|

बागलुङ : काठेखोला गापा–५ बिहुँ करिलिममा एकैनासका १० घर छन्। सिमेन्टका ब्लगको पर्खाल अनि नीलो जस्ताको छानो। झट्ट हेर्दा लाग्छ यहाँ बस्ने स्थानीय सुखी छन् तर यहाँका बस्ने दलित समुदायको पीडा छुट्टै छ। वि.सं. २०७२ वैशाखमा आएका भूकम्पले काठेखोला–५ काउले गाउँमा रहेको उनीहरूको घर भत्कियो। त्यसै बर्खा गावै पहिरोले चिराचिरा पर्‍यो।

घरसहित भएभरको सम्पत्ति पहिरोको उच्च जोखिममा परेपछि उनीहरू घरबासविहीन भए। केही वर्ष उनीहरू छरछिमेकी र आफन्तको आश्रय लिएर बसे। सरकारले १० घरपरिवारलाई गत वर्ष बिहुँ करलिममा नमुना बस्ती निर्माण गरेर हस्तान्तरण गर्‍यो। उनीहरूले घर त पाए तर सामान्य आधारभूत आवश्यकता परिपूर्ति गर्ने माध्यम भने पाएनन्। भूकम्प पीडितहरूले अहिले सरकारसँग सामान्य भए पनि रोजिरोटीका लागि रोजगारको माग गरेका छन्।

स्थानीय बसीमाया परियार भन्छिन्, ‘दैव पनि हामी गरिब दुःखीमाथि लाग्यो, सात वर्षअगाडि भुइँचालो र पहिरोले घरबारी सबै चिराचिरा पारिदियो, घर र भएभरको सम्पत्ति बस्न नमिल्ने गरी भत्किएपछि हामी धेरै वर्ष बाटोमा बस्यौँ, पोहोर साल सरकारले यो ठाउँमा घर बनाएर दियो र यहाँ सर्‍यौँ, सरकारबाट अरू सेवा सुविधा भने केही पाएका छैनौँ।’

परियारले आफ्नो तीनजनाको परिवार रहेको र गरिखाने ठाउँ नहुँदा बिहानबेलुकीको छाक टार्न समस्या भएको बताउँछिन्। उमेरले ६० कटेकी बसीमायालाई अहिले छाक कसरी टार्ने भन्ने चिन्ता छ। गिट्टी ढुङ्गा गरेर परिवार चलाएको भन्दै हातपाखुरा बसे भोकै हुनुपर्ने चिन्ताले उनलाई सताइरहेको छ।

‘अहिलेसम्म त हातपाखुरा चल्दै छन्। २-४ दिन काम गरे भने पनि बिहानबेलुकी छाक टर्छ। घरले खान लाउन दिने रैनछ। पेटले माम खोज्दो रैछ, मामका लागि फलाउने ठाउँ छैन’, परियारले भनिन्, ‘अहिले त काम पनि पाइएको छैन, चिसो बढ्न लाग्यो,  यतिखेर काम पनि गर्न गाह्रो हुन्छ।  आफ्नै बारी थोरै भएको भए मकै कोदो लगाएपछि खान पुग्थ्यो।’

अर्की स्थानीय रूपा परियारले नमुना बस्तीमा खानेपानीको चरम अभाव रहेको बताइन्। उनले खानेपानी लिन घण्टौँ लाग्ने बताइन्। सबै गाउँमा मोटरबाटो पुगे पनि आफूहरूको बस्तीसम्म सडक नपुगेको उनको गुनासो छ। सरकारले आफूहरूका लागि खानेपानी र सडक निर्माण गदिए सहज हुने उनको भनाइ छ।

परियारले घरसँग जोडिएको बाँझो जमिन देखाउँदै भनिन्, ‘हाम्रो सम्पत्ति भनेको यही घर मात्रै हो। यो जमिन पनि अरूको पर्छ, घर बाहिर निस्किएर थुक्ने ठाउँ पनि छैन हाम्रो। घर मात्रै भएर के गर्ने, गरिखाने ठाउँ छैन, काम पनि कहाँ गर्ने ? के काम गर्ने ?, निकै अप्ठ्यारोमा छौँ हामी त।’

पहिरोले नबगाउँदासम्म आफ्नो गरिखाने जग्गाजमिन प्रशस्तै भए पनि अहिले उक्त ठाउँमा ढुङ्गा मात्रै थुप्रिएको उनको भनाइ छ। सरकारले पीडितहरूका लागि गरिखाने ठाउँ नदिए पनि रोजगारी अवसर मिलाइदिन परियारले अपिल गरिन्।

‘पीडामा त हामी यसै छौँ। त्यसमाथि परिवार पाल्न नसक्ने अवस्थाले निकै पिरोल्छ, हामी पोहोर सालसम्म घरविहीन थियौँ, सरकारले घर बनाई दिएपछि अहिले हामीसँग घर छ तर साँझबिहानको छाक टार्ने उपाय केही भएन। अध्यक्ष, माननीयहरूले केही मेसोमेलो मिलाइदिए हुन्थ्यो, कसैको बाँझो जमिन पनि पाइँदैन, अँधिया गरेर कमाएको मकैले वर्ष दिन पुग्दैन’, उनले भनिन्।

स्थानीय लालबहादुर दमाईले आफूलाई सरकारले कुनै पनि सहयोग नगरेको गुनासो गरे। उनले आफ्नो घर भूकम्पले भत्किएको र जग्गाजमिन सबै पहिरोले बगाएको भन्दै अहिले आफू सडक कुनामा बस्नु परेको बताउँछन्। दमाईले सबै पीडितले घर पाउँदा आफू वञ्चित भएको गुनासो गरे।

उनी भन्छन्, ‘गाउँका अरू जस्तै म पनि भूकम्प र पहिरो पीडित हुँ, अरूको जस्तै अवस्था हो मेरो, अरूले घर पाए, मैले त्यही घर पनि पाइनँ। अहिले सडक छेउमा छाप्रो बनाएर बस्दै आएको छु, खानलाउन पनि उस्तै समस्या छ, बूढो भएँ काम गर्न सक्दिनँ, सरकारले हेरेन।’

काठेखोला गापाका अध्यक्ष राजु थापाले नमुना बस्तीमा रहेको खानेपानी समाधानका लागि गापाले योजना बनाएको भन्दै उक्त सम्सया केही समयमै समाधान हुने बताए। उनले यस बस्तीसम्म सडक पुर्‍याउने प्रयास थालेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.