|

काठमाडौं : सन् १९२८ को ओलम्पिक फुटबलको फाइनलमा अर्जेन्टिनालाई हराउँदै उरुग्वेले लगातार दोस्रो पटक स्वर्ण पदक जित्यो। सन् १९३० मा आयोजना भएको पहिलो फुटबल विश्वकपमा पनि अर्जेन्टिनाको विश्व विजेता बन्ने सपनामा उरुग्वे नै अवरोध बन्यो। त्यसपछिका १० विश्वकपसम्म अर्जेन्टिना क्वार्टरफाइनलभन्दा माथि उक्लिन सकेन। 

शुरुदेखि नै अर्जेन्टिना र फुटबल एक अर्काका पर्यायवाची जस्तै रहेका भए पनि सन् १९७८ पछि त झन् अर्जेन्टिनाको अघोषित ‘राष्ट्रिय धर्म’ जस्तै बन्यो फुटबल। जब डेनियल पासारेला नेतृत्वको अर्जेन्टिनी टोलीले फाइनलमा नेदरल्याण्ड्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै पहिलो पटक विश्वकप उपाधि उचाल्यो।

त्यस वर्ष अर्जेन्टिना विश्व विजेता मात्र बनेन‚ गोल्डेन बल र गोल्डेन बुट अर्जेन्टिनाकै मारियो केम्पेसले पाए साथै फेयर प्ले अवार्ड पनि अर्जेन्टिनाले नै जित्यो। सोही वर्षबाट विश्व फुटबलमा बलियो टोलीको रुपमा अर्जेन्टिनाले पुनरागमन गर्‍यो।

विश्व फुटबलकै स्टार खेलाडीका रुपमा उदाएका डिएगो म्याराडाेनाका कारण सन् १९८६ को विश्वकपबाट अर्जेन्टिनीहरूले बढी नै अपेक्षा गरिरहेका थिए। उनीहरूको अपेक्षाअनुरुप नै उक्त वर्ष उपाधि अर्जेन्टिनाले जित्दै दोस्रो पटक विश्व विजेता बन्यो।

म्याराडाेना चर्चाको शिखरमै रहेका वेला सन् १९८७ जुन १४ मा लियोनल मेसीको जन्म भयो। सानै उमेरदेखि फुटबल भनेपछि हुरुक्माक हुने मेसी म्याराडाेनाको खेल हेर्दै उनकै कथा र किस्सा सुन्दै हुर्किए। 

आफू नजन्मिँदै म्याराडाेनाले अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप जिताएको कथा सुन्दै आएका बालक मेसीको आफ्नो देशले फेरि विश्वकप जितेको हेर्ने मात्र होइन विश्वकपमा म्याराडाेनाको जादुई खेल हेर्ने सपना पनि थियो।

तर म्याराडाेनाका मैदान बाहिरका गतिविधिका कारण उनलाई मैदान प्रवेशमा रोक लगाइयो। सन् १९९१ मा अर्जेन्टिनाले विश्वकपपछिको ठूलो प्रतियोगिता कोपा अमेरिकाको उपाधी जित्दा मेसी भर्खर ४ वर्षका मात्र थिए। 

उनी ६ वर्षको हुँदा सन् १९९३ मा अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि उचाल्यो। आफ्नो देशले ठूलो उपाधि जितेको हेर्ने मेसीको सपना त पूरा भयो तर म्याराडाेनाको खेल हेर्ने सपना भने पूरा हुन सकेन।

पहिलो पटक मेसीले सम्झने गरी हेरेको विश्वकप भने सन् १९९४ को विश्वकप थियो‚ जसमा उनका प्रिय खेलाडी म्याराडाेना थिएनन् र अर्जेन्टिना पनि प्रि-क्वार्टर फाइनल खेलेर प्रतियोगिताबाट बाहिरिएको थियो। विवादै विवादमा जेलिएका म्याराडाेनाले पनि त्यही वर्ष नै अन्तरराष्ट्रिय फुटबलबाट संन्यास लिए।

‘म्याराडोना युग’पछि ‘मेसी युग’

सन् २००५ देखि अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्दै आएका मेसी यतिवेला कतारमा आफ्नो अन्तिम विश्वकप खेलिरहेका छन्।

यसबीचमा उनी अर्जेन्टिनाबाट सबैभन्दा बढी खेल खेल्ने र सबैभन्दा बढी गोल गर्ने खेलाडी मात्र बनेका छैनन् विश्व फुटबल इतिहासकै सबैभन्दा महानतम खेलाडीको सूचीमा आफ्नो नाम दर्तासमेत गराएका छन्।

जारी विश्वकपमा पनि उनी ५ गोलसहित गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन् र आफ्नो टोलीलाई दोस्रो पटक फाइनलसम्म पुर्‍याउन सफल पनि भएका छन्। 

