|

सर्लाही : जिल्लाको लालबन्दी–३, जब्दी र ईश्वरपुर–८, रामपुरलाई जोड्ने पुलको काम पूरा हुन लाग्दा स्थानीय बासिन्दा खुसीले दंग भएका छन्।

फूलजोर खोलाको निर्माण अन्तिम चरणमा रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दा खुसी भएका हुन्। त्यस ठाउँमा पुल नहुँदा वर्षायाममा खोला वारपार गर्न समस्या झेल्दै आएका थिए।

अहिले उक्त पुलबाटै आवतजावत गर्न मिल्ने भएपछि स्थानीय खुसी भएका हुन्। जब्दीका अर्जुन चौधरीले पुल बनेसँगै वर्षायाममा जोखिम मोलेर बाढीमा हेलिएर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको बताए।

ईश्वरपुर नगरपालिकाको रामपुर, बयलवास, रामनगर, बेला, मनहर्वा र चन्द्रनगर गाउँपालिकाका बासिन्दाले लालबन्दी बजारसम्म आउन छोटो दूरीमा पर्ने भएकाले फुलजोर खोला तरेरै आउने गरेका छन्। बाढी आएका वेला भने बयलवासबाट पूर्वपश्चिम राजमार्गस्थित फूलजोर चोकबाट लालबन्दीलगायत अन्य ठाउँमा आउजाउ गर्नुपर्ने बाध्यता थियो।

गत वर्षको असार मसान्तमै निर्माण सकेर हस्तान्तरण हुनुपर्ने थियो। दुई सय मिटर लामो पुलको ४० मिटर जतिमा बाढीले क्षति पुर्‍याएपछि ढिला भएको निर्माण कम्पनीले जनाएको छ। ठेकेदार कम्पनीले लापरवाही ढंगले काम गरेको र समयमै कामदारको भुक्तानी नगरेका कारण पुल निर्माणमा ढिलाइ भएको लालबन्दी–३, जब्दीका रामकैलास चौधरीले बताए।

पुल निर्माणका लागि पप्पु शिवशंकर जेभीले १४ करोड रुपैयाँमा ठेक्का सकारेको थियो। सङ्घीय सरकारको सहयोगमा आर्थिक वर्ष २०७५।०७६ बाटै पुल निर्माण शुरु भएको हो। 

ईश्वरपुर नगरपालिका–८ का वडाध्यक्ष श्याम थापाले दुई साताभित्र पुलको निर्माण पूरा हुने गरी काम भइरहेको जानकारी दिए। गत वर्ष असारमा पुल ढलान गरेकै राति खोलामा बाढी आएर पुलको केही भाग बगाएपछि लामो समयसम्म निर्माण रोकिएको थियो।

ठेकेदारलाई निरन्तर ताकेता गरेर पुलको काम अन्तिम चरणमा पुर्‍याइएको वडाध्यक्ष थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.