|
फाइल फोटो

सर्लाही : तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। 

दुई दिनअघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर पारिलो घाम लाग्ने गरेको थियो। तर बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिने चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ।

चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी बढी प्रभावित भएका छन्। छाप्रामा बस्ने अति विपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिन थालेका छन्।

चिसो बढेपछि विपन्न समुदायको बाहुल्यता रहेको बस्तीमा समस्या सुरु भएको स्थानीय रामवली रायले बताए। चिसो छल्न स्थानीयवासीले आगो बालेर ताप्न थालेका छन्। चोक– चौतारामा मानिसको जमघट बन्द भएको छ। कठ्याङ्ग्रिँदो चिसोले विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ भने मजदुर र किसानलाई नियमित काममा निस्किन गाह्रो परेको छ।

बढी बाक्लो मात्रामा हुस्सु लागेपछि गाउँले आगो बालेर ताप्न थालेका छन्। यस्तै पशुचौपायालाई पराल ओछ्याउने, बोरा ओढाउनेलगायत काम गर्न थालेका स्थानीय विनय महतोले बताए। 

चिसो बढिसकेकाले स्वास्थ्यको विशेष ख्याल गर्न प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख सुदीप काफ्लेले सुझाव दिए। उनले यो वेला झोलयुक्त र तातो खानेकुरा प्रशस्त खान, न्यानो कपडा लगाउन आग्रह गरे। चिसोबाट टाउको दुख्ने, कोल्ड डायरिया हुने, छातीमा संक्रमण हुने र रुघाखोकी लाग्नेजस्ता समस्या देखिने भएकाले चिसोबाट जोगिने उपाय अपनाउन चिकित्सक काफ्लेले सुझाव दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.