|

काठमाडौँ : सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने भन्दै आजभन्दा चार वर्षअगाडि गरेको प्रवासी श्रमिक कार्ड वितरण गर्ने घोषणा गर्‍यो। अस्तव्यस्त रहेको वैदेशिक रोजगार क्षेत्रमा सुधार हुने अपेक्षा सहित सरकारको उक्त योजनाले राम्रै चर्चा पायो।

सरकारले घोषणा गरेको उक्त योजना यतिवेला श्रम मन्त्रालयमा थन्किएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोही वर्षदेखि लागू गर्ने गरी २०७५ सालमा योजना सार्वजनिक गरेको थियो। श्रमिक कार्ड वितरण गर्नका लागि मन्त्रालयका तत्कालीन सचिव महेश दाहालको संयोजकत्वमा कार्यदल समेत गठन गर्‍यो।

उक्त कार्यदलले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई प्रवासी श्रमिक कार्ड वितरण गरी सुरक्षित र व्यवस्थित बनाउन निर्देशन दिएको थियो। त्यति वेला कार्यदलले दिएको निर्देशन हालसम्म अलपत्र परेको छ।

वैदेशिक रोजगारसम्बन्धी सूचना प्रणालीबाट उपलब्ध गराउन प्रवासी कार्डको व्यवस्था गर्दा कामदारको पहिचान खुल्ने श्रम मन्त्रालयको भनाइ छ। मन्त्रालयमा मन्त्री फेरिएसँगै योजना फेरिएको मन्त्रालयका एक कर्मचारी बताउँछन्।

त्यसैले उक्त योजना श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्राथमिकतामा पर्न सकेन। यति वेला मन्त्रालयले वैदेशिक रोजगारीलाई सुधार गर्ने भन्दै विभिन्न योजना ल्याए पनि श्रम कार्डलाई कतै समेटिएको छैन।

यता विदेश जाने कामदारले परिचयपत्रका रूपमा प्रवासी श्रमिक कार्ड प्रयोगमा ल्याउँदा विदेशिने कामदार र सम्बन्धित विभागलाई समेत फाइदा हुने श्रम मन्त्रालयका सह प्रवक्ता बताउँछन्।

किन आवश्यक छ श्रमिक कार्ड ?
श्रमिक कार्ड वैदेशिक रोजगारमा जाने कामदारलाई प्रदान गरिने एक प्रकारको परिचयपत्र हो। यो कार्ड कामको खोजीमा विदेशिने कामदारले रोजगारदाता देशमा पहिचान खुलाउने र उनीहरूको विवरण सम्बन्धित देशको कूटनीतिक नियोगमा राख्न सजिलो हुन्छ। प्रवासी श्रमिक कार्डमार्फत वैदेशिक रोजगारीमा जाँदा कामदारले तिर्ने शुल्कको प्रमाण राख्न सकिन्छ।

प्रवासी श्रमिक कार्ड विदेशी कामदारका हकमा लागू हुने गरेको छ। कतिपय रोजगारदाताले लाइसेन्स जस्तै यो कार्ड पनि खोज्दै आएका छन्। खाडीका देश, मलेसिया, कोरिया र इजरायल जस्ता देशले प्रवासी श्रमिक कार्ड माग गर्दै आएका छन्।

नेपालले प्रवासी श्रमिक कार्डको व्यवस्था गर्न नसक्दा ती देशका रोजगारदाता कम्पनी आफ्नै कार्ड नेपाली कामदारलाई दिँदै आएको श्रम, रोजगार विज्ञ गणेश गुरुङ बताउँछन्। सरकारले श्रम कार्ड वितरण गर्न नहुने उनको तर्क छ।

सो कार्डले नेपाली कामदार विदेशमा अलपत्र पर्दा अर्थात् समस्यामा परेको खण्डमा सहज रूपमा पहिचान खुल्ने बताइएको थियो।

त्यसैगरी कुन देशमा कति कामदार कार्यरत छन् भन्ने जानकारी लिन सकिने सचिव अर्यालको भनाइ छ। अहिले रोजगारीको खोजीमा व्यक्तिगत रूपमा १८९ वटा देशमा नेपाली जाने गरेका छन्। प्रवासी श्रमिक कार्ड  लागू भए उनीहरूको विवरण राख्न सजिलो हुने विज्ञको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.