|

बागलुङ : बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बागलुङकै एक मात्र ठूलो बाङ्गेचौर खेलमैदान अब रंगशालामा परिणत हुने भएको छ। कुनै बाधा अड्चन नआए खेलाडीको आशा र भरोसाका रूपमा रहेको त्यही एउटा खेलमैदान केही वर्षमै आधारभूत रङ्गशालामा परिणत हुनेछ।

लामो समयदेखि रङ्गशाला बनाउने सपना देखेका बागलुङका खेलाडीले केही वर्षमै रङ्गशालामा खेल खेल्न पाउनेमा आशावादी छन्। 

बागलुङ नगरपालिकाले बाङ्गेचौर खेल मैदानलाई आधारभूत रंगशाला बनाउने गरी समपूरक योजना स्वीकृत गरेर ठेक्का प्रक्रियाका लागि आवश्यक तयारी गरिरहेको छ। बागलुङ बजारमा रहेको  बागलुङको सबैभन्दा ठूलो खेलमैदान बागलुङको बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला बनाउने योजना अघिल्लो नयरकार्यपालिकाको भए पनि अझै कार्यान्वयनमा आउन सकेको छैन।

बजेट अभावमा अल्झदै आएको बाङ्गेचौर खेल मैदानलाई स्तरोन्नति गरी रङ्गशाला बनाउने योजना अघि बढेको बागलुङ नगरपालिकाले जनाएको छ। दुई महिनाभित्रै ठेक्का प्रक्रियामा लैजाने गरी वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको बागलुङ नगरपालिकाले जनाएको छ।

बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार यो वर्ष झण्डै चार करोड बराबरको काम रङ्गशाला निर्माणमा गरिने र तीन वर्षभित्र पूरा गर्ने गरी बहुवर्षे योजनामा समावेश भएको छ। 

बागलुङ नगरपालिका र संघीय सरकारको समपूरक साझेदारी बजेटमा रङ्गशाला निर्माणको काम चालू आर्थिक वर्षबाटै प्रारम्भ हुने भएको हो। घाँसेमैदानका रूपमा रहेको खेलमैदानलाई रङ्गशाला बनाउनका लागि बागलुङ नगरपालिका र संघीय सरकारको समपूरक वजेटअन्तर्गत लगानी गर्ने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। 

बागलुङ नगरपालिका र राष्ट्रिय योजना आयोगले छनोट गरेको विशेष योजनाअन्तर्गत चालू आर्थिक वर्षदेखि काम शुरु हुने श्रेष्ठको भनाइ छ। रङ्गशाला निर्माण गर्नका लागि बागलुङ नगरपालिका र संघीय सरकारको संयुक्त रूपमा रु. ८ करोड २२ लाख बराबरको काम हुनेछ। जसमध्ये संघीय सरकार र नगरपालिकाको ५०/५० प्रतिशत लगानी हुनेछ।

बागलुङ नगरपालिका–१ रामरेखामा रहेको उक्त मैदान अहिले घाँसेमैदानको रूपमा मात्रै छ। मैदानमा अहिले संरचनाको अभाव छ। ‘रु. ८ करोड २२ लाख खर्चेपछि घाँसे मैदानको रूपमा रहेको खेलमैदान आधारभूत रङ्गशालामा परिणत हुनेछ’, नगरप्रमुख श्रेष्ठले भने, ‘नगरपालिकाले खेलकुद क्षेत्रमा समेत ठूलो लगानी गर्न थालेको छ। घाँसे मैदानको रूपमा रहेको बाङ्गेचौरमा हामीले आधारभूत रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रियामा लैजाने अन्तिम तयारी छ।’

रङ्गशाला निर्माण भइसक्दा कम्तिमा तीन हजार दर्शकले एकैसाथ खेल खेर्न सक्ने प्यारापिट सहितको आकर्षक खेल मैदान निर्माण हुनेछ। तत्कालीन खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारको नेतृत्वमा चार वर्षअघि रंगशालाको विस्तृत प्ररियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो।

डिपिआर तयारपछि छलफलका क्रममा केही संरचना थप भएका कारण डिपिआरमा उल्लेख भएभन्दा बढी लागत लाग्ने डिपिआरमा उल्लेख गरिए पनि पछिल्लो समय डिपिआर अनुसार उपल्लो भागमा मध्यपहाडी लोकमार्गले छोएको भाग छोडेर पूर्वबाट मात्रै काम गर्ने गरी ठेक्कामा जान थालेको छ।

बागलुङ नगरपालिकाका इन्जिनियर शोविन घर्तीका अनुसार डिपिआरमा भएका कमी कमजोरीलाई मिलाइसकेको र अहिले वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको बताए। 

उनले ठेक्कामा लैजानका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम भएको बताउँदै दुई महिनाभित्र ठेक्कामा जाने बताए। घर्तीका अनुसार अहिले रु. ८ करोडको ठेक्कामार्फत गराइने संरचना रङ्गशालाको एक चौथाइ र खेल मैदान मात्रै निर्माण हुनेछ।  

घर्तीका अनुसार अहिले खेलमैदानको पूर्वतर्फ प्यारापिट लगायतको संरचना निर्माण थालिनेछ। अहिलेको रु. ८ करोड २२ लाखको ठेक्काअन्तर्गत खेल मैदानमा दूबो लगाइने, तीन हजार दर्शकले हेर्न मिल्ने प्यारापिट निर्माण गर्ने र सामान्य रूपमा खेलमैदानलाई मापदण्ड अनुसारको बनाइने मात्रै काम हुनेछ। पछि बजेट थप हुँदै गएर पुनः ठेक्का लगाएमा खेलमैदानको पश्चिमतर्फ संरचना निर्माण हुनेछ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गसँगै जोडिएको खेलमैदान सडकको मापदण्ड छोडेर अथवा सडकलाई भूमिगत गरेर मात्रै पश्चिम क्षेत्रका संरचना बनाइनेछ। खैल मैदान र खेल हेर्ने प्यारापिट, शौचालय, पार्किङ लगायतका संरचना बनेपछि खेलकुदका गतिविधि गर्न निकै सहज हुने पूर्व फुटबल खेलाडी तथा जिल्ला फुटबल संघका कोषाध्यक्ष सूर्य लामिछानेले बताए।

संरचनाहरू पूर्ण रूपमा भूकम्प प्रतिरोधी समेत हुनेछन्। बागलुङ नगरपालिकाले यो वर्ष खेलमैदानका लागि रु. १ करोड ७१ लाख नगरपालिकाको र १ करोड ७१ लाख संघीय सरकारको गरी चालू आर्थिक वर्षमा मात्रै रु. ३ करोड ४२ लाख रकम खर्च हुनेछ। रङ्गशाला ३५ रोपनी जग्गामा निर्माण गर्न थालिएको छ।

लामो समयको प्रयासपछि रङ्गशाला बनाउन ठेक्का प्रक्रियामा जानथालेपछि खेलकुदप्रेमी समेत खुशी भएको लामिछानेको भनाइ छ। रङ्गशाला निर्माण गर्ने २० वर्षदेखिको सपना नगरपालिकाको समन्वय र साझेदारीमा अघि बढ्न थालेकोमा लामिछानेले खुशी व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.