|

काठमाडौं : पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई यू–१८ एशियाली रग्बी सेभेन्स च्याम्पियन बनेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएईलाई २१–१७ स्कोरले पराजित गर्‍यो। त्यसअघि आइतबार नै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए।

एशिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेस्रो भयो। मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो।

पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेले थाइल्याण्डलाई १९–० ले पन्छाउँदै पहिलो भयो। ताइपेले नेपाललाई ३४–७ तथा थाइल्याण्डले बंगलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन्।

८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौं स्थानमा रह्यो। सातौं स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९–० को सहज जित पायो।

महिलाको उपाधि भिडन्तमा युएईले भारतको चुनौती २६–५ ले समाप्त पार्‍यो। मलेसियाले थाइल्याण्डलाई १९–७ ले हराउँदै तेस्रो भयो। महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एशिया रग्बीका अध्यक्ष काइस अल धलाई, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले पुरस्कृत गरे। नेपालमा पहिलोपटक रग्बीको अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.