यहीबीचमा उनका प्रेरणाका स्रोत म्याराडाेनासँग पनि उनको घनिष्ट सम्बन्ध रह्यो। कुनै समय म्याराडाेनाले अर्जेन्टिनालाई विश्वकप जिताएको सपना देख्ने गर्थे मेसी जुन सपनाले सार्थकता भने पाएन।

अर्जेन्टिनी फुटबलमा मेसीको जादु छाउन थालेपछि भने अर्जेन्टिनाका लागि मेसीले विश्वकप जिताएको सपना देख्न थालेका थिए म्याराडाेनाले‚ जुन उनको जीवनकालमा सम्भव हुन सकेन।

मेसीले अहिलेसम्म सन् २००६, सन् २०१०, सन् २०१४ र सन् २०१८ गरी चारवटा विश्वकप खेलेका छन् भने पाँचौँ विश्वकपमा आफ्नो टोलीलाई फाइनलसम्म पुर्‍याएका छन्। यसअघि सन् २०१४ को विश्वकपमा जर्मनीसँग पराजित हुँदै अर्जेन्टिनाले उपविजेतामा चित्त बुझाएको थियो।

विश्वकपबाहेक सन् २०१९ सम्म मेसीले खेलेका ५ वटा कोपा अमेरिकामा ३ पटक उपविजेता र एक पटक तेस्रो भएको अर्जेन्टिनाले उपाधि भने जितेन। आफ्नो व्यक्तिगत नाम महानतम् खेलाडीको सूचीमा लेखाए पनि मेसीले आफ्नो देशका लागि कुनै पनि अन्तरराष्ट्रिय उपाधि भने जिताउन सकेनन्। 

सन् २०२० नोभेम्बर २५ मा म्याराडाेनाको असामयिक निधन भयो। अर्जेन्टिनाले विश्वकप जितेको हेर्ने चाहना उनीसँगै सेलायो, मेसीको एउटा अन्तरराष्ट्रिय उपाधि म्याराडाेनालाई दिने सपना पनि पूरा हुन सकेन।

तर सन् २०२१ मा कोपा अमेरिका जिताउँदै मेसीले पहिलो पटक अर्जेन्टिनालाई अन्तरराष्ट्रिय उपाधि दिलाए। जुन उपाधि म्याराडाेनालाई समर्पित गरिएको थियो। कोपा अमेरिकाबाहेक यही वर्ष आयोजित कन्मेबोल-युएफा कपको उपाधि पनि अर्जेन्टिनाले जित्यो। 

आफ्नो करिअरको अन्तिमतिर रहेका मेसी म्याराडाेनालाई समर्पित गर्दै ३६ वर्षअघि विश्वकप जितेको देखेका र जितको कथा सुन्दै आएका अर्जेन्टिनीहरूलाई विश्वकपको उपाधि उपहार दिन चाहन्छन्।

अर्जेन्टिनी फुटबलको नयाँ अनुहार

३१ जनवरी सन् २००० मा जन्मेका जुलियन अल्वारेज पनि सानैदेखि फुटबल भनेपछि हुरुक्कै हुन्थे। जसरी मेसी म्याराडाेनाबाट प्रभावित थिए‚ अल्वारेज मेसीबाट प्रभावित थिए।

मेसीको खेल हेर्दै हुर्केका अल्वारेज उमेर समूहबाट अर्जेन्टिनाका लागि खेल्न थाले। सन् २०२१ देखि उनी राष्ट्रिय टोलीबाट नियमित रुपमा खेल्दै आएका छन्। 

कुनै समय मेसीलाई नजिकबाट देख्ने, छुने र अँगालो मार्ने सपना देखेका अल्वारेज यतिवेला मेसीसँग एउटै मैदानमा एउटै टोलीबाट खेलिरहेका छन्।

जारी प्रतियोगितामा अल्वारेजले अर्जेन्टिनाका लागि महत्वपूर्ण ४ गोल गरेका छन्। जसमध्ये २ गोल क्रोएशियासँग भएको सेमिफाइनलमा गरेका थिए र दुवै गोल मेसीको पासमा सम्भव भएको थियो। दुईजना अन्य खेलमा पनि अर्जेन्टिनाका लागि बलियो जोडीको रुपमा देखिँदै आएको छ।

जसरी अर्जेन्टिनीहरू मेसीमा म्याराडाेनाको छाया देख्थे त्यसरी नै नयाँ स्टार खेलाडीको रुपमा २२ वर्षीय अल्वारेज उदाएका छन्।

अन्तिम विश्वकप खेलिरहेका मेसी यो पटक करिअरको सबैभन्दा ठूलो कमी पूरा गर्न चाहन्छन् भने पहिलो विश्वकप खेलिरहेका अल्वारेज उपाधि जितेर लामो यात्राको थालनी गर्ने ध्याउन्नमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.