सडक जलमग्न हुँदा खानेपानीको समस्या झेल्दै उपभोक्ता

|

काठमाडौं : राजधानीको लैनचौर क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सोमबार सडक जलमग्न भयो।

सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुट्दा सडक भत्कियो भने पोखरी बनेपछि सवारीचालक र सर्वसाधारणहरू धेरै सकस भोग्न बाध्य भए। पानीकै कारण मोटरसाइकल पल्टिएको थियो। सर्वसाधारण भने जलमग्न पानीमा जोखिम मोल्दै आफ्नो गन्तव्यमा लागेका थिए। 

त्यहाँमात्र होइन मेलम्ची खानेपानी पुनः वितरण गरेसँगै यतिखेर काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पानी चुहिएर सडक जलमग्न बनेको छ। कालोपुलमा खानेपानीको पाइपबाट पानी चुहिँदा सवारीसाधन आवागमनमा समस्या भएको छ तर सम्बन्धित निकायले अझै मर्मत गरेका छैनन्।

खानेपानीमन्त्री उमाकान्त चौधरीले गत शुक्रबार चुच्चेपाटीस्थित महांकाल चौरमा पुनः पानी वितरणका लागि उद्‍घाटन गरेसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले  उपत्यकामा पानी वितरण गरेको हो।

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले पुरानै पाइपलाइनबाट पानी वितरण गरिएको र नयाँ पाइप विस्तार गरिएकोमा परीक्षण भइरहेकाले यो समस्या आएको बताए।

उनले भने, ‘नयाँ पाइप विस्तार भएकोमा यसअघि पानी नभएर टेष्ट भएन, अहिले टेष्ट भइरहेको छ। त्यसैले यो समस्या आएको हो, कतिपय ठाउँमा पाइप जोडेका ठाउँमा, पानीको प्रेसरले पनि चुहिएको छ।’ अरू सेवा प्रदायक कम्पनीले पाइपमा क्षति पुर्‍याएकाले पनि पानी सडकमा चुहिने गरेको उनको भनाइ छ।

‘सडकमुनि हाम्रो खानेपानी पाइप छ, यहीँभित्र टेलिफोनको र बिजुलीको पाइप पनि छ। उनीहरूले काम गर्दा हाम्रो पाइपमा क्षति गरेकाले पनि पानी चुहिएको हो,’ उनले दोष नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनीमाथि थोपर्दे भने।

अहिले काठमाडौं उपत्यकामा १० वटा पानी ट्यांकीबाट पानी वितरण भइरहेको छ। 

६ महिनापछि धारामा झर्नुपर्ने पानी सडकमा, समस्या झेल्दै उपभोक्ता

मेलम्ची खानेपानी आयोजना शुरू भएको २ दशकपछि काठमाडौं उपत्यकाभित्र पहिलो पटक विसं २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो। पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भयो। त्यसवेला पनि पानी चुहिने समस्या धेरै ठाउँमा देखिएकाे थियाे।

०७८ सालको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। क्षति भएको ९ महिनापछि अर्थात् गत वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो।

तर शहरवासीले एक महिना पनि पानी पिउन पाएनन्। पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै सरकारले गत जेठ १७ गतेबाट उपत्यकामा मेलम्चीको पानी ल्याउन बन्द गर्‍याे। तर बर्खा सकिए पनि सरकारले पानी ल्याउन सकेन। बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी सरकारले काठमाडौं ल्याएको हो।

बर्खामा मुहानमै बन्द गर्ने र काठमाडौं उपत्यकामा झरेपछि पाइप टालटुल पार्ने गर्छ केयुकेएल। यता, शहरवासी भने पानीको हाहाकार खेप्दै आएका छन्। मेलम्चीको पानी उपत्यकामा झरे पनि सबै क्षेत्रमा पानी अझै पुगेको छैन।

कतिपय केयुकेएलका शाखाले पूर्ण क्षमतामा पानी आइसकेपछि मात्र वितरण तालिका सार्वजनिक गर्ने जानकारी दिएका छन्। केयुकेएलका अनुसार उसका २ लाख ३० हजार ग्राहक छन्। उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ तर मेलम्ची खानेपानी आए पनि मागअनुसार आपूर्ति गर्न सकेको छैन।

केयुकेएलका प्रवक्ता राईले मंगलबार (आज) देखि दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने जानकारी दिए। ‘शुरूमा दैनिक अढाइ तीन करोड लिटर पानी ल्याइएको थियो,’ उनले भने, ‘आजदेखि १७ करोड ल्याउने योजना छ।’ 

केयुकेएल भन्छ : मर्मत गर्दै छौँ

केयुकेएलका प्रवक्ता राईले काठमाडौं उपत्यकाभित्र पानी चुहिएको ठाउँमा मर्मत भइरहेको दाबी गरे। ‘मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले कसरी पानी लिकेज भएको छ भनी अध्ययन गरिरहेको छ, मर्मत गर्ने काम पनि हुँदै छ,’ उनले भने।

मर्मतमा भने केयुकेएलमा कुनै समस्या नभएको उनले बताए। ‘चालू आवको बजेट पारित भइसक्यो, मर्मतसम्बन्धी कुनै काममा समस्या छैन र हुँदैन पनि,’ उनले भने।

मेलम्ची खानेपानी आयोजनाका उपनिर्देशक उज्वल प्रजापतिले पनि अहिले जहाँ पानीका भुल्का देखिएका छन् त्यहाँ मर्मत भइरहेको जानकारी दिए। ‘लिकेज भएको पानीको मर्मत केयुकेएल र पिआइडीले गरिरहेका छन्,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.