३ वर्षमा करिब ३९ हजार सवारीसाधन कारबाहीमा

|

काठमाडौं : ट्राफिक प्रहरीले स्पिड लेजर गन अभियानलाई तीव्रता दिन थालेको छ। ट्राफिक प्रहरीले अहिले सवारीसाधनको तीव्र गति नियन्त्रण गर्न रिङरोड लगायत अन्य सडकमा ‘स्पिड लेजर गन’मार्फत सवारीसाधनको गति मापन गर्दै आएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले कार्यालयसँग गति मापन गर्ने ७ वटा गन छन्। यी गनले जतिसुकै वेला जुनसुकै ठाउँमा मापन गरि सवारीचालकलाई कारबाही गर्ने गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए।

ट्राफिक प्रहरीले विशेषगरि कोटेश्वर–सूर्यविनायक सडक, रिङरोड र चौडा सडकहरूमा तीव्र गतिमा सवारी कुदाउँदा हुने गरेको दुर्घटनालाई मद्देनजर गर्दै लेजर गनको प्रयोग गरी तीव्र गति नियन्त्रण गरिरहेको छ।

उनका अनुसार अहिले दैनिक सरदर १६५ सवारीसाधन कारबाहीमा पर्ने गरेका छन्। कारबाहीमा पर्ने सवारीसाधनमा सबैभन्दा धेरै मोटरसाइकल छन्। ‘हिजो मात्रै गति मापन गर्दा १६५ सवारीसाधन कारबाहीमा परे,’ उनले भने।

कुन सडकमा कति स्पिड कुदाउने?

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्टका अनुसार शहरी क्षेत्र अर्थात जहाँ घना बस्ती छ, त्यहाँ प्रतिघण्टा ३० देखि ४० किलोमिटरभन्दा बढी गतिमा सवारी चलाउन पाइँदैन।  

विद्यालय क्षेत्रमा १० देखि १५ किलाेमिटरभन्दा बढी स्पिडमा चलाउन पाइँदैन। काठमाडौंका रिङरोडमा ५० को स्पिडभन्दा माथि चलाउन मिल्दैन। योभन्दा बढी स्पिडमा चलाए गनले गति नापेर कारबाही गर्ने गरिएको उनले बताए। ‘तीव्र गतिमा कुदाए एक हजार रूपैयाँ जरिवाना र १ घण्टा अनिवार्य सचेतना कक्षा लिनुपर्छ,’ उनले भने।

ट्राफिक प्रहरीहरूले अहिले लुकेर सवारीसाधनको गति नाप्ने गरेका छन्। कुन सडकमा कति स्पिडमा कुदाउने भन्ने चेतनामूलक जानकारी सडकमा राख्ने गरिएको पाइँदैन। त्यसैले सवारीचालकहरू ठाउँठाउँमा सचेतनामूलक जानकारी राख्नुपर्ने माग गर्छन्।

‘सवारीसाधन चलाउनुभन्दा अगाडि कति स्पिड कुदाउने? ट्राफिक चिह्न, सडक, सवारीसाधनबारे जानकारी हुनुपर्छ,’ यस विषयमा प्रवक्ता भट्ट भन्छन्, ‘शहरी क्षेत्रमा त्यस्तो चेतना राख्नु पर्छ जस्तो लाग्दैन। भक्तपुर, सूर्यविनायकलगायत रोडमा चेतनाका लागि बोर्ड राखिएको छ।’

यो अभियानले दुर्घटना घटेको दाबी

सवारीको गति नाप्ने अभियानले दुर्घटना घटेको ट्राफिक प्रहरीको दाबी छ। ‘स्पिड कम भयो भने दुर्घटना हुने सम्भावना पनि न्यून हुन्छ, दुर्घटना भए पनि थोरै क्षति हुन्छ, तर सवारीको गति तीव्र भए घाइते र मृत्यु नै पनि हुने गर्छ, दुर्घटना बढ्छ,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्टले भने।

राति तीव्र गतिका कारणले हुने सवारी दुर्घटना न्यूनीकरण गर्न ‘नाइटभिजन लेजर स्पिड गन’ सहितको चेकिङ पनि ट्राफिकले शुरू गरिसकेको छ। उनले अधिकांश मोटरसाइकल चालकले अटेर गरेर ज्यानको समेत परवाह नगरी मोटरसाइकल हाँक्ने गरेको बताए। 

‘डब्लुएचओको तथ्यांकमा प्रतिघण्टा ५० किलोमिटरको गतिमा सवारी चलाउँदा हुने दुर्घटनामा २० प्रतिशत मान्छे मर्ने र प्रतिघण्टा ८० किलोमिटरको गतिमा चलाउँदा हुने दुर्घटनामा ६० प्रतिशत मान्छे मर्छन् भनिएको छ, त्यसैले यो अभियानलाई पछिल्लो समय तीव्र पारेका छौँ,’ उनले भने

३ वर्षमा ३८ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार स्पिड लेजर गनबाट गति नाप्ने अभियान २०७६ सालमा शुरू भएको हो। यो अभियान शुरू भएदेखि तीव्र गतिमा कुदाउने ३८ हजार ८२४ सवारीसाधन कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा ६ हजार ९३८ सवारीसाधन कारबाहीमा परेका थिए। आव ०७८/७९ मा १८ हजार ७५४ सवारीसाधन कारबाहीमा परे भने चालू आव ०७९/८० मा हालसम्म १३ हजार १३२ सवारीसाधन कारबाहीमा परेका छन्।

कारबाहीमा प्रति सवारीसाधनलाई १ हजारको दरले हुने जरिवानाबाट ३ करोड ८८ लाख २४ हजार राजश्व उठेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.