुहानमा यसअघि धेरै पटक पथान्तरण कार्यक्रम भएको छ।

अस्थायी रुपमा भए पनि १२ महिनै पानी वितरण : मन्त्री चौधरी

खानेपानी पुन: वितरण शुभारम्भ समारोहमा खानेपानीमन्त्री चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने दाबी गरेका छन्। उनले भने, ‘काठमाडौंमा अस्थायी रुपमा भए पनि १२ महिना नै पानी वितरण गरिनेछ।’ 

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले बाढीको कारणले बाटोमा समस्या हुँदा पानी पुनः वितरणमा केही ढिला भएको बताए। मेलम्ची खानेपानी विकास समितिले मर्मतपछि पनि दैनिक १७ करोड लिटर पानी नै सुरूङमा हालिने र उपत्यकामा वितरण गरिने जनाएको छ। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार २ लाख ३० हजार ग्राहक केयुकेएलका छन्। उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। 

मेलम्ची खानेपानी आयोजना शुरू भएको २ दशकपछि काठमाडौं उपत्यकाभित्र पहिलो पटक विसं २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो। पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भयो।

तर ०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। क्षति भएको ९ महिनापछि अर्थात् गत वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी ल्याइएको थियो।

तर शहरवासीले एक महिना पनि पानी पिउन पाएनन्। पहिलाजस्तो बाढीबाट क्षति हुन नदिन भन्दै सरकारले गत जेठ १७ गतेबाट उपत्यकामा मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो।

सरकारले मर्मतपछि मेलम्चीको पानी अस्थायी रुपमा उपत्यकामा ल्याए पनि अझै दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